सोती घटना : फरार ५ जना पुर्पक्षका लागि थुनामा

 असार ३१, २०७७ बुधबार १७:४९:४६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – गएको जेठ १० गते चौरजहारी नगरपालिका ८ काे सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा फरार रहेका पाँच जना अभियुक्तलाई पुर्पक्षकाे लागि थुनुवामा राख्ने आदेश भएको छ । 

जिल्ला अदालत रुकुम पश्चिममा मङ्गलबार भएको अभियुक्तको बयान र वादी/प्रतिवादीका वकिलहरुको थुनछेक बहसपछि भएको आदेशमा चार जना अभियुक्तलाई थुनुवामा राख्ने आदेश भएको जिल्ला अदालत रुकुम पश्चिमका निमित्त श्रेष्तेदार लक्ष्मण विकले जानकारी दिनुभयो । 

'मङ्गलबार जिल्ला अदालतमा हाजिर भएका चार जना अभियुक्तलाई बयान र थुनछेक बहसपछि पुर्पक्षकाे लागि कारागार चलान गरिएको हो', उहाँले भन्नुभयाे । पुर्पक्षकाे लागि थुनामा जानेहरुमा चौरजहारी नगरपालिका ८ का तुलाराम घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र डिल्ली घर्ती रहेका छन् ।

पाँच जना फरारको सूचीमा रहेकामध्ये भीमबहादुर घर्ती असार २८ गते जिल्ला अदालत रुकुम पश्चिममा आफै हाजिर भएपछि २८ गतेको बयान र बहसपछि पुर्पक्षकाे लागि थुनुवामा राख्ने आदेश भएको थियो ।

योसँगै सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ३४ जनामध्ये ३० जनालाई पुर्पक्षकाे लागि थुनुवामा राख्ने आदेश भएको छ । जसमा दुई जना नाबालक रहेको र उनीहरुलाई बाल सुधार गृहमा राख्ने आदेश भएको थियो । 

तीन जना साधारण तारेख र एक जना एक लाख रुपैयाँ धरौटीमा छुटेको जिल्ला अदालत रुकुम पश्चिमले जानकारी दिएको छ ।

जेठ १० गते शनिबार प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गर्दा ६ जनाको ज्यान गएको थियो । जाजरकोट भेरी नगरपालिकाका ४ का नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, त्यही नगरपालिका ११ का लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका १ का टीकाराम नेपालीको ज्यान गएको थियो । ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया