सप्तरीको औद्योगिक क्षेत्रमा अनिश्चितकालीन तालाबन्दी

 भदौ ५, २०७५ मंगलबार ८:५५:५४ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – कार्यालयका कर्मचारीको लापरबाहीका कारण वषौंदेखिको समस्याबारे पटक–पटक जानकारी गराउँदा पनि समाधान नभएको भन्दै राजविराज गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको व्यस्थापन कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।

उद्योगीहरुको सङ्गठन उद्योग संघका पदाधिकारीहरुले संयुक्त रुपमा औद्योगिक क्षेत्रमा तालाबन्दी गरेका हुन् । सप्तरीको रुपनी गाउँपालिका–५, मलेठ–बसबिट्टीमा अवस्थित राजविराज गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा नियमित हट लाइन विद्युत सेवा, पानी, सुरक्षा, फोहोर व्यवस्थापन र भत्किएका पर्खालहरु तत्काल मर्मत हुनुपर्नेलगायतका मागहरु राख्दै आफूहरुले अनिश्चितकालीन तालाबन्दी गरेको संघका अध्यक्ष जिबछ यादवले जानकारी दिनुभयो ।

‘हामीहरुले मागबारे पटक–पटक कार्यालयलाई जानकारी गराउँदा पनि आज–भन्दै टार्दै आएकोले बाध्य भएर अनिश्चितकालीन तालाबन्दी गरेका हौं’, उहाँले भन्नुभयो, ‘अझैं हाम्रो मागमाथि सुनुवाई नभए कडा आन्दोलन गर्न बाध्य हुनेछौं ।’

औद्योगिक क्षेत्रमा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र उद्योग संघले सोमबार अनश्चितकालीन तालाबन्दी गरेको हो । भारत सरकारको सहयोगमा २०५१ सालमा स्थापित औद्योगिक क्षेत्र सुरुदेखि नै विभिन्न समस्याबाट प्रभावित हुँदै आए पनि कर्मचारीको बेवास्ताका कारण अझै पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको उद्योगीहरुको आरोप छ ।

विद्युत पटक–पटक आउने र जाने गर्दा आफूहरुको उद्योग घाटामा भइरहेकाले अबिलम्ब समस्याको समाधान हुनुपर्ने संघका महासचिव रामकुमार दासले बताउनुभयो । ऋण काढेर उद्योग सञ्चालन गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘समस्यै समस्याका बीच हामीले उद्योग चलाएका छौं, तर कम्तिमा विद्युत, पानी र सुरक्षाको प्रबन्ध भए राहत हुने थियो, यदी यस्तै रह्यो भने उद्योग नै बन्द गर्नु बाहेक अर्को विकल्प रहँदैन ।’

वि.सं. २०५१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको यो औद्योगिक क्षेत्रमा १० मध्ये ३ वटा सेडमा मात्रै उद्योग सञ्चालनमा छन् । आफ्नै लगानीमा सेड निर्माण गरी कोशी पोलिमर्श उद्योग समेत सञ्चालनमा रहेको छ । अहिले औद्योगिक क्षेत्रमा मिलन डेरी उद्योग, महालक्ष्मी पेट इन्डष्ट्रिज र कृष्णा खाद्य उद्योग गरी ३ वटा उद्योग सञ्चालनमा छन् भने महालक्ष्मी खाद्य उद्योग, एस एण्ड को. इलेक्ट्रोड्स, पदमज्योती प्लाष्टिक उद्योग र अल नेप्लीज टि एण्ड कफी उद्योग बन्द छन् ।

औद्योगिक क्षेत्रको समस्या समाधानका लागि पहल भइरहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । यता राजविराज गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा उद्योगीहरुले गरेको तालाबन्दीप्रति कार्यालय प्रमुख दिपक आचार्यले चिन्ता व्यक्त गरेका छन् ।

उद्योगी व्यवसायीहरुले अघिसारेको मागमा उल्लेखित समस्याहरु समाधानकालागि आफूहरुले पहल गरिरहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया