'ओमिक्राेन' भेरियन्ट : नाकामा निगरानी बढाउँदै सरकार

 मंसिर २०, २०७८ सोमबार १९:५७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' भेटिएकाे छ । हिजाे आइतवार (मङ्सिर १९) गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणमा दुई जनामा ओमिक्रोन पुष्टि भएको हो ।

नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पुष्टि भएको यो पहिलो पटक भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँले सङ्क्रमण पुष्टि भएकाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र सङ्क्रमितहरूमा कुनै लक्षण नभएको बताउनुभयो । सह प्रवक्ता अधिकारीकाअनुसार सङ्क्रमित दुवै जना स्वास्थ्यकर्मीको निगरानीमा रहेका र उनीहरूको सम्पर्कमा आएकाहरूलाई मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङ गरी छुट्याएर राखेको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका सबैको कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभयो ।

सहप्रवक्ता अधिकारीले भन्नुभयो, ‘अहिले पछिल्लो समय नयाँ भेरियन्टका रूपमा ओमिक्रोन देखिएको छ । याे भेरियन्ट अहिलेसम्म ३५ देशमा पाँच सय ७४ जनामा पुष्टि भएको छ । यिनै कुरालाई मध्यनजर गरेर नेपालमा विदेशबाट आउने मानिसहरूमा स्वास्थ्य अवस्था गम्भीर हुन सक्ने, अरू व्यक्तिमा सङ्क्रमण सर्न सक्ने कुरालाई मध्यनजर गरेर हामीले निगरानी बढाएका छौँ । अहिले विदेशबाट आउने व्यक्तिहरूलाई क्वरेण्टीनमा राख्ने परीक्षण गर्ने, रिपाेर्ट पोजेटिभ आए त्यसको सिक्वेन्सिङ गर्ने कामलाई बढाएका छौँ ।’

सहप्रवक्ता अधिकारीले सरकारले विभिन्न नाकामा निगरानी बढाएको बताउनुभयो । उहाँले यो भेरियन्टको लक्षण र असर पहिलेको भाइरस सरह नै भएको बताउनुभयो । सहप्रवक्ता अधिकारीले यसबाट बच्न मास्क लगाउने, सरसफाइमा ध्यान दिने, भाैतिक दुरी कायम गर्ने, हात धुने काम गर्नुपर्ने बताउनुभयो । उहाँले यसबाट जनस्वास्थ्यको सुरक्षाका लागि सरकारले खोपको व्यवस्थापन, स्वास्थ्यका मापदण्डमा केन्द्रित भएको र आवश्यक अस्पताल, शय्या र भेन्टिलेटर आदिको व्यवस्था पनि गरेको बताउनुभयो ।

सहप्रवक्ता अधिकारीका अनुसार छिमेकी देश भारतमा नयाँ भेरियन्टका सङ्क्रमित बढिरहेकाले नेपालमा पनि सङ्क्रमित बढ्न सक्ने सम्भाव्यतालाई मध्यनजर गरी विदेशबाट आउने नागरिकहरूलाई क्वरेण्टीनमा राख्ने व्यवस्था गरेको बताउनुभयो । उहाँले नयाँ भेरियन्टबाट बच्नको लागि देशभित्रै रहेका मानिसहरूले पनि स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेमा सङ्क्रमण बढ्नबाट रोक्न सकिने बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया