कोरोना सङ्क्रमणपछिको मृत्युदरमा अमेरिका, ब्राजिलभन्दा पेरु अगाडि

 भदौ १४, २०७७ आइतबार १४:२४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

पेरुमा सरकारी सहयाेगका लागि लामबद्ध नागरिक

काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमण अमेरिका, ब्राजिल र भारतमा धेरै भए पनि सङ्क्रमणका कारण हुने मृत्युदरमा पेरु अग्रस्थानमा छ ।   

पेरुमा प्रति १० लाख जनसङ्ख्यामा आठ सय ६६ जनाको ज्यान जाने गरेको वर्ल्डाेमिटरले जनाएको छ । यस्तै जोन हप्किन्स विश्वविद्यालयले पनि दक्षिण अमेरिकी देश पेरुमा कोरोनाको सङ्क्रमणको मृत्युदर सबैभन्दा धेरै रहेको जनाएको छ ।   

अमेरिकामा मृत्युदर प्रति १० लाखमा पाँच सय ६४ जना छ भने ब्राजिलमा प्रति १० लाखमा पाँच सय ६६ जना छ । 

स्वास्थ्य क्षेत्रमा सुधार गर्न नसक्दा पेरुमा मृत्युदर बढेको विज्ञले बताएका छन् । स्वास्थ्यकर्मीको तलब, अस्पताल र सघन उपचार कक्ष (आईसीयू) मा शय्या कम हुँदा मृत्युदर बढेको बीबीसी हिन्दीले लेखेको छ ।   

कोरोना सङ्क्रमणको पहिलो चरणमा त्यहाँका अस्पतालमा तीन हजार शय्या र आईसीयूमा एक सय शय्याको मात्र व्यवस्था थियो । राष्ट्रपति मार्टिन भिजकाराले अहिले अस्पतालमा शय्या बढाएर १८ हजार पुर्‍याइएकाे आईसीयूमा एक हजार ६ सय ६० शैय्या पुर्‍याइएकाे दाबी गर्नुभएको छ । 

यस्तै कोरोना भाइरसबाट जोगिन स्वास्थ्य सुरक्षामा आवश्यक सावधानी नअपनाउँदा पेरुमा मृत्युदर बढेको पाइएको छ । 

लकडाउन गरे पनि सुरक्षा मापदण्ड पालना नगर्दा सङ्क्रमण फैलिएको छ । लकडाउनको पालना भएन । लकडाउनका बेला पनि सभा पार्टीलगायतका कार्यक्रम आयोजना भयो । 

यस्तै अक्सिजनको कमीका कारण  पनि धेरै सङ्क्रमितले ज्यान गुमाएका छन् । अक्सिजनका लागि नागरिक लामो लाइनमा बस्न बाध्य भएका र अक्सिजनको मागसँगै मूल्य  पनि बढेको खबरमा उल्लेख छ । 
तीन करोड ३० लाखभन्दा धेरै जनसङ्ख्या रहेको पेरुमा अहिले ६ लाख ३९ हजारभन्दा धेरै सङ्क्रमित छन् भने अहिलेसम्म २८ हजार ६ सय सात जनाको ज्यान गएको छ ।  

चार लाख ४६ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् । अहिलेसम्म ३१ लाख ५६ हजारभन्दा धेरैको परीक्षण गरिएको छ । 

मृत्युदर बढेपछि पेरु सरकारले अब स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न/गराउन कडाइ गर्ने भएको छ । 

यसअघि कोरोना भाइरसको सङ्क्रमण देखिन थालेपछि पेरुले कडा प्रतिबन्धसमेत लगाएको थियो । लकडाउनका कारण राहत प्याकेज दिनेमा पेरु नै पहिलो देश थियो ।  

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया