चन्दननाथ मन्दिरबाट चाेरी भएकाे दाहिने शङ्ख भेटियाे

 असोज २१, २०७७ बुधबार १९:३:४६ | नेत्र शाही
unn.prixa.net

चन्दननाथको मन्दिरबाट हराएको दाहिने शङ्ख, तस्बिर : नेत्र शाही, जुम्ला ।

जुम्ला – जुम्लामा रहेको चन्दननाथ मन्दिरमा चोरी भएका मूर्तिमध्ये दाहिने शङ्ख भेटिएको छ । चन्दननाथ नगरपालिका १० बोहोरा गाउँको खोलापानेमा एक ओडारमुनि दाहिने शङ्ख भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) तथा सूचना अधिकारी देवराज भट्टराईका अनुसार अनुसन्धान गर्दै जाँदा पक्राउ परेका एक जना व्यक्तिको सहयोगमा शङ्ख लुकाएको ठाउँ पत्ता लगाएकाे हाे । रातो प्लास्टिकभित्र सेतो प्लास्टिक र सेतो प्लास्टिकभित्र फाइबरकाे झोलामा बेरेर राखेको अवस्थामा दाहिने शङ्ख भेटिएकाे इन्स्पेक्टर भट्टराईले बताउनुभयाे ।

यसअघि  चन्दननाथ नगरपालिका १० का स्थानीय सुशील विष्टको खेतको आलीको सुकेको घाँसको थुप्रोमा दोसल्लामा बेरिएको अवस्थामा अन्य दुई मूर्ति भेटिएकाे थियाे । प्रहरीले त्याे घटनामा विष्टसहित तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये एक जनाको सहयोग तथा बयानअनुसार दाहिने शङ्ख भेटिएको भट्टराईले जानकारी दिनुभयो ।

यसअघि २०७३ साल मङ्सिर ११ गते पनि मूर्ति चोरी भएको  थियो । केही मूर्ति त्यही समयमा पत्ता लागेका थिए । सबैभन्दा ठूलो १८ केजीको चाँदीको मूर्ति गएकाे माघ ६ गते चन्दननाथ नगरपालिका १ दानसाँघुको खेतको आलीमा भेटिएको थियो । 

मूर्ति चोरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया