उज्यालो समाचार प्रभाव : जीर्ण बनेकाे राणाकालीन झोलुङ्गे पुल दश दिनभित्र मर्मत हुने

 फागुन १९, २०७७ बुधबार १२:४०:४४ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – जीर्ण अवस्थामा रहेको रुकुम पश्चिम र जाजरकोट जोड्ने झोलुङ्गे पुल तत्काल मर्मत हुने भएको छ । राणाकालिन समयमा भेरी नदीमाथि  बनाइएको ऐतिहासिक झोलुङ्गे पुल जीर्ण बनेपछिको समस्याबारे हिजो मंगलबार उज्यालो अनलाइन र रेडियोमा समाचार प्रकाशन तथा प्रसारण भएपछि त्यो पुल मर्मत हुने भएको हो । 

समाचार आएकै दिन पुलको जीर्ण अवस्था दर्शाउँदै चौरजहारी नगरपालिका वडा नम्वर ३ ले मर्मतको लागि पूर्वाधार विकास कार्यालयलाई पत्राचार गरेको थियो । स्थानीय सरकारको सिफारिस प्राप्त हुने बित्तिकै पूर्वाधार विकास कार्यालयले मर्मत सम्भारको लागि लागत तयार गर्न कर्मचारी खटाएको छ ।

पूर्वाधार विकास कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख पदमप्रसाद देवकोटाले एक हप्ता वा दश दिनभित्र जीर्ण पुल मर्मत गरिसक्ने बताउनुभयो । 

‘हिजो समाचारमा आयो, वडा सरकारको सिफारिस पनि आयो’ कार्यालय प्रमुख देवकोटाले उज्यालोसँग भन्नुभयो, ‘तत्कालै प्राविधिक पठाएको छु, इष्टिमेट बनेर आउने बित्तिकै बजेट व्यवस्था गरेर आवश्यक सामाग्री खरिद गर्छौ ।’ 

उहाँले सामाग्री खरिद भएर आउन ढिला नभएकाे खण्डमा एक हप्ता देखि दश दिनभित्र पुल मर्मत भैसक्ने बतानुभयो । 

पुल रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ३ र जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ११ मटेलाबीचको भेरी नदीमा रहेको छ । अहिले झोलुङ्गे पुलमा रहेका फ्ल्याकहरु ठाउँठाँउमा उप्किएका छन् भने वरिपरी रहेका तारजालीहरु फुत्किदै गएका छन् । पुलका विभिन्न भागमा रहेका नट बोल्टहरु समेत झरेका छन् । पुल जीर्ण बनेपछि पुलबाट वारपार गर्ने विद्यार्थी र सर्वसाधारण प्रभावित बनेका छन् । स्थानीयलाई डराइ–डराइ पुलबाट आउजाउ गनुपर्ने अवस्था छ । 

९० मिटर लम्बाई रहेको याे पुल राणा प्रधानमन्त्री चन्द्र शम्सेरको पालामा १९८२ सालमा निर्माण भएको थियो । जाजरकोटी राजाकी छोरी तथा चन्द्र शम्सेरकी कान्छी रानी वालकुमारी शाहले आफ्नो माइतीहरुलाई भेरी नदी वारपार गर्ने सुविधाका लागि निर्माण गरिदिन आग्रह गरेपछि त्यो पुल बनाइएको बताइन्छ । 

 


अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया