अलैँचीलाई स्थानीयस्तरमै प्रशाेधन गर्ने वातावरण बनाउन केन्द्र सरकारले पहल गर्छ : मन्त्री भट्टराई

 कात्तिक २५, २०७७ मंगलबार २०:२४:५३ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – गृहजिल्ला ताप्लेजुङको ग्रामीण क्षेत्रको भ्रमणमा रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जिल्लामा उत्पादन हुने अलैँचीलाई स्थानीयस्तरमै प्रशोधन गर्ने वातावरण बनाउन केन्द्र सरकारले पहल गर्ने बताउनुभयो । 

नेपालका अरु जिल्लामा भन्दा ताप्लेजुङमा बढी अलैँची उत्पादन हुने भएकाले स्थानीयस्तरमा नै प्रशोधन केन्द्रको स्थापना गर्न सके जिल्लाका बासिन्दालाई फाइदा पुग्न सक्ने उहाँले बताउनुभयो । 

मन्त्री भट्टराईले अलैँचीका प्रशोधित सामग्रीले राम्रो बजार पाउने र रोजगारीको समेत सिर्जना हुने भएकाले यसतर्फ सरकारले ध्यान दिने स्पष्ट पार्नुभयो । ओलाङचुङगोलाबाहेक ताप्लेजुङका सबै क्षेत्रमा नगदेबालीको रुपमा अलैँची खेती गरिँदै आएको छ । किसानहरू अलैँचीमै आत्मनिर्भर रहेकाले पनि यहाँ प्रशोधन केन्द्र खोलिनुपर्ने मन्त्री भट्टराईले बताउनुभयो । यसो गरेमा किसानले अलैँचीको राम्रो मूल्य पाउने छन् । 

मन्त्री भट्टराईले ग्रामीण क्षेत्रमा सहज यातायातका लागि जिल्लाका सबै पालिकासम्म पुगेका सडकलाई आउँदो दुई वर्षमा कालोपत्रे गर्नेसमेत बताउनुभयो । 

मन्त्री भट्टराईले हिमाल आरोहणमा बढी चासो राख्ने क्षेत्रमा पर्यटन पढाइ सुरु गर्नेसमेत बताउनुभयो । नारायणी माध्यमिक विद्यालयमा पर्यटन तथा पर्वतारोहण विषय अध्यापनको मङ्गलबार शुभारम्भ गर्दै मन्त्री भट्टराईले हिमाल आरोहणमा चासो राख्ने देशका विभिन्न क्षेत्रमा पर्यटन पढाइ सुरु गर्ने बताउनुभएको हो । 

मन्त्री भट्टराईले विश्व पर्यटनको केन्द्रमध्ये नेपाल पनि एक भएकोले यहाँको पर्यटन प्रवर्द्धन​सँगै विकास गर्नका लागि पर्यटन शिक्षा आजको आवश्यकता भएको बताउनुभयो । 

नेपालमा विश्वको १४ वटा हिमालमध्ये आठ हजारमाथिका आठ वटा नेपालमा रहेको बताउँदै हिमाल आरोहण गर्न बर्सेनि हजारौँ मानिस हिमाल चढ्न विदेशबाट आउने र स्वदेशी पनि हिमाल चढ्ने हुँदा आवश्यक पर्ने शैक्षिक दक्ष जनशक्ति उत्पादनको लागि पर्यटन विषय अध्यापन सुरु गरेको उहाँले बताउनुभयो ।  

मैवाखोलाको नारायणी माविमा कक्षा ११ र १२ मा पर्यटन विषय अध्यापनको लागि शनिबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली र नारायण माविका प्रधानाध्यापक गणेशबहादुर प्रसाईंबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

अध्यापन गराउन अनुभवी प्रशिक्षकहररु उपलब्ध गराउने, पर्यटन र पर्वतारोहण विषयका पाठ्यक्रम र अध्ययन सामग्री उपलब्ध गराउने आवश्यकताअनुसार अन्य प्राविधिक तथा ऐकेडेमिक सहयोग गर्ने भएको छ । त्यस्तै विद्यालयको तर्फबाट पर्यटन तथा पर्वतारोहण विषय कक्षा ११ र १२ मा अध्ययन अध्यापन गराउन आउने शिक्षाको व्यवस्थापन पाठ्यक्रमको लागि पुस्तकालय लगायतका सामग्री उपलब्ध गराउने सहमति भएको छ ।    

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया