‘अहिले पैसा र बेड बचाउन खाेज्दा भाेलि हजाराैँ बेड थपिने अवस्था आउन सक्छ’

'अनुसन्धान नै नगरि १४ दिनमा भाइरस जिउबाट गएको भन्न मिल्दैन'

 भदौ ११, २०७७ बिहिबार १८:२८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जनस्वास्थ्य विज्ञले लक्षण नभएका र सामान्य लक्षण भएका कोरोना सङ्क्रमितलाई डिस्चार्ज गर्ने सरकारी निर्णय गलत भएको बताएका छन् । 

परीक्षणलाई नजरअन्दाज गर्दा सङ्क्रमितले अरुलाई सार्ने सम्भावना बढी हुने भएकाले सरकारको निर्णय पूर्णरुपमा गलत भएको जनस्वास्थ्य विज्ञको भनाइ छ । सङ्क्रमितको १० दिनपछि परीक्षण गर्नु ठिकै भए पनि सामान्य लक्षण भएका र लक्षण नभएका बिरामीलाई १४ दिनपछि परीक्षण विना घर पठाउनु नेपालको परिवेशमा सही नभएको जनस्वास्थ्य विज्ञ डाक्टर समीरमणि दीक्षितको भनाइ छ । 

पहिलो पटक कोरोना देखिएको चीनमा समेत ३० दिनसम्म पनि भाइरस निष्क्रिय नभएको परिवेशमा नेपालमा १४ दिनमा विना परीक्षण छोड्ने निर्णय पूर्णरुपमा लगत भएको उहाँले बताउनुभयो । 

यता सरकारले भने विश्व स्वास्थ्य सङ्गठनले १० दिनपछि कुनै पनि सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण हुँदैन भन्ने तथ्य पेस गरेर निर्देशिका बनाएपछि त्यही अनुसार निर्णय गरिएको बताएको छ । 

मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले डब्ल्यूएचओको निर्देशिकालाई आधार बनाएर मन्त्रालयले आफ्नो निर्देशिका परिमार्जन गरेको बताउनुभयो । लक्षण नभएका व्यक्तिको हकमा १४ दिनपछि परीक्षण नगरि घर पठाउँदा कुनै समस्या नहुने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘लक्षण नभएको व्यक्तिको हकमा १४ दिनपछि परीक्षण नगरि घर पठाउँदा कुनै समस्या हुँदैन । अरु व्यक्तिलाई सङ्क्रमण हुने सम्भावना हुँदैन । तथ्यले १० दिनपछि सङ्क्रमण हुँदैन भन्छ तर हामीले चार दिन थपेको अवस्था हो । लक्षण छैन भने लक्षण हराएको तीन दिनपछि सङ्क्रमण फैलिने सम्भावना हुँदैन । परीक्षण भनेको सङ्क्रमणको चक्रलाई रोक्न हो ।’’

जनस्वास्थ्य विज्ञ दीक्षित भने उहाँको भनाइमा असहमति जनाउनु हुन्छ । तराईका जिल्लामा क्वरेण्टीनबाट परीक्षण नगरि घर पठाउँदा अहिलेको अवस्था आएको उल्लेख गर्दै उहाँले १४ दिनपछि पोजेटिभ हुँदैन भन्ने सोचले उपत्यका तराईको जस्तो अवस्था देशभरि हुने चेतावनी दिनुभयो । 

नेपालको परिवेशमा कुनै अनुसन्धान नै नगरि १४ दिनमा भाइरस शरीरमा रहँदैन भन्न नमिल्ने उहाँले बताउनुभयो । सरकारले पैसा र बेड बचाउनका लागि गरेको निर्णयले भोलि हजारौँ बेड थपिने अवस्था आउन सक्ने चेतावनी उहाँले दिनुभयो । 

उहाँले भन्नुभयो, ‘१४ दिनपछि पोजेटिभ हुँदैन भन्ने सोच्न थाल्यौँ भने काठमाण्डौ र तराईका जिल्लाको जस्तै अवस्था देशभरि हुन्छ । अनुसन्धान नै नगरि १४ दिनमा भाइरस जिउबाट गएको भन्न मिल्दैन । बेड बचाउन र पैसा बचाउन गर्न खोज्या होला तर एउटा बेड बचाउन गरिएको निर्णयले भोलि हजारौँ बेड थपिने अवस्था आउन सक्छ ।’’  

१४ दिनपछि डिस्चार्ज नगरिए सरकारले सोध भर्ना नबेहोर्ने चेतावनीसहित मन्त्रालयले कोभिड अस्पताल र प्रदेश सामाजिक विकास मन्त्रालयलाई पत्राचार गरेको हो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया