रुकुम पूर्वमा टर्कीबाट आइपुग्यो ओखरका बिरुवा

 फागुन २३, २०७७ आइतबार १८:३१:४८ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम पूर्वमा टर्कीबाट ओखरका बिरुवा ल्याइएको छ । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका किसान उन्नत जातको अर्थात् दाँते ओखरको खेतीतर्फ आकर्षित भएपछि टर्कीबाट १९ हजार दाँते ओखरका कलमी बिरुवा ल्याइएको हो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाइ रुकुम पूर्वले सञ्चालन गरेको ओखर जोन कार्यक्रमअन्तर्गत ओखरका बिरुवा खरिद गरेर ल्याइएको हो । परियोजनाका कार्यालय प्रमुख डाक्टर रविन्द्रनाथ चौबेले क्षेत्रगत आधारमा दुई जातका ओखरको बिरुवा ल्याएको बताउनुभयो ।

रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकासँगै सिस्ने र भूमे गाउँपालिकाको माथिल्लो क्षेत्रका लागि फर्नर जातको पोथी र फर्नेट जातको भाले बिरुवा ल्याइएको प्रमुख डाक्टर चौबेले बताउनुभयो । उहाँका अनुसार जिल्लाको तल्लो भेगका लागि भने चेन्डलर जातको पोथी र फ्यांकीवट जातको भाले बिरुवा ल्याइएको छ । यस वर्ष ल्याइएका यिनै बिरुवाले आठ÷दश वर्षपछि मातृ बिरुवाको रूपमा काम गर्ने डा. चौबेले उल्लेख गर्नुभयो । त्यसपछि बाहिरी देशबाट बिरुवा आयात गर्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।   

किसानलाई अनुदानमा वितरण

किसानको मागका आधारमा टर्कीबाट आयात गरिएका ओखरको बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गरिने कार्यालयले जनाएको छ । टर्कीबाट बिरुवा खरिद गरेर ल्याउँदा प्रति बिरुवा चार सय ५० रुपैयाँ पर्न गएकाले कृषकलाई भने प्रति बिरुवा दुई सय २५ रुपैयाँमात्र पर्नेछ । 

जिल्लामा रहेका तीन गाउँपालिकामध्ये सिस्ने गाउँपालिकाको वडा नम्बर ३ बाहेक अन्य ३० वटै वडामा ओखर जोन कार्यक्रम लागू गरिएको छ । ओखर पाइने सम्भावित सबै क्षेत्रका किसानलाई मागका आधारमा दाँते ओखरको कलमी बिरुवा वितरण भइरहेको कार्यालयले जनाएको छ । अहिले परियोजनाअन्तर्गत क्षेत्र विस्तार र चक्लाबन्दीको कार्यक्रम भइरहको छ । 

सिँचाइ समस्या कायमै  

ओखरका लागि रुकुम पूर्व उपयुक्त ठाउँ भए पनि सिँचाइको भने अभाव रहेको छ । त्यही समस्यालाई मध्यनजर गर्दै कार्यालयले यस आर्थिक वर्षमा चक्लाबन्दी कार्यक्रममार्फत सिँचाइ योजनाको कामलाई अगाडि सारेको डा. चौबेले बताउनुभयो । 

जिल्लामा ओखर जोन कार्यक्रम लागू भएको पहिलो वर्षमा परीक्षणका लागि भारतको जम्मु काश्मिरबाट सात/आठ हजारको हाराहारीमा बिरुवा ल्याइएको थियो । परीक्षण सफल भएपछि गएको वर्ष टर्कीबाटै तीन हजार आठ सय बिरुवा ल्याइएकोमा यस वर्ष १९ हजार बिरुवा ल्याइएको हो । यस कार्यालयबाट मात्रै २९/३० हजारको हाराहारीमा दाँते ओखरको बिरुवा वितरण भइसकेको छ । रुकुम पूर्वमा किसानदेखि जनप्रतिनिधि र राजनीतिमा सक्रिय व्यक्तिले पनि दाँते ओखरको खेती गरिरहेका छन् ।  

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया