नेपाल–भारत सीमा सुरक्षा बैठक दिल्लीमा बस्दै : कालापानी र सुस्ताबारे छलफल नहुने

 असोज १९, २०७८ मंगलबार ७:३६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल–भारत सीमा सुरक्षा बैठक बस्दैछ । भारतको राजधानी नयाँदिल्लीमा आज बैठक बस्न लागेको हो ।

नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर भारतले आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेपछि उत्पन्न विवादले रोकिएको दुई देशबीचको बैठक दुई वर्षपछि बस्न लागेको हो ।

बैठकमा सीमा सुरक्षा र गस्ती, दुई देशबीच जोडिएका नाकाको प्रयोग, अन्तरदेशीय अपराध नियन्त्रण तथा रोकथामलगायतका विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ ।

तर बैठकमा कालापानी र सुस्ताका विषयमा भने छलफल नहुने भएको छ । बैठकमा भाग लिन सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल नेतृत्वको टोली हिजो भारतको नयाँदिल्ली पुगेको छ । नेपालका तर्फबाट आईजीपी खनाल, सशस्त्र प्रहरी कार्य तथा सीमा विभाग प्रमुख पुष्पराज केसी, प्रशासन विभागका डीआईजी नारायणदत्त पौडेललगायत सहभागी हुनुहुनेछ ।

भारतका तर्फबाट भारतीय सशस्त्र सीमा बल एसएसबीका महानिर्देशक कुमार राजेश चन्द्रासहितको टोली सहभागी हुँदैछ । दुई देशले आलोपालो बैठक आयोजना गर्ने भनिए पनि नियमित बैठक बस्न सकेको छैन। यसअघि चौथो बैठक २०७६ मंसिर ४ र ५ गते पोखरामा बसेको थियो ।

पहिलो पटक २०६९ सालमा भारतमा बैठक बसेको थियो । दोस्रो बैठक २०७२ सालमा नेपालमा र तेस्रो बैठक २०७३ सालमा नयाँदिल्लीमा बसेको थियो । भारतले २०७६ कात्तिकमा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो ।

नेपालले लिम्पियाधुरासहित २०७७ साल जेठ ७ मा राजनीतिक तथा प्रशासनिक नक्सा प्रकाशित गरेपछि सीमा सुरक्षा बैठकसहित कुटनीतिक वार्ता र छलफल रोकिएको थियो । पछिल्लो पटक भारतीय सीमा सुरक्षा बल एसएसबीले महाकालीमा तुइनको लट्ठा खुस्काएपछि दार्चुलाका जयसिंह धामी बेपत्ता भएका छन् । यसबारेमा जवाफ मागेर नेपालले भारतलाई पत्र पठाएको भए पनि जवाफ दिएको छैन।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया