बैंकमा जम्मा भएको भत्ता वर्ष दिनसम्म निकाल्न पाएनन्, तीन दिन हिँडेर पुग्दा पनि रित्ताे हात

 भदौ ३, २०७८ बिहिबार १९:४:२९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – पालिका सरकारले सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गरिदिएकोे सामाजिक सुरक्षा भत्ता यहाँका ज्येष्ठ नागरिक, एकल महिला, दलित बालबालिकाले आर्थिक वर्ष बितिसक्दा पनि पाएका छैनन् । 

आठबीसकोट नगरपालिकामा रहेका ज्येष्ठ नागरिक, एकल महिला, दलित बालबालिकाका नाममा जम्मा गरिएको भत्ता सेन्चुरी कमर्सियल बैंकको ढिलासुस्तीका कारण सम्बन्धितले पाउन नसकेका हुन् । 

गएको आर्थिक वर्षको पहिलो किस्ताको रकम सम्बन्धित वडा कार्यालयबाटै वितरण गरिएको थियो । दोस्रो र तेस्रो किस्ताको रकम नगरपालिकाले बैंक खातामा जम्मा गरे पनि उनीहरूले भत्ता पाउन नसकेका हुन् । 

नगरपालिकाको वडा नम्बर ६ का नन्द बोहराले भत्ता समयमै नपाउँदा निकै समस्या झेल्नुपरेको दुखेसो गर्नुभयो । दुई–तीन लगाएर राडी बजारमा रहेको बैंकमा आउनुपर्ने बाध्यता र आएको बेला रित्तै हात फर्कनु पर्दा लाभग्राहीई मर्का परेको उहाँले बताउनुभयो । 

दिनका दिन लाइनमा बस्दा पनि भत्ता नपाइएको स्यालाँखदीबाट आउनुभएका अर्का ज्येष्ठ नागरिकले गुनासो गर्नुभयो ।

१४ वडा रहेको नगरपालिकाको केन्द्रबाट टाढा र विकटमा रहेका वडा नम्बर १, २, ३, ४, ५ र ६ का कसैले पनि अहिलेसम्म सामाजिक सुरक्षा भत्ता पाएका छैनन् ।

यस विषयमा नगरपालिकाका सामाजिक सुरक्षा शाखा प्रमुख टेकबहादुर चन्दले नगरपालिकाले नियमित रूपमा लक्षित वर्गले पाउनुपर्ने सामाजिक सुरक्षा भत्ताबापतको रकम बैंकमा जम्मा गरेको बताउनुभयो । उहाँका अनुसार विभिन्न वर्गका ६ हजार एक सय ७४ जनाले पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता सेन्चुरी बैंकमा जम्मा भइसकेको छ । एउटा मात्र बैंक भएको र भौगोलिक रूपले विकट ठाउँमा रहेकाले पनि समस्या भइरहेको शाखा प्रमुख चन्दले बताउनुभयो । 

यस विषयमा बैंकको आठबीसकोट शाखाका म्यानेजर डम्बर गौतमले सुरुमा धेरै जनाको बैंक खाता नभएकाले वितरण गर्न ढिलाइ भएको स्विकार गर्नुभयो । भर्खरै ग्राहक पहिचान (केवाईसी) फाराम भरेर सकिएकाले अब सहज रूपमा वितरण हुने उहाँको भनाई छ । गौतमले अब भत्ता वितरण गर्न बाँकी रहेका सबै वडामा बैंकको टोली आफैँ पुगेर भए पनि वितरण गरिने जनाउनुभयो । भदौ महिनाभित्रै सबैको भत्ता वितरण गरिसक्ने उहाँको भनाइ छ ।  

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया