निजी प्रयोगशालाको पीसीआर रिपोर्टबारे बीमा समितिले अध्ययन गर्ने

 भदौ २१, २०७७ आइतबार १७:७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बीमा समितिले निजी प्रयोगशालामा गरिएको कोरोनाको पीसीआर रिपोर्टका आधारमा कोरोना बीमामा परेका दाबीमाथि छानबिन गर्ने भएको छ । निजी प्रयोगशालाको निर्णयलाई मान्यता नदिने समितिको निर्देशनको चर्को विरोध भएपछि समितिले आइतबार विज्ञप्ति निकालेर छानबिन गर्ने जनाएको हो । 

विभिन्न चार वटा निर्णय गर्दैै समितिले सरकारी निकायबाट गरिएका पीसीआर रिपोर्टका आधारमा परेका दाबीलाई सात दिनभित्र भुक्तानी गर्न भनेको छ । त्यस्तै निजी प्रयोगशालाबाट परीक्षण गरिएका रिपोर्टका आधारमा परेका सबै दाबी बीमा समिति अन्तर्गत रहेको अनुदान व्यस्थापन समितिले छानबिन गर्ने भनिएको छ । 

समितिको सुझावको आधारमा दाबी भुक्तानीसम्बन्धी निर्णय हुने भएको छ । त्यस्तै निजी प्रयोगशालामा गरिएको रिपोर्टका आधारमा पनि बिमितले दाबी भुक्तानी पाउने व्यवस्थाका लागि सुझाव दिन एक अध्ययन समिति गठन गर्ने विज्ञप्तिमा उल्लेख छ । साथै बीमा समितिका कार्यकारी निर्देशक संयोजक रहने समितिमा स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि रहने र समितिले छिटो भन्दा छिटो प्रतिवेदन बुझाउने भनिएको छ । 

समितिको सुझावको आधारमा ‘कोरोना बीमा मापदण्ड २०७७’ संशोधन प्रक्रिया सञ्चालन गर्ने निर्णय भएको हो । कोरोना बीमा मापदण्ड २०७७ संशोधन नहुञ्जेलसम्मका लागि कोरोना बीमालेख खरिद गरेका बिमितलाई सरकारी अस्पतालमा मात्र पीसीआर परीक्षण गर्न अनुरोध गर्ने र स्वास्थ्य मन्त्रालयलाई पनि पीसीआर परीक्षणमा सहजता प्रदान गर्न अनुरोध गर्ने निर्णय गरेको बीमा समितिले जनाएको छ । 

कोरोना बीमालेख जारी गर्ने समयमा कोरोना सङ्क्रमणको उपचार खर्च सरकारले बेहोर्ने र कोरोना परीक्षण पनि सरकारले नै गर्ने व्यवस्था रहेकाले बीमालेख स्वीकृत गर्दा स्वास्थ्य मन्त्रालय अन्र्तगतका निकायहरुबाट पीसीआर जाँच हुन्छ भन्ने मान्यतामा स्वीकृत गरेको विज्ञप्तिमा भनिएको छ ।

 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Raj Bahadur

    Sept. 6, 2020, 5:51 p.m.

    नेपाल मा रहेका विमा कम्पनी सबै चोर हुन म विदेश जादा गरेको citizen life insurance कम्पनी ले सुको दियेन मेरो मुटु ले काम न गर्दा म विदेश बाट छ महिना का फर्केर नेपाल आए र गंगालाल मुटु होस्पीटल मा एक महिना बसेर चार पाच लाख खर्च भयो तर त्यो विमा कम्पनी मा पटक पटक सुचना गर्दा पनि सुको दियेन थुकक

  •  0 Reply

तपाईको प्रतिक्रिया