काेभिड–१९ : काठमाण्डौसहित ५ जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा धेरै

 पुस ३०, २०७८ शुक्रबार ११:१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालका पाँच जिल्लामा कोभिड–१९ (कोरोना भाइरस) का सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा धेरै रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरणअनुसार काठमाण्डौ, ललितपुर, भक्तपुर, मोरङ र कास्कीमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा धेरै छ । 

यस्तै दुई सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका जिल्ला ६ वटा छ । मन्त्रालयका अनुसार सुनसरी, चितवन, मकवानपुर, बाँके, रुपन्देही र कैलालीमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सयभन्दा धेरै छ । 

यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेको जिल्ला मुगु मात्रै छ । केही दिनयता नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर बढेको छ । 

बढ्दै सङ्क्रमण दर  

यही पुसको २० गतेको स्वास्थ्य मन्त्रालयको दैनिक कोभिड–१९ विवरणले सङ्क्रमण दर चार दशमलव ११ प्रतिशत देखाएको थियो । त्यस दिन पीसीआर र एन्टिजेन गरी नौ हजार तीन सय २९ जनाको नमुना परीक्षण गर्दा तीन सय ९३ जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यसयता दिनहुँ बढिरहेको सङ्क्रमण दर हिजो बिहीवार पुस २९ गतेसम्म आइपुग्दा २३ दशमलव ५५ प्रतिशतमा पुगेको छ । हिजो पीसीआर र एन्टिजेन गरी १५ हजार ८१ जनाको नमुना परीक्षण भएकोमा २३ दशमलव ५५ अर्थात् तीन हजार पाँच सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि दिनहुँ बढिरहेको छ । यही पुसको २० गतेसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ९४ जना रहेकोमा हिजो बिहीवारसम्म त्यो सङ्ख्या १४ हजार तीन सय ४० पुगेको मन्त्रालयले जनाएको छ । 

कोरोना सङ्क्रमण बढेसँगै अस्पतालमा कोभिड बिरामीको सङ्ख्या थपिँदै गएको छ । अहिले अस्पतालमा कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिहरू जाने क्रम बढेको छ । अहिले घाँटी र जिउ दुख्ने, थकान महसुस हुने, रुघाखोकी र ज्वरो सहितका लक्षण लिएर मानिसहरू अस्पताल आइरहेका स्वास्थ्यकर्मीले बताएका छन् ।

सरकारले कोरोना सङ्क्रमणबाट बच्न कोरोना खोप लगाउन र स्वास्थ्य मापदण्ड पालना गर्न नागरिकलाई आग्रह गर्दै आइरहेको छ । योसँगै सरकारले कोभिडसम्बन्धी विभिन्न निर्देशन दिएर पालना गराउन विभिन्न निकायलाई आग्रह गरेको छ । 

यसैबीच कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि खतरनाक भाइरस भएको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्नोहम गेब्रेयससले बताउनुभएको छ । ओमिक्रोन डेल्टा भन्दा कम गम्भीर भाइरस भए पनि यो भाइरस विशेषगरी खोप नलगाएकाहरूका लागि भने खतरनाक नै हुने बताउनुभएको हो । उहाँले ओमिक्रोनको सङ्क्रमण दर तीव्र रहेको र सबैतिर फैलिएकाले सतर्क रहन समेत आग्रह गर्नुभएको छ । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया