सुनसान भयो भृकुटीमण्डप बजार, 'ग्राहक नै आएनन्'

 असार २८, २०७७ आइतबार २०:२८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लामाे समयकाे लकडाउनपछि काठमाण्डौको भृकुटीमण्डप बजार खुले पनि ग्राहक नआउँदा सुनसान भएको छ । 

लकडाउनकाे कारण तीन महिनासम्म बन्द रहेको बजार असार १५ गतेदेखि खुलेको हो । लकडाउनकाे कारण चैत महिनायताको भाडा तिर्न नसकिएको र व्यापार नै नभएपछि दैनिकी चलाउनसमेत कठिन भएको व्यवसायीहरुले बताएका छन् । 

झण्डै १३ सय पसल रहेको यो बजार लुगा, जुत्ता/चप्पल, इलेक्ट्रोनिक सामान किनमेल गर्नकाे लागि सजिलो बजार पनि हो । सुलभ मूल्यमा सामान पाउने भनेर चिनिएकाे यो बजार लकडाउनको तीन महिना बन्द रहे पनि अहिले भने खुलेको हाे ।  

भृकुटीमण्डपमा व्यापार गर्ने साना व्यवसायीहरुको सङ्गठन काठमाण्डौ निम्न व्यापारी सङ्घका सहअध्यक्ष चिन्तामणि प्रसाईँले अझै पनि पूर्णरुपमा पसलहरु खुल्न नसकेको बताउनुभयो ।लकडाउन सुरु हुनभन्दा अघि नै चैत ७ गतेदेखि नै बजार बन्द भएकाेले कतिपय व्यापारी गृह जिल्ला पुगेकाले अझै केही पसल खुल्न नसकेको प्रसाईंले बताउनुभयो । 

उहाँले सरकारले असार १ गतेदेखि बजार खोल्न दिए पनि भिडभाड हुने बजार भएकाले १५ गतेदेखि मात्रै खोलेको उहाँले बताउनुभयो । कोरोना सङ्क्रमणको अवस्थालाई ध्यान दिइ बिहान १० बजेदेखि साँझ ६ बजेसम्मकाे लागि बजार खुला गरिए पनि ग्राहक नआएकाले सुनसान रहेको उहाँले बताउनुभयो । उहाँले ग्राहक नभए पनि दैनिकी चलाउन सजिलो हुन्छ कि भन्ने आशामा पसल खोलिएको बताउनुभयो ।

लकडाउनअघि दैनिक १५/२० हजार रुपैयाँको व्यापार हुने गरेकोमा अहिले बोनीसमेत हुन नसकेको व्यापारीहरुले बताएका छन् । पसल खोलेको झण्डै १५ दिन भइसक्दा पनि व्यापार हुन नसकेको व्यवसायी बोधराज थापाले बताउनुभयो । उहाँले जनजीवन सहज नभएसम्म ग्राहक आउने सम्भावना नरहेको बताउनुभयो ।

भृकुटीमण्डपका प्रत्येक पसलले प्रति स्क्वायरफुट महिनाको १४ रुपैयाँका दरले हरेक महिनाको १५ गतेभित्र भाडा तिर्नुपर्छ । लकडाउन खुलेपछि खुलेको बजारमा व्यापार नहुँदा भाडा तिर्नसमेत पैसा नभएकाले चैत महिनायताको भाडा तिर्न नसकेको व्यवसायीहरु बताउँछन् । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया