पुरै गाउँपालिका कर्मचारीविहीन, लेखापढी गर्न जानेका वडाअध्यक्षले थाले सचिवको काम

 भदौ ३, २०७५ आइतबार २०:२:३० | किरण लोहनी
unn.prixa.net

गोरखा –  गोरखाको अजिरकोट गाउँपालिका वडा सचिवविहीन भएको छ ।

साउन १८ गतेदेखि प्रमुख प्रशासकीय अधिकृतको अभाव झेलिरहेको गाउँपालिकाका सबै वडामा सचिव खाली भएको हो । ५ वडा रहेको अजिरकोटमा यसअघि पनि ३ जना वडासचिव मात्रै कार्यरत थिए । यसअघि १ र ४ नम्बर वडाको सचिव रहेका अनिल गुरुङ र २ र ३ को वडा सचिवको जिम्मेवारी लिएका अमरबहादुर पुनको अन्यत्रै सरुवा भएपछि ती वडा सचिवविहीन भएका हुन् ।

५ नम्बर वडा सचिवका रुपमा कार्यरत रीता अधिकारीलाई जिल्ला समन्वय समितिले काजमा खटाएको थियो । उहाँ पनि समन्वय समितिमै फर्कने भन्दै सदरमुकाममै बसेपछि सबै वडा सचिवविहीन भएका गाउँपालिका अध्यक्ष फणिन्द्र धितालले बताउनुभयो ।

यसअघिका प्रशासकीय अधिकृत यज्ञ पूरी सरुवा भएर गएको एक महिनाभन्दा बढी समय भैसके पनि नयाँ अधिकृत नआएको उहाँको भनाई छ । आर्थिक वर्षको सुरुमै जिम्मेवार कर्मचारीको अभाव भएपछि नयाँ आर्थिक वर्षको काम थाल्न समस्या परेको धितालले बताउनुभयो ।

सचिव नभएपछि वडा तहमा हुने प्रशासनिक काम रोकिएको छ । जन्म, मृत्यु, बसाइँसराई जस्ता व्यक्तिगत घटना दर्ताको काम समेत हुन नसकेको वडाध्यक्षहरुले बताएका छन् । यस्तै राजस्व संकलन सम्बन्धी काम पनि प्रभावित भएको अजिरकोट ३ का वडाध्यक्ष तयाराज गुरुङले बताउनुभयो । ‘पञ्जिकरणको कुनै पनि काम भएको छैन’, उहाँले भन्नुभयो, ‘नयाँ आर्थिक वर्षको योजना बनाउने लगायतका काम हुनै सकेको छैन ।’

लेखापढी गर्न सक्ने वडाध्यक्षले सचिवले गर्नेे काम पनि आफैं गर्न थालेको गुरुङले बताउनुभयो । तर सामान्य लेखपढ मात्रै गर्न सक्ने अध्यक्षहरुलाई भने समस्या परेको छ । पञ्जिकरणको काममा वडा सचिवले हस्ताक्षर गर्नुपर्ने भएकाले त्यस सम्बन्धी सबै काम रोकिएको गाउँपालिका अध्यक्ष धितालले बताउनुभयो ।

गाउँपालिकामा प्रशासकीय अधिकृत र वडा सचिव बाहेक अन्य आवश्यक कर्मचारीको पनि अभाव रहेको उहाँको भनाई छ । सरुवा भएर आएका कर्मचारी पनि घरपायक मिल्नासाथ अन्यत्रै जाने गरेकाले समस्या झेल्नु परेको अध्यक्ष धितालले बताउनुभयो ।

‘फुत्त एकजना हाजिर हुन आउँछन्, घरपायक मिल्यो भन्दै एक महिना पनि नबसी जान्छन्’, उहाँ भन्नुहुन्छ, ‘कम्तिमा यति समय चाहिँ बस्नै पर्छ भन्ने व्यवस्था भए राम्रो हुन्थ्यो ।’ कर्मचारीको छिटो छिटो सरुवा हुने परिपाटी रोक्नु पर्नेमा उहाँले जोड दिनुभयो । सरकारले भने बल्ल स्थानीय तहमा कर्मचारी पठाउने क्रम सुरु गरेको छ ।

संघीय सरकार अन्तर्गतका निकायमा काम गरिरहेका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा खटाउन थालिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । अहिले स्थानीय तहमा देखिएको कर्मचारी अभावको समस्या छिट्टै हल हुने मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बताउनुभयो । 
 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया