गाउँपालिकाको बजेट आफ्नो र परिवारको खातामा राख्ने लेखापालसहित चार जना पक्राउ

 साउन २३, २०७७ शुक्रबार ९:२:३८ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका लेखापालसहित चार जना पक्राउ परेका छन् । 

गाउँपालिकाको बजेट आफ्नो, श्रीमती र भतिजाको खातामा हालेर भ्रष्टाचार गरेको आरोपमा लेखापाल हेमन्त केसी, लेखा सहायक सुवास केसी, विकास केसी र भीमसेन केसीलाई प्रहरीले पक्राउ गरेको हो । 

गएराति कागजात मिलाउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीले जानकारी दिनुभयो ।

पक्राउ परेका विकास स्थायी शिक्षक हुन् भने लेखापालका भाइ हुन् । सुवास र भीमसेन लेखापाल हेमन्तका भतिजा हुन् । गाउँपालिकाका अध्यक्षको संयोजकत्वमा कार्यदल बनाएर आइतबारदेखि छानबिन सुरु गरिएको थियो ।

गाउँपालिकाको वडा ५ की सदस्यसमेत रहेकी श्रीमतीको खातामा राहत तथा सहयोग र घरभाडा शीर्षकमा ८ लाख ८६ हजार रकम जम्मा गरेको भेटिएको छ ।

त्यसैगरी लेखापाल केसीले भतिज सुवास केसीको खातामा ७ लाख ९१ हजार जम्मा गरेका छन् । लेखापाल केसीले यो रकम सुवासको तलब र भत्ताको भएको बताएको छानबिन कार्यदलले जनाएको छ । लेखापाल केसीले आफ्नो नाममा समेत ८ लाख रुपैयाँ निकासा गरेका छन् । 

छानबिन हुँदै गर्दा त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी, उनकी श्रीमती बिर्मा र भतिजा सुवासको खातामा जम्मा भएको सरकारी रकम भने फिर्ता गरेका छन् । तीन दिनमा ४ पटक गरी गाउँपालिकाको खातामा २४ लाख ९२ हजार ३ सय ७२ रुपैयाँ फिर्ता भएको छ ।

साउन १६ गते ७ लाख ८२ हजार ५ सय ९५, साउन १९ गते ६ लाख र त्यसै दिन ८ लाख ५९ हजार ७ सय ७७ तथा साउन २१ गते २ लाख ५० हजार रुपैयाँ गाउँपालिकाको खातामा जम्मा भएको हो । यी ३ जनाको खाताबाट रकम गाउँपालिकाको खातामा जम्मा भएको गाउँपालिकाले जनाएको छ । आर्थिक वर्ष ०७६/०७७ मा विभिन्न शीर्षकको झण्डै २५ लाख रकम लेखापाल केसीले आफू, श्रीमती र भतिजाको खातामा जम्मा गराएको विषयमा जिल्ला प्रशासन कार्यालयले समेत छानबिन थालेको छ । 
 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया