‘सीप सिकेर विदेश जाँदा समस्या हुँदैन भन्ने विश्वास छ’

 कात्तिक २५, २०७८ बिहिबार १७:११:६ | उज्यालो सहकर्मी

सानो छँदा कसैले ठुलो भएपछि के बन्छौ भनेर सोधे बाँकेकी तुल्सी बुढा भन्नुहुन्थ्यो, टिचर बन्छु ।

पढि लेखी ठुलो भएर अरूलाई शिक्षा दिने सपना तुल्सीको सानै देखिको थियो । तर सपना न हो । कति बेला बद्लिन्छ पत्तै हुँदैन । फरक यति हो कतिले सपनाहरु खुसीले बदल्छन् त कतिपयको सपना बाध्यताले मोडिदिन्छ ।

तुल्सीको शिक्षिका बन्ने सपना अहिले वैदेशिक रोजगारीतिर मोडिएको छ ।   पढाइलाई बिट मार्दै तुल्सी अहिले वैदेशिक रोजगारीमा जोर्डन जान गार्मेन्टको सीप सिक्न थाल्नुभएको छ ।

उमेरले २१ वर्ष मात्रै लाग्नुभयो तुल्सी । उहाँको जन्म जाजरकोटमा भयो । तुल्सी सानै छँदा परिवार जाजरकोटबाट बाँकेको कोहलपुर झर्‍यो । जाजरकोटबाट बसाइँ सर्दा जाजरकोटमा भोगेको दुःख र गरिबी उतै छुट्ला भन्ने तुल्सीको परिवारको विश्वास थियो । तर हुनेलाई जहीँ त्यहीँ नहुनेलाई कही न कही भन्ने उठानजस्तै भयो उहाँको परिवारको हकमा पनि ।

जाजरकोटबाट तुल्सीको परिवारसँगै दुःख पनि कोहलपुर झर्‍यो । पाँच सन्तानलाई बुवा एक जनाको कमाइले खान लगाउने खर्च पुर्‍याउनै धौं धौं हुन थाल्यो । स्कुल शुल्क पुर्‍याउन त झनै मुस्किल । त्यसमाथि सानो भाइ लगातार बिरामी पर्न  थाल्यो । त्यसपछि तुल्सीको ध्यान पढाइमा भन्दा पनि बिरामी भाइतिर बढी भयो । 

‘पढ्ने रहर त थियो नि, हाम्रो भाग्य नै त्यस्तै होला, आर्थिक कमजोरीले गर्दा सोचेजस्तो गर्न नसकिने रहेछ,’तुल्सी ती दिन सम्झँदै भन्नुहुन्छ,‘झन् भाइ बिरामी भएपछि त मैले पढ्नै सकिनँ ।’

१० कक्षामा भर्ना भए पनि स्कुल निरन्तर जान पाउनुभएन तुल्सी । पढाइ रोकिएपछि उहाँले घर चलाउनका लागि कमाउने बाटो खोज्न थाल्नुभयो । आफ्नो ठाउँमा सिलाइको काम सिक्दै गर्दै पनि गर्नुभयो । तर त्यहाँबाट भएको कमाइ घरको अभावको अघि निकै कम थियो । 

जोर्डनमा काम गरिरहेकी गाउँकै दिदीसँग तुल्सी र परिवारको कुरा भयो । तुल्सीले आफ्नो समस्या सुनाउनुभयो । 

‘दिदीसँग कुरा हुँदा उहाँले विदेश आउन त, कमाइ पनि हुन्छ, सुरक्षित पनि छ, तर सीप सिकेर मात्र आऊ भन्नुभयो,’ तुल्सी भन्नुहुन्छ,‘यसो सोच्दा उहाँको कुरा ठिकै लाग्यो र उहाँले नै सीप सिकेको ठाउँमा आएको हुँ सीप सिक्न ।’

तुल्सी अहिले बाँकेबाट आएर ललितपुरको एकान्तकुनामा रहेको सुवर्ण मल्टिपल ट्रेनिङ सेन्टरमा गार्मेन्टको सीप सिकिरहनुभएको छ । 

सुरक्षित आप्रवासन परियोजना सामीद्धारा निःशुल्क सञ्चालित सीप तालिम भएकाले उहाँले खाने बस्ने व्यवस्थासहित एक महिने गार्मेन्टको सीप सिकिरहनुभएको छ । 

सीप सिक्न थालेपछि तुल्सीलाई आँट पनि बढेको छ । बुढा हुँदै गएका बुवा आमालाई कमाएर सघाउन सक्छु भन्ने हिम्मत बटुलेको छु भन्नुहुन्छ उहाँ । 

‘विदेश जाँदा एजेण्टहरुले कति ठगेका कुरा सुनेको छु, तर यहाँ सीप सिकेर जाँदा सुरक्षित भइन्छ, मेरो विदेश बसाई राम्रो हुन्छ भन्ने लागेको छ,’तुल्सी भन्नुहुन्छ ।

उहाँका गाउँका आफन्त कतिपयलाई एजेण्टले गैर कानुनी बाटो हुँदै विदेश लगेर अलपत्र परेको देख्नुभएको छ तुल्सीले । तर तुल्सी भने सीप सिकेर वैधानिक हिसाबले मात्र जाने सोचमा हुनुहुन्छ ।

हातमा सीप भए सीप अनुसारको पैसा पनि कमाइ होला भन्ने उहाँको विश्वास छ ।

हातमा सीप भए विदेश नै जान पर्छ भन्ने पनि छैन । सीप लिएर गएमा विदेशको अनुभव र त्यहाँको कमाइलाई नेपालमा लगाउन सकिन्छ । 

तुल्सीको योजना अब विदेश जाने, करार अवधि भरी बसेर कमाउने र फर्किएपछि यही सिलाई सम्बन्धी काम गर्न मन छ । 

हातको सीप आफू जहाँ गए पनि जान्छ र त्यो सीपले सधैँ साथ दिन्छ भन्ने लाग्छ उहाँलाई । भन्नुहुन्छ,‘मेरो हातमा सीप छ भने भोलिका दिनमा म बिहे गरेर अरूको घरमा गएपछि पनि खालि हात बस्न पर्दैन, मेरो सीपलाई कसैले पनि रोक्न सक्दैन, आफैँ कमाउने भएपछि कसैले दबाएर पनि राख्न सक्दैन ।’

विदेशमा कमाएर पूरा गर्न साँचेका सपना पनि ठुला छैनन् तुल्सीका । गरिबीको चपेटामा परेका बुवा आमालाई खुसी खुसी राख्न मन छ तुल्सीलाई ।

बुवा आमाका लागि एउटा सुन्दर घर बनाइदिन मन । अनि, त्यसपछि आफ्नो भविष्यका लागि पनि अलिअलि बचत गर्ने योजना बनाउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया