यूएई र साउदी अरेबियामा अलपत्र नेपाली श्रमिकको उद्धार

 माघ २४, २०७८ सोमबार २०:२५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाैकाे टोखामा रहेकाे ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिबाट पर्यटन भिसामा यूएई गई अलपत्र परेका नेपालीकाे उद्धार भएकाे छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले तत्काल उद्धार गर्न चेतावनी दिएपछि त्यही म्यानपावरले आज आठ जनालाई उद्धार गरी नेपाल ल्याएको हाे ।

यसरी नेपाल फर्कनेमा तनहुँका राजीव सुनुवार र ज्ञानेन्द्र रानाभाट, गोरखाका सुनिल पन्थ र रमेशजंग शाह, डडेल्धुराका शिवराज पन्त, मोरङका चिरायु सरदार, सुर्खेतका झकबहादुर थापा र सङ्खुवासभाका सन्तोष चम्लागाई रहेका छन् । यूएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट सात लाख ५० हजार रुपैयाँका दरले रकम लिएर यूएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा म्यानपावरका सञ्चालक भीम गुरुङलाई मन्त्रालयले गठन गरेको 'मार्शल टोली' ले पक्राउसमेत गरेको थियो ।

यसैबीच केही समयअघि साउदी अरेबियामा बिरामी परि अलपत्र परेका जाजरकोटका आइस रानाको साउदी अरबको जेद्धामा स्वास्थ्य उपचार गरी आज स्वदेश फर्काइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरबमा रहेकाे जेद्धामा कोठामा छटपटाइरहेका श्रमिकको सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि चासो राख्दै उपचार र उद्धारका लागि पहल गर्नुभएको थियो । नेपाली दूतावासका कर्मचारी र श्रम सहचारीको टोलीले उनको उद्धार गरी स्थानीय अस्पतालमा उपचार गरेको थियो । रानासहित साउदी अरेबियामा अलपत्र परेका चार नेपालीलाई आज स्वदेश फिर्ता गरिएको नेपाली काउन्सिलर शत्रुधन पोखरेलले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया