नेपालमा कोरोना सङ्क्रमित घट्दै जाँदा ज्यान गुमाउनेको सङ्ख्या बढ्दै

 माघ २०, २०७८ बिहिबार १९:४१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा केही दिनयता काेभिड–१९ (कोरोना भाइरस) का नयाँ सङ्क्रमितको सङ्ख्या घट्दै गए पनि ज्यान गुमाउनेको सङ्ख्या भने बढ्दै गएको छ । 

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १४ जनाले ज्यान गुमाएका छन् । तीन हजार एक सय ७५ जना नयाँ सङ्क्रमित थपिएकामा १४ जनाले ज्यान गुमाएका हुन् । गएको बिहीवार पनि एकै दिन १५ जनाले ज्यान गुमाएका थिए । तर त्यो दिन कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आजभन्दा झन्डै तीन गुणा बढी थियो । त्यसपछि एक हप्ताको तुलनामा कोरोनाका नयाँ थपिनेको तुलनामा ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ ।  

गएको १४ गते शुक्रवार ६ हजार आठ सय २७ जनामा सङ्क्रमण पुष्टि भएकोमा १० जनाको ज्यान गएको थियो । यस्तै शनिवार चार हजार नौ सय चार जनामा सङ्क्रमण पुष्टि भएकोमा ६ जनाको ज्यान गएको थियो । आइतवार तीन हजार पाँच सय ४० जनामा सङ्क्रमण पुष्टि भएकोमा ३२ जनाको ज्यान गएको विवरण प्राप्त भएको थियो । यस्तै १७ गते साेमवार पाँच हजार दुई सय ९२ जना सङ्क्रमित थपिएकामा आठ जनाको ज्यान गएको थियो । अस्ति मङ्गलवार १८ गते पाँच हजार पाँच सय ८३ जनामा सङ्क्रमण पुष्टि भएकाेमा नौ जनाको ज्यान गएको थियो । 

केही दिनयता थपिएका सङ्क्रमितको तुलनामा ज्यान गुमाउनेको सङ्ख्या बढ्नुको कारण सङ्क्रमितमा जटिलता हुने क्रम बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारी बताउनुहुन्छ । अहिलेका कोेरोना सङ्क्रमित केही दिनमै निको हुने भएकाले सङ्क्रमण घटेका र जटिलता अलि लामो समय रहने भएकाले अहिले ज्यान गुमाउनेको सङ्ख्या बढेको उहाँले बताउनुभयो ।

यस अगाडिका दुई वटा महामारीमा पनि ज्यान गुमाउनेको सङ्ख्या सङ्क्रमितको सङ्ख्या उच्च विन्दुमा पुगेर घट्न थालेपछि देखिएको उहाँले बताउनुभयो । अब बिस्तारै केही दिनमा ज्यान गुमाउनेको सङ्ख्या पनि घट्दै जाने अनुमान गरिएको डा. अधिकारीले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया