रुकुम पश्चिमकाे प्रहरी कार्यालयमै नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, ९ राउण्ड हवाई फायर

 माघ ६, २०७७ मंगलबार १४:५५:१६ | राजु लामिछाने
unn.prixa.net

तस्बिर : आठबीसकाेटकाे राडी बजार

रुकुम पश्चिम – दुई राजनीतिक दलका कार्यकर्ताबीचको विवाद समाधानका लागि प्रहरी कार्यालयमा भइरहेको छलफलका क्रममा तीन जना वडाध्यक्ष कुटिएका छन् । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ३, ८ र ९ का वडाध्यक्ष फरक–फरक पार्टीका कार्यकर्ताबाट कुटिएको बताइएको छ । स्थिति नियन्त्रणमा लिन नौ राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ । 

आठबीसकोट नगरपालिकामा नेकपा (दाहाल–नेपाल समुह) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको विवाद मिलाउन इलाका प्रहरी कर्यालयमा भइरहेको छलफलका क्रममा वडा नम्बर ९ का वडाध्यक्ष तारकबहादुर शाहीमाथि कुटपिट भएकाे थियाे । उहाँलाई वडा नम्बर ३ का वडाध्यक्ष केशरमान विक र वडा नम्बर ८ का वडाध्यक्ष मानबहादुर चनाराले प्रहरीकै अगाडि कुटेको छलफलममा सहभागी नेपाली कांग्रेसका नगर सभापति कमल शाहले बताउनुभयो ।

शाही नेपाली कांग्रेस, केशरमान र मानबहादुर नेकपा निकट हुन् । वडाध्यक्ष शाहीमाथि आक्रमण भएपछि नेपाली कांग्रेस समर्थित कार्यकर्ताले वडा अध्यक्षद्वय केशरमान र मानबहादुरलाई समेत आक्रमण गरेको जनाइएको छ । 

प्रहरी कार्यालयमै दुई राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले नौ राउण्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) ध्रुवकुमार श्रेष्ठले बताउनुभयो ।

जिल्लाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) कपिल शाहीको नेतृत्वमा थप प्रहरी पठाएपछि अहिले स्थिति नियन्त्रणतर्फ छ । झडपमा एक प्रहरी सहायक निरीक्षक (असई), एक जना सशस्त्र प्रहरीका एक जवानसहित दुवैतर्फका केही कार्यकर्ता घाइते भएको बताइएको छ । स्वास्थ्यकर्मी बोलाएर उनीहरुको प्रहरी कार्यालयमै उपचार भइरहेको छ । घाइतेहरुको पूरा विवरण प्राप्त भएको छैन । प्रहरीले वडा अध्यक्षद्वय केशरमान र मानबहादुरलाई नियन्त्रणमा लिएको बताइएको छ । 

विवाद सहमति नजिक पुगेका बेला एक पक्ष भड्किएर झडपको अवस्था आएको डीएसपी श्रेष्ठले जानकारी दिनुभयो । विवाद सोमबार बेलुकादेखि नै सुरु भएको थियो । स्थिति पूर्णरुपमा नियन्त्रणमा आउने बित्तिकै दोषीमाथि कारबाही गरिने उहाँले बताउनुभयो ।  

आठबीसकोटमा खानेपानी, बस काउण्टरलगायतका विषयमा नेकपा र कांग्रेस कार्यकर्ताबीच पटक–पटक विवाद र झडप हुँदै आइरहेको छ ।   

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया