पाकिस्तान नेपालसँग सहकार्य गर्न चाहन्छ : पाकिस्तानी प्रधानमन्त्री इमरान खान

 असोज ६, २०७८ बुधबार २०:८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान र नेपालबीचको सम्बन्धलाई अझ प्रवर्द्धन गर्न आफू तत्पर रहेको बताउनुभएको छ ।

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँग हिजाे मङ्गलवार भएको भेटमा उहाँले पारस्परिक सम्बन्ध प्रवर्द्धनका निम्ति नेपालसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताउनुभएको इस्लामाबादमा रहेकाे नेपाली राजदूतावासले जनाएको छ । 

राजनीतिमा प्रवेश गर्नुअघि स्वतन्त्र नागरिकका रूपमा आफूले गरेको नेपाल भ्रमणको स्मरण गर्दै प्रधानमन्त्री खानले सांस्कृतिक एवम् भौगोलिक विविधताका कारण पाकिस्तान र नेपालबीच धेरै समानता छन् भन्नुभयो ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाको सुख, सुस्वास्थ्यका साथै नेपाल र नेपाली नागरिककाे निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । 

सद्भाव, पारस्परिक विश्वास र सहयोगमा आधारित नेपाल र पाकिस्तानबीचको सम्बन्ध सौहार्दपूर्ण रहेको चर्चा गर्दै राजदूत अधिकारीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का संस्थापक दुवै राष्ट्रको संयुक्त राष्ट्र सङ्घलगायत अन्य महत्त्वपूर्ण मञ्चहरूमा समान धारणा रहेको बताउनुभयो । उहाँले नेपाल र पाकिस्तानबीच सांस्कृतिक एवम् साहसिक पर्यटन प्रवर्द्धनका प्रशस्त सम्भावना रहेका बताउँदै त्यस निम्ति आफूले हरसम्भव प्रयास गर्ने दृढता व्यक्त गर्नुभयो ।

कोभिड महामारीविरुद्धको नेपालको लडाइँमा पाकिस्तानले गरेको नैतिक एवम् आर्थिक सहयोगप्रति राजदूत अधिकारीले कृतज्ञता ज्ञापन गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया