अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिँदै हुनुहुन्छ ? यी कुरा ध्यान दिनुहोस्

 साउन २६, २०७८ मंगलबार १२:१:१० | प्रदीप कुमार ढकाल
unn.prixa.net

संसारको जुनसुकै कुनामा भए पनि पुनः श्रम स्वीकृति अनलाइनमार्फत नै लिन मिल्ने व्यवस्था छ । तर कतिपय अवस्थामा अनलाइन आवेदन दिने सही तरिका नमिल्दा रिजेक्ट हुने समस्या भइरहेको हुन्छ । 

अनलाइनमार्फत नै पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्थाले भौतिक रूपमा कार्यालयमै उपस्थित हुनुपर्ने, श्रम अवधि सकिएपछि श्रम गर्नकै लागि भनेर विदेशबाट नेपाल आउनुपर्ने बाध्यता अब छैन । 

अनलाइनमार्फत श्रम स्वीकृति लिनको लागि पनि केही सर्तहरू भने पुरा गरेको हुनुपर्छ । पहिले पनि श्रम स्वीकृति लिएको र एक पटक विभागमै गएर बायोमेट्रिक भएको हुनुपर्छ । एक पटक बायोमेट्रिक भएकाहरूले मात्र त्यसरी अनलाइनबाट पुनः श्रम स्वीकृति लिन सक्नुहुन्छ । तर जसले बायोमेट्रिक गर्नुभएको छैन उहाँहरूले भने श्रम कार्यालयमा गएर नै पुनः श्रम स्वीकृति लिनुपर्छ ।

श्रम स्वीकृति लिँदा खेरि फिङ्गर प्रिन्ट या आइ स्क्यान दिनुभएको छ भने उहाँहरूको त्यो रेकर्ड विभागको कम्प्युटरमा बसेको हुन्छ । बायोमेट्रिक भनेको त्यही हो । जो बायोमेट्रिक प्रणालीमा हुनुहुन्न उहाँहरूले अहिले कार्यालयमै आएर बायोमेट्रिक मार्फत रेकर्ड राख्नुपर्छ । त्यसपछि अर्को पटक भने अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सक्नुहुन्छ । 

बायोमेट्रिक प्रणालीमा गइसकेपछि विभागमा उहाँको प्रोफाइल बन्छ । उहाँको यूजर आइडी बन्छ । त्यो उहाँलाई जानकारी दिइन्छ । आफ्नो यूजर आइडी र पासवर्ड भने याद राख्नुपर्छ ।

यदि आइडी र पासवर्ड बिर्सिनुभयो भने पनि उहाँले आफ्नो राहदानी नम्बर राख्नुभयो भने आइडी थाहा हुन्छ तर खोल्न भने मिल्दैन । पासवर्ड बिर्सेमा हामीलाई जानकारी गराएपछि यहाँबाट पासवर्ड रिसेट हुन्छ । र नयाँ पासवर्ड म्यासेज वा इमेलमा पठाइदिन्छौँ । त्यसको लागि कल सेन्टरमार्फत हामीलाई जानकारी गराउँदा पनि हुन्छ । सिधै हामीलाई फोन गरेर भन्दा पनि हुन्छ । उहाँहरूले कार्यालयमा जानकारी गराएपछि पासवर्ड रिसेट गरिदिन्छौँ । 

नयाँ पासवर्डमार्फत लगअन गर्न सक्नुहुन्छ । पुनः श्रम लिनको लागि कम्तीमा ६ महिना अवधि भएको भ्यालिड पासपोर्ट, भ्यालिड भिसा चाहिन्छ । कम्पनी परिवर्तन गरेको खण्डमा नयाँ कम्पनीको करार पत्र चाहिन्छ । मुख्य कागजात यिनै हुन् । देशअनुसार चाहिने कागजात फरक फरक पनि हुन्छ । 

कतिपयले यसमा गल्ती गर्नुहुन्छ । अनलाइनबाट श्रम लिन खोज्नुहुन्छ फेरि ब्रान्चमा अनलाइन क्लिक नगरेर काठमाण्डौ, पोखरा लगायत अप्सनमा क्लिक गर्नुहुन्छ ।

कहिलेकाहीँ अध्यागमन विभागको अराइभल डिपार्चरको कागज पनि चाहिन सक्छ । यस्तै कहिलेकाहीँ अरू सपोर्टिङ कागजात पनि चाहिन सक्छ । 

जो विदेशमै हुनुहुन्छ उहाँहरूले पुनः श्रम लिनुपर्यो वा नवीकरण गर्नुपर्‍यो भने उहाँहरूले नेपालमा नभएको र विदेशमै काम गरिरहेको भन्ने खुलाएर आफू कार्यरत कम्पनीको चिठी र एप्लिकेशन लेटर राख्नुपर्छ । यस्तै कल्याणकारी कोषको पैसा पनि तिर्नुपर्छ १५ सय रुपैयाँ । त्यो पनि अनलाइनबाटै, ईसेवालगायत अनलाइन माध्यमबाट तिर्न मिल्छ । 

अनि बिमाको लागि पैसा तिर्नुपर्छ । बिमाको पनि कति वर्षे करार हो त्यो अनुसार फरक फरक दर हुन्छ । त्यो पनि अनलाइनबाटै तिर्नै सकिन्छ । यति भरिसकेपछि अनलाइन फर्म सबमिट गर्नुपर्ने हुन्छ । त्यो सबमिट भएपछि हाम्रो सिस्टममा देखिन्छ । त्यो सिस्टम अनुसार हाम्रोमा दैनिक सीमित सङ्ख्यामा मात्र कोटा तोकेका हुन्छौँ । त्यसको लागि हामीले टोकन नम्बर पठाउँछौँ । कुन दिन पुनः श्रम स्वीकृति लिन मिल्ने हो त्यो दिन तोकेर टोकन दिएका हुन्छौँ ।

अनलाइनमार्फत लिँदा यी गल्ती नगर्नुहोस्

आवेदन भर्दाखेरि शाखा छनौट गर्नुपर्ने हुन्छ । शाखा छनौट गर्दा अनलाइन ब्रान्च भन्ने हुन्छ त्यसमा क्लिक गर्ने । त्यहाँ काठमाण्डौ, पोखरा, बुटवल भन्ने पनि विकल्प हुन्छ । त्यसमा क्लिक गर्नुभयो भने त्यही ठाउँमा गएर लिने भन्ने हो । कतिपयले यसमा गल्ती गर्नुहुन्छ । अनलाइनबाट श्रम लिन खोज्नुहुन्छ फेरि ब्रान्चमा अनलाइन क्लिक नगरेर काठमाण्डौ, पोखरा लगायत अप्सनमा क्लिक गर्नुहुन्छ ।

त्यसो हुँदा सिस्टमले यो मानिसले त्यही ठाउँमा गएर श्रम लिने रहेछ भनेर बुझ्छ र उहाँहरूलाई समस्या हुन्छ । दश दिन भइसक्यो अनलाइनबाट पुनः श्रमको लागि फर्म भरेको आजसम्म केही भएन भन्ने गुनासो पनि गर्नुहुन्छ । 

तर उहाँहरूले अनलाइन ब्रान्च छान्ने बेला गल्ती गर्नुभएको हुन्छ । यसमा होसियार हुनुपर्छ । अनलाइन ब्रान्च छान्दाखेरि जुन दिनको टोकन खाली छ त्यही दिनको टोकन सिस्टममा देखाउँछ । जुन मितिमा त्यो टोकन देखाएको छ त्यही मिति छनौट गर्नुपर्छ ।

टोकनमा १२ तारिखको मिति छ भने त्यो भन्दा पहिलेको मिति सिस्टममा देखिँदैन । १२ तारिखपछि मात्र सिस्टममा देखिन्छ । सिस्टमले आफैँ उहाँको आवेदनलाई क्युमा राख्छ । उहाँले आवेदन दिनुभएकाभन्दा अगाडिका सबैको काम भएपछि मात्रै उहाँको काम हुन्छ । क्रमबद्ध तरिकाले पालो आउँछ ।

यदि आवेदन दिने कम छन् भने आजैको टोकन पनि पाउन सकिन्छ यदि आवेदन दिने धेरै छन् भने सिस्टमले पाँच दिनपछि पनि पालो आउन सक्छ । कहिले पालो आउने भन्ने कुरा देखाउने नै टोकनले हो । पाँच दिनपछि टोकन देखायो भने त्यो भन्दा अगाडि सिस्टममै देखिँदैन । यस्तो कुराहरूमा पनि ध्यान दिनुपर्छ । 

त्यसैले कुन मितिको टोकन छ, आफू कहिले जाने हो त्यो सबै यकिन गरेर मात्रै हप्ता दश दिन अगाडि अनलाइन फर्म भर्नुभयो भने सजिलो हुन्छ ।

प्रक्रिया काँसम्म पुग्यो भन्ने कुरा प्रोफाइलमा गएर हेर्दा स्ट्याटसमा हेर्न सकिन्छ ।

जस्तै पहिले त पुनः श्रम स्वीकृति भएको बारे पासपोर्टमै स्ट्याम्प लाग्थ्यो । पुनः श्रम स्वीकृति भएकोबारे त्यसरी थाहा हुन्थ्यो । अहिले फरक छ । नेपालमै हुनुहुन्छ भने अनलाइनमा फर्म भर्दा राखेको मोबाइल नम्बरमा वा इमेल आइडीमा म्यासेज आउँछ । यदि मोबाइल नम्बर गलत थियो, नम्बर नेपालको थियो तर अहिले उहाँ विदेशमा हुनुहुन्छ भने आफ्नो प्रोफाइल लगइन गरेर पनि त्यहाँ हेरेर थाहा पाउन सकिन्छ । त्यहाँ स्ट्याटस भनेर देखाउँछ । त्यहाँ ३ ४ वटा प्रक्रिया हुन्छ । 

सुरुमा आवेदन सबमिट गरेपछि कम्प्युटर अपरेटरले त्यसलाई प्रोसेस गर्छ । अरेबिक भाषाको भएमा त्यसलाई ट्रान्सलेट गर्नुपर्छ, ट्रान्सलेटरकोमा जान्छ । त्यसपछि नायब सुब्बाकोमा जान्छ । त्यसपछि बल्ल अफिसरकोमा जान्छ र अनि स्वीकृत हुन्छ । र यो प्रक्रिया काँसम्म पुग्यो भन्ने कुरा प्रोफाइलमा गएर हेर्दा स्ट्याटसमा हेर्न सकिन्छ ।

जस्तो कम्प्युटर अपरेटरले अगाडि बढाउनुभयो भने सबमिटेड भनेर देखाउँछ । त्यसपछि कम्प्युटर अपरेटरले फेरि अगाडि बढाउनुभयो भने प्रोसेस्ड भनेर देखाउँछ । त्यसपछि नासुले बढाउनुभयो भने भेरिफाइड भनेर देखाउँछ । अफिसरले हेरेर फाइनल भइसकेपछि एप्रुभ्ड भनेर देखाउँछ ।

एप्रुभ्ड भइसकेपछि त्यहाँ प्रिन्ट स्टिकर भन्ने हुन्छ । त्यसमा क्लिक गरेपछि श्रम स्वीकृतिको डिटेल आउँछ । त्यसलाई आफैले प्रिन्ट गरेर राख्ने हो । त्यही नै पुनः श्रम स्वीकृति हो । त्यो डाउनलोड गरेर मोबाइलमै राखे नि भयो । बारकोड सहितको डिटेल आउँछ ।

महामारीको समयमा सेवा

अनलाइनबाट पुनः श्रम लिने कुरा अलिकति टेक्निकल विषय पनि भएको भएर सुरु सुरुमा त सेवाग्राहीले अलिकति झन्झट पनि मान्नुभएको होला । त्यसैले सुरु सुरुमा त्यति चासो देखाउनुभएन । दैनिक दुई सय जति टोकनको लागि खोल्दा पनि ५० जनाले मात्र अप्लाई गर्नुहुन्थ्यो । अहिले त्यस्तो छैन ।

सेवाग्राहीहरू आकर्षित भएका छन् यसतर्फ । यसले निकै सजिलो बनाइदिएको छ । काठमाण्डौ मै आउनुपर्ने, झन् पहिले त जहाज चढेर स्वदेशमै पुग्नुपर्ने अवस्था थियो । कार्यालयमा घण्टौँ लाइन बस्नुपर्ने, दुई तीन दिन पनि लाग्ने हुन्थ्यो । त्यसले गर्दा समयसँगै धेरै खर्च बेहोर्नुपर्थ्यो श्रमिकले । अहिले त्यस्तो छैन । निकै सजिलो बनाएको छ ।

नलाइन सुविधा छदैछ भने दुईचार दिन पहिले नै अप्लाइ गरेर समयमै अनलाइनबाटै पुनः श्रम लिन हाम्रो अनुरोध हो ।

पहिले पुनः श्रमको स्टिकर पासपोर्टमा लगाउँदा पासपोर्ट फोहोर हुने, छिटो छिटो पानाहरू भरिने हुन्थ्यो । अहिले त्यो पनि सहज भएको छ । एकदमै प्रभावकारी देखिएको छ । पुनः श्रम लिनकै लागि भौतिक रूपमा कार्यालयमा उपस्थित हुने सङ्ख्या अहिले एकदमै न्यून भइसक्यो । दैनिक एक सयको हाराहारीमा मात्र आउने गर्नुहुन्छ । धेरैले अनलाइनबाटै गर्नुहुन्छ ।

महामारीको बेला कार्यालयमा भीड नगर्न र सकेसम्म अनलाइनबाट पनि आफू विदेश उड्नुभन्दा अगाडि नै अनलाइनबाट अप्लाई गर्न विभागको आग्रह छ । 

तर कोही इमर्जेन्सीमा आउनुहुन्छ, भोलि जानुपर्ने छ आजसम्म पुनः श्रम गर्नुभएको छैन भन्दै आउनेलाई फर्काएका त छैनौँ । तर त्यसो नगर्न हाम्रो आग्रह हो, अनलाइन सुविधा छदैछ भने दुईचार दिन पहिले नै अप्लाइ गरेर समयमै अनलाइनबाटै पुनः श्रम लिन हाम्रो अनुरोध हो ।

विवरण भर्दा ध्यान दिनुहोस्

अनलाइनबाट फर्म भर्दा सबै कागजात पुर्‍याएर भर्नुपर्छ ।  पूर्ण विवरण नभर्दा एउटैले भरेको फर्म २०/२५ पटकसम्म रिजेक्ट भएको पनि छ । हामीले रिजेक्ट गर्नुको कारण पनि राखेका हुन्छौँ । अनलाइन सिस्टमले पनि बिना कारण रिजेक्ट गर्न दिँदैन । 

त्यो कारण भ्यु लग भन्नेमा गएर क्लिक गर्दा त्यसको कारण देखिन्छ । के कागजात तथा विवरण पुगेन भनेर थाहा हुन्छ र त्यही अनुसार विवरण तथा कागजात थपेर फेरि रि सबमिट गर्नुपर्छ । 

अनलाइनमार्फत तपाईँ पुनः श्रम स्वीकृति लिँदै हुनुहुन्छ भने कृपया काठमाण्डौ, पोखरा, सुर्खेत जस्ता त्यहाँ देखाएका विकल्पमा क्लिक नगर्नुहोस् । अनलाइन ब्रान्च छान्न पर्छ ।

कतिपयले कारण हेर्नुहुँदैन र रि सबमिट गरिरहनुहुन्छ, जसले गर्दा माथि भनेजस्तै २०/२५ पटकसम्म पनि उहाँको फर्म  अप्रुभ हुँदैन । सेवाग्राहीले यसो गर्दा कार्यालयको सेवा प्रवाह पनि प्रभावित हुन्छ । एउटै व्यक्तिको फर्ममा कर्मचारी लागिरहनुपर्ने हुन्छ । त्यसैले आवश्यक कागजात तयार पारेर मात्रै अनलाइन फर्म भर्ने गर्नुपर्छ ।

कतिपयले फर्म मात्र भर्नुहुन्छ तर सबमिट गर्न भुल्नुहुन्छ । त्यसो भएपछि त हाम्रो सिस्टममा देखाउँदैन । त्यसैले त्यो स्ट्याटसमा हेर्नुपर्‍यो । स्ट्याटसमा एन÷ए लेखेको छ भने उहाँको डकुमेण्ट सबमिट भएको छैन ।

स्ट्याटसमा सबमिटेड भनेर लेखेको छ भनेपछि बल्ल त्यो फर्म हामीकहाँ आइपुग्छ । अर्को कुरा अनलाइनमार्फत तपाईँ पुनः श्रम स्वीकृति लिँदै हुनुहुन्छ भने कृपया काठमाण्डौ, पोखरा, सुर्खेत जस्ता त्यहाँ देखाएका विकल्पमा क्लिक नगर्नुहोस् । अनलाइन ब्रान्च छान्न पर्छ ।

अर्को कुरा भनेको तपाईँको आवेदन रिजेक्ट भयो भने के कारणले रिजेक्ट भयो भनेर कारण पढ्नुहोस् । हामीले कारण लेखेका हुन्छौँ । त्यहाँ लेखिएको कुराहरू पूरा गरेर मात्र पुनः आवेदन दिनुहोस् । रिजेक्ट भएको आवेदनको कारण नपढी पुनः सबमिट मात्र नगर्नुहोला ।  यी सबै कुरा सुनिश्चित गरेर मात्र अनलाइनमा फर्म भर्न र सहज रूपमा पुनः श्रम स्वीकृति लिन म अनुरोध गर्छु ।

(कार्यक्रम देश परदेशका लागि गरिएको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रदीप कुमार ढकाल

ढकाल वैदेशिक रोजगार कार्यालय काठमाण्डौमा शाखा अधिकृत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया