सीसीएमसीसीको सिफारिसअनुसार भेला, मेला महोत्सव र सभा सम्मेलनमा कडाइ गरिँदै

 पुस २६, २०७८ सोमबार ८:२३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना सङ्क्रमण बढ्न थालेपछि सरकारले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने भएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसअनुसार जमघट, भेला, सभा, सम्मेलन र मेला महोत्सवमा कडाइ गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले सीसीएमसीसीको सिफारिसलाई उच्च प्राथमिकता दिएर कार्यान्वयन गर्न लागिएको बताउनुभयो ।

सीसीएमसीसीको बैठकले बढी भीडभाड हुने सिनेमा घर, पार्क, सार्वजनिक ठाउँमा जाँदा अनिवार्यरूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

यस्तै राजनीतिक दललाई भीडभाड हुने कुनै पनि भेला तथा समारोहको आयोजना नगर्न र महोत्सवलगायत कार्यक्रम नगर्न बैठकले आह्वान गरेको छ । समितिले २५ जनाभन्दा बढी सहभागी हुने गरी कुनै पनि कार्यक्रमको आयोजना नगर्न आग्रह गरेको छ ।

बैठकले जिल्लाको अवस्था हेरेर थप कदम चाल्ने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । यस्तै आन्तरिक हवाई उडानका यात्रुलाई अनिवार्य खोप कार्डको व्यवस्था गर्न सिफारिस भएको छ । हवाई उडानका लागि विमानस्थल पुग्ने यात्रुले अनिवार्य खोप कार्ड देखाउनुपर्ने निर्णय भएको सीसीएमसीसीका प्रवक्ता एवम् सहसचिव सुनिता नेपालले जानकारी दिनुभयो ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा यात्रुको भीडभाड कम हुने गरी उडान तालिका मिलाउन पनि सीसीएमसीसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको छ ।

यस्तै सार्वजनिक ठाउँमा भेला र भीडभाड कम गर्न तथा होटेल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला प्रवेश गर्दा अनिवार्य रूपमा कोभिडविरुद्धको खोप कार्डले मात्रै प्रवेश दिने व्यवस्था मिलाउने निर्णय भएको छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया