रुकुम पूर्वकाे भूमेमा ‘पब्लिक हाजिरी’, काे कर्मचारी आएकाे/नआएकाे सेवाग्राहीले सजिलै थाहा पाउँछन्

 असार १३, २०७८ आइतबार १४:३६:३७ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – रुकुम पूर्वको भूमे गाउँपालिकाले कार्यालयमा कार्यरत कर्मचारीको हाजिरीलाई सेवाग्राहीले निगरानी गर्न सक्ने गरी सार्वजनिक रुपमा गर्ने व्यवस्था गरेको छ । कार्यालयको सेवा प्रवाहका लागि कर्मचारीको उपस्थितिलाई पारदर्शी बनाउन रुकुम पूर्वको भूमे गाउँपालिकाले ‘पब्लिक हाजिरी’ को व्यवस्था गरेको हो । 

कर्मचारीको उपस्थितिलाई नियमित गराउन र उनीहरू आएको–गएको कुरा सेवाग्राहीले पनि प्रष्टैसँग देख्न सक्ने गरी पब्लिक हाजिरीको व्यवस्था गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले बताउनुभयो ।

‘को–को कर्मचारी कार्यालयमा हुनुहुन्छ भनेर सोधिरहन पर्दैन’, प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भन्नुभयो, ‘कार्यालय परिसरमा राखिएको यस हाजिरी विवरणले हामीलाई कर्मचारीको समयमै उपस्थित हेर्न र सेवाग्राहीलाई सेवा लिन सहज बनाएको छ ।’

गएको वर्षको मङ्सिरबाट नै सुरु गरिएको यो व्यवस्थाले सेवाग्राहीलाई कर्मचारी छन् कि छैनन् भन्ने जानकारी हुने र कर्मचारीलाई पनि कार्यालयको नियमितता र कार्यकक्षमा बसिरहन नैतिक दबाब पुग्ने गरेको छ ।

‘यस खालको व्यवस्थाले सेवाग्राहीलाई पालिकामा कति कर्मचारी छन् भन्ने थाहा हुने र कोही कर्मचारी अनुपस्थित भएमा फलानो कर्मचारीलाई देखिनँ नि भनेर भन्ने छन्’, प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भन्नुभयो, ‘यसले हामीलाई सेवाग्राहीमैत्री बन्न थप दबाब दिने रहेछ ।’

कर्मचारीको उपस्थितिलाई सेवाग्राहीले पनि निगरानी गर्न पाउँछन् भनेर पनि सार्वजनिक रूपमा हाजिरी देखाउने व्यवस्था गरिएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढाले बताउनुभयो । उहाँका अनुसार फाँट–फाँटमा गएर आए–नआएको हेर्नुभन्दा सबैले देखिने गरी राख्दा सहज हुने भएकाले पब्लिक हाजिरीको व्यवस्था गरिएको छ । 

कार्यालय परिसरमा सबैले प्रष्टसँग देख्ने गरी राखिएको हाजिरी विवरण कर्मचारीले कार्यालय समयमा आउँदा उपस्थित र जाँदा अनुपस्थितिको जनाउ दिएर जान्छन् । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया