एमाले विधान महाधिवेशन : के भन्छन् प्रतिनिधि ?

 असोज १७, २०७८ आइतबार १३:३९:१९ | वैद्यनाथ पाैडेल
unn.prixa.net

काठमाण्डाै – सरकारबाट बहिर्गमन र पार्टी विभाजनपछि एमालेका नेता कार्यकर्ता पार्टीको नयाँ नीति र विधि तय गर्न एक ठाउँमा जम्मा भएका छन् । ललितपुरको गोदावरी अन्तर्राष्ट्रिय सभाहलमा शुक्रवारदेखि सुरु भएको पहिलो विधान महाधिवेशन आज सकिँदैछ । 

विधान महाधिवेशनमा देशभरबाट नेता कार्यकर्ता उत्साहका साथ सहभागी भएका छन् । उनीहरुले पार्टी कार्यकर्ता र जनभावनाअनुसार काम गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् । 

आउँदाे नेतृत्व स्थापित

डिल्लीराज खनाल, धनगढी

प्रथम विधान महाधिवेशनले वर्तमान परिस्थितिलाई एकदम सशक्त ढङ्गले यो पार्टीको नेतृत्व गर्ने गरी गोलबन्द गराएको छ । सुदूरपश्चिमदेखि लिएर   प्रदेश तथा ७७ जिल्लाबाट हामी प्रतिनिधिहरू आएका छौँ। 

हामी अहिलेको जुन विधान महाधिवेशनमा बसेका छौँ त्यो विधानले भोलिको मुख्य नेतृत्वको चयनमा भूमिका निभाउँछ । नेकपा एमालेलाई जसरी विभिन्न दल, अन्तर्राष्ट्रिय जगतले सरकारबाट हटाउने काम गरे यसको विरुद्धमा पनि हो यो अधिवेशन । 

हामी यसलाई अझै स्थापित गर्नका निम्ति हाम्रो पार्टी, सङ्गठन, दल मजबुत बनाउनका निम्ति हामी अहिले ७७ जिल्लाबाट छनाेट भएर प्रतिनिधिका रुपमा आएका छौँ। हाम्रो यसमा लिपिबद्ध रुपमा हस्ताक्षर हुनेछ। र विधान बन्नेछ । 

यो विधानले नेतृत्व चयन गर्ने काम नगरे पनि आउँदाे नेतृत्व स्थापित गर्ने वातावरण बनाउँछ । र, वर्तमान नेतृत्व मलाई भने राम्रो लाग्छ । जसका कारण नेकपा एमाले मजबुत भएको छ । 

नेतृत्व राम्रै लागेको छ

नागीदेवी, वीरगञ्ज

मेरो नाम नागीदेवी हो । वर्तमान नेतृत्वलाई हामी ठीकै भन्छौँ, राम्रो भन्छौँ । हामी यहाँ तीन दिन बस्छौँ। दलको विधान बनाएपछि मात्रै यहाँबाट जाने हो । हामी प्रतिनिधि भएर आएका हौँ। प्रतिनिधिको काम भनेको विधान बनाएपछि मात्रै जाने हो । त्यसैले राम्रो लागिरहेकाे छ । ठीक लागिरहेकाे छ । 

सामूहिक नेतृत्व हुनुपर्छ

विजया धिताल, लुम्बिनी

निकट भविष्यमा पार्टीको महाधिवेशन हुँदैछ । महाधिवेशनबाट हामीले पाँच वर्षसम्म हाम्रो कमिटीहरू कसरी सञ्चालन गर्ने, कुन दिशा निर्देशबाट हामी गाइडेड हुने भन्ने खालको र हाम्रा संरचनाहरु कस्तो बनाउने, कसरी जाने भन्ने खालको प्लान गर्ने ठाउँ नै हो, यो महाधिवेशन। 

खासगरी विधान महाधिवेशन पार्टी सञ्चालनको योजना बनाउने ठाउँ भएको हुनाले तथा एमालेले गरेको पहिलो विधान सम्मेलन पनि भएको हुनाले सहभागिताको कुरा, सङ्गठन सञ्चालनको कुरा तथा पार्टीलाई दिशा निर्देश गर्ने कुरा टुङ्गो लगाउने ठाउँ भएको हुनाले विधान सम्मेलनमा सहभागी भएर छलफल गर्छौँ।

नेतृत्व भन्नाले यो पुरानो हो र अब आउने नयाँ भन्ने होइन । नेतृत्व भनेको यो टिमबाट नै बनेर जाने कुरा हो। 

संस्थागत नेतृत्व नै ठीक

प्रेमबहादुर राना मगर, महोत्तरी

म किसानको नेता । २००६ सालदेखि बनेको कम्युनिस्ट पार्टी जुट्नभन्दा फुट्नमा बल गर्यो । परिवर्तन भयो, लक्ष्यमा पुगेन । अहिले विज्ञान र प्रविधिको हैसियतले आफूले यसो बुझ्दा एमालेभित्र पनि अहिले संस्थागत रुपमा देखिएको केपी ओली कमरेड नै ठीक छ भन्ने हाम्रो सोच बनेपछि म महोत्तरीबाट प्रतिनिधि बनेर यहाँ आइपुगेको हो । 

सुखी नेपाली र समृद्ध नेपाल तथा शान्तिपूर्ण तरिकाले साम्यवादमा पुगोस् र विश्व नै साम्यवादतर्फ जाओस् भनेर हामी यहाँ आएका हौँ। 

विधानमा आफ्नो हक, अधिकारका कुरा लेखाउँछौँ

महोम्मद अख्तर अदा (मोहम्मद) खाँ

पार्टीको विधान बन्नेवाला छ । हामी त्यसमा सहभागी हुन आएका हौँ । जसमा हरेक जातलाई समावेश हुन पार्टीले आह्वान गरेको छ । यस विधानमा पार्टीमा हरेक जात र समूदायको मानिस रहन्छन् भनेर हामी आएका हौँ । आफ्नो हक, अधिकार हामी यसमा लेखाउँछौँ । 

केपी ओली सा'ब एकदमै राम्रो मान्छे हुनुहुन्छ उहाँ विकासको कुरामा तथा आफ्नो उद्देश्यमा एकदमै दृढ हुनुहुन्छ, र अरुको लागि पनि दयालु हुनुहुन्छ । र गरिबका लागि उहाँ एकदमै सहयोगी हुनुहुन्छ ​।त्यसकारण अब आउने सरकार वा पार्टी जब चुनावमा लड्छ त्यसमा उहाँको बोलवाला हुन्छ । र उहाँलाई नै प्रधानमन्त्री बन्ने अवसर प्राप्त हुनेछ । 

समावेशीतालाई सशक्त बनाइयोस्

मदन किशोर कामत, विराटनगर 

विधान अधिवेशनले सङ्गठनलाई समय सापेक्ष गाउँदेखि केन्द्रसम्म अपडेट गराउँछ । जस्तो नेपालमा १२५ जातजाति छन् त्यसमध्ये ३६ जात न दलित, न आदिवासी जनजातिमा परेको छ । त्यसलाई संविधानले पिछडा वर्ग भनेको छ । 

महिला अनि मुस्लिमलाई आरक्षणको व्यवस्था गरेको छ । समानुपातिक तथा समावेशिताको व्यवस्था गरेको छ । त्यसलाई पूर्णरुपमा व्यवहारमा ल्याउने भन्ने यो विधान अधिवेशनले सहयोग गर्छ । 

त्यसका लागि वर्तमान नेतृत्वलाई म धन्यवाद दिन चाहन्छु । म वर्तमान नेतृत्वको काम कारबाहीप्रति सन्तुष्ट छु । संविधानको जुन मूल मर्म छ राष्ट्र, राष्ट्रियता, धर्मनिरपेक्षता, गणतन्त्र र समावेशीतालाई अझ सशक्त बनाओस् भन्ने मेरो अनुरोध पनि छ नेतृत्वप्रति । 

नीतिलाई पच्छ्याउँदै जाँदा देश समृद्ध बन्न सक्छ 

भीमबहादुर गुरुङ, लमजुङ 

म वर्तमान नेतृत्वप्रति अत्यन्तै आशावादी छु । पार्टीको वर्तमान नेतृत्व सक्षम छ, सजग छ । देशलाई अगाडि बढाउनु पर्छ भनेर अत्यन्तै सजग तरिकाले अघि बढिरहेको अवस्था हो । 

भन्ने मान्छेहरुले भन्ने गर्छन यो नेतृत्व ठीक छैन, यो नेतृत्व यस्तो भयो उस्तो गर्यो भन्ने कुरा मलाई लाग्छ वर्तमान नेपाली नागरिकलाई नेकपा एमालेको नेतृत्वलाई त्यो ढङ्गबाट बुझिरहेको छ भन्ने कुरा मैले लिएको छु । 

नेकपाको यो नेतृत्वले नै सुखी नेपाली, समृद्ध नेपालको जुन अवधारणा छ त्यसलाई यही नेतृत्वले नै पूरा गर्न सक्छ । 

यो नेतृत्व पछि पनि यसले अवलम्बन गरेको नीति सिद्धान्तलाई पछ्याउँदै अघि बढ्न सक्यो भने यो देश समृद्ध हुन सक्छ भन्ने कुरामा हामी विश्वास गर्छौँ । 

दलितलाई पनि नेतृत्वमा समेट्नु पर्यो 

सागाराम नेपाली, कर्णाली 

कर्णालीका जनता यसै पनि पिछडिएका छन् । त्यसमाथि दलितको अवस्था झनै दयनीय छ । दलितका तर्फबाट नेतृत्व गर्दै यस महाधिवेशनमा समेत आइपुगेकाले दलितका तर्फबाट विधानमा केही सुझाव दिनु कर्तव्य पनि हो । 

संविधानले दलितका सन्दर्भमा जे जति व्यवस्था गरेको छ त्यसलाई राम्रोसँग कार्यान्वयन गर्नका लागि पार्टीले पनि ध्यान दिनु जरुरी छ । पार्टीले पनि दलितका सन्दर्भमा अवश्य केही व्यवस्था सोचेकै हुनुपर्छ । तर, पार्टीले दलितका हक, अधिकारका सम्बन्धमा सुनिश्चितता गर्नुपर्यो । र तत्काल केही राहत पनि हुनुपर्यो । साथै दलितलाई पनि नेतृत्वमा समेट्नु पर्यो भन्ने हाम्रो सुझाव छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया