एन्फाले खेलाडीको पीसीआर परीक्षणपछि मात्रै प्रशिक्षणमा सहभागी गराउने

 साउन २३, २०७७ शुक्रबार ७:१२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले खेलाडीको पीसीआर परीक्षणको नतिजाका आधारमा प्रशिक्षणमा सहभागी गराउने भएको छ । 

आउँदो भदौ १ गतेदेखि थाल्ने प्रशिक्षणका लागि ३४ खेलाडीलाई १४ दिनको क्वरेण्टीनमा राखिएको छ । प्रशिक्षणको तयारीमा जुटेको एन्फाले राष्ट्रिय फुटबल टोलीका पुरुष खेलाडीलाई गएको आइतबारदेखि क्वरेण्टीनमा राखेको हो। 

एन्फा प्रवक्ता किरण राईकाअनुसार आउँदो बुधबारसम्म ती सबै खेलाडीको पीसीआर परीक्षण गरिने छ । पीसीआर परीक्षणको नतिजाका आधारमा खेलाडीलाई भदौ १ गतेदेखि प्रशिक्षण दिइने उहाँले बताउनुभयो । प्रशिक्षण एन्फा कम्पलेक्स सातदोबाटोमा दिइने छ । 

एन्फाले खेलाडीले पोशाक फेर्ने कोठामा कम समय बिताउनुपर्ने, सबै खेलाडी प्रशिक्षक र पदाधिकारीलाई कोरोना भाइरसको विषयमा जानकारी गराउने, अभ्यासका क्रममा दर्शकलाई मैदानमा प्रवेश गर्न नदिने, खाना सामूहिक रुपमा खान नपाइने, व्यक्तिगत दूरी बनाएर खानुपर्नेलगायत मापदण्ड बनाएको छ । 

अभ्यासका क्रममा एउटा खेलाडीले एउटै बोतलले मात्र पानी पिउनुपर्ने, अभ्यास स्थललाई नियमित निर्मलीकरण गर्नुपर्ने तथा अभ्यास स्थलमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने मापदण्ड बनाएको छ । सहभागी सबै खेलाडीले एकै पटकमा अभ्यास गर्न पाउने छैनन् । 

उनीहरुलाई तीन समूह बनाएर मात्र अभ्यासमा सहभागी गराइने प्रवक्ता राईले बताउनुभयो । फिफा र विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य निर्देशिकाअनुसार नै खेलाडीलाई प्रशिक्षण दिइने उहाँको भनाइ छ । एन्फाले फिफा विश्वकप, २०२२ र एएफसी एसियन कप, २०२३ को छनोट प्रतियोगिताका लागि तयारी अगाडि बढाएको हो । 

नेपाली टोलीलाई मुख्य प्रशिक्षक योहान कालिन र सहायक प्रशिक्षक किरण श्रेष्ठले प्रशिक्षण दिनुहुनेछ । बाइस खेलाडी आफ्नो घरमा तथा १२ खेलाडीलाई एन्फाले होटेलमा क्वरेण्टीनमा राखेको छ । सुरुआतमा एन्फाले सरकारलाई कोरोना महामारीका बेला सहयोग गर्ने भन्दै आफ्नो होस्टेललाई क्वरेण्टीनका रुपमा प्रयोग गर्न ललितपुर उपमहानगरपालिकाको जिम्मा लगाएको थियो । 

अहिले सातदोबाटोमा रहेको होस्टेललाई एन्फा आफैँले लिएर खेलाडीलाई क्वरेण्टीनमा राख्न प्रयोग गरेको छ । होस्टेललाई निर्मलीकरण गरिएको प्रवक्ता राईले जानकारी दिनुभयो । सरसफाइको काम चलिरहेको छ । सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन लागू गरेको थियो । 

लकडाउन लगत्तै फुटबल प्रशिक्षण पनि रोकिएको थियो । सरकारले  लकडाउन खुला गरेसँगै एन्फाले खेलाडी प्रशिक्षणको प्रक्रिया अघि बढाएको हो । नेपालले विश्वकप छनोटअन्तर्गतको खेलका लागि प्रशिक्षण थाल्नेछ । यसअघि एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु गर्नका लागि युवा तथा खेलकूद मन्त्रालयमार्फत कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग अनुमति मागेको थियो । 

एन्फाले फिफा विश्वकप, २०२२ र एएफसी एशियन कप, २०२३ को छनोट प्रतियोगिताको तयारीका लागि अनुमति मागेको थियो । कोरोना भाइरसका कारण स्थगित भएको छनोट खेल आउँदो अक्टोबर र नोभेम्बरमा गराउने एशियाली फुटबल महासङ्घ (एएफसी) ले फिफालाई प्रस्ताव गरेको छ । 

स्थगित भएका खेलहरू आउँदो अक्टोबर ८ र १३ तारिख तथा नोभेम्बर १२ र १७ तारिखमा गराउने उल्लेख छ । दोस्रो चरणको छनोटअन्तर्गत नेपालले अब तीन खेल खेल्न बाँकी छ । ती सबै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ । नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्नेछ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया