अमेरिकाले दियाे नेपाललाई १०० थान भेन्टिलेटर

 कात्तिक २८, २०७७ शुक्रबार १३:३०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोभिड १९–विरुद्धको लडाइँमा सहयोग पुर्‍याउन अमेरिकी सरकारले नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग गरेको छ ।

अमेरिकाले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (यूएसआईडी) मार्फत नेपाललाई भेन्टिलेटर सहयोग गरेको हो । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गर्नुभयो ।

भेन्टिलेटर हस्तान्तरणपछि राजदूत बेरीले असल र खराब सबै समयमा अमेरिका नेपालसँग साझेदारी गर्न प्रतिबद्ध रहेको बताउनुभयो । अति दुर्गम क्षेत्रका समुदायको उपचारमा समेत प्राप्त भेन्टिलेटरले सहयोग पुर्‍याउने उहाँले बताउनुभयो । ७० वर्षभन्दा लामो समयदेखि विपद्, द्वन्द्व र कठिन अवस्थामा अमेरिकाले नेपाललाई सहयोग गर्दै आएको उल्लेख गर्दै उहाँले सहकार्यलाई निरन्तरता दिन कोरोना महामारीको समयमा पनि सहयोग गरेको बताउनुभयो । 

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिडविरुद्धको लडाइँका लागि जनधनको सुरक्षा गर्न अमेरिकाले सुरुवाती चरणबाटै सहयोग गर्दै आइरहेको उल्लेख गर्दै अहिले ठूलो सङ्ख्यामा भेन्टिलेटर सहयोग गरेकोप्रति धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले प्राप्त भेन्टिलेटर शुक्रबार १२ बजेदेखि वितरण सुरु गरिएको बताउनुभयो ।

सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई सात/सात वटाका दरले वितरण गरिने र बाँकी रहेको भेन्टिलेटरहरू हरेक सरकारी अस्पताललाई दुई/दुई वटाका दरले वितरण गरिने उहाँले बताउनुभयो ।  

भेन्टिलेटरका अतिरिक्त यूएसआईडीले देशका एक सय १३ पालिकामा सङ्क्रमण अनुसन्धान टोलीलाई सहयोग गरेको छ । अहिलेसम्म २० लाख परिवारलाई टेलिफोनमार्फत परामर्शसमेत दिएको छ ।   

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया