यूएईमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई मधेशी एकता समाजकाे आर्थिक सहयाेग

 फागुन ११, २०७८ बुधबार १८:३१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वैदेशिक राेजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) मा ज्यान गुमाएका याेगेन्द्र भेडिहरकाे परिवारलाई मधेशी एकता समाजले एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । समाजको नेपाल इकाइकी अध्यक्ष डा. बबीसिंह यादवले फागुन ११ गते आज बुधवार धनुषाकाे सबैला नगरपालिका १२ रघुनाथपुरमा रहेकाे मृतक भेडिहरको घरमा पुगेर आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो । 

अध्यक्ष डा. यादवले मृतकी पत्नी रुबी राउतलाई एक लाख ४० हजार रुपैयाँको चेक र १० हजार रुपैयाँ नगद हस्तान्तरण भयो । मृतकका श्रीमती र नौ महिनाकी छोरी छन् भने परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर छ । 

मधेशी एकता समाजका संस्थापक एवम् सल्लाहकार डा. रविन्द्र कुमार यादवका अनुसार मृतकको शवलाई नेपाल फर्काउने काममा समेत समाजले आर्थिक सहयोग गरेको थियो । मधेशी एकता समाज संसारभरि छरिएर रहेका नेपालका मधेशी प्रवासीहरूमाझ एकताको भावनालाई सञ्चार गर्दै उनीहरूको सुख–दुःखमा साथ दिन सन् २०२१ मा दुबईमा स्थापना भएको हो ।    

मृतक भेडिहार भ्रमण भिसामा यूएई जानुभएकाे थियाे । भ्रमण भिसामै रहेका बेला उहाँले जागिर पाउनुभयाे । तर श्रम स्वीकृति र जीवन बीमासहित अन्य जरुरी कागजात उहाँसँग थिएन । सधैँझैँ कामबाट फर्किएर राति सुत्न जानुभएका भेडिहारको गएकाे पुस ५ गते राति सुतेकै अवस्थामा ज्यान गएकाे थियाे । कागज दुरुस्त नभएकाले उहाँको शव नेपाल फर्काउन निकै कठिनाइ भयो । मृतक भेडिहारले काम गर्ने कम्पनीले आवश्यक कागजातको अभाव र कानुनी व्यवस्थाका कारण उहाँकाे शव स्वदेश पठाउन अस्वीकार गर्‍याे । मृतकसँग श्रम स्वीकृति नरहेको र बीमासमेत नरहेकाले पहलकर्ताहरूले प्रशासनिकका साथै आर्थिक कठिनाइको सामना गर्नुपर्‍याे ।

विभिन्न मधेशी संस्थाहरूले हातेमालो गर्दै उहाँको शव नेपाल फर्काउने अभियान सुरु गरे । त्यसमा जोडिँदै मधेशी एकता समाजका उपाध्यक्ष श्रीकृष्ण ठाकुरले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी मृतकको शव फागुन ४ गते राति नेपाल वायु सेवा निगमको जहाजबाट स्वदेश पठाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । मृतक भेडिहरको दाहसंस्कार उहाँकै गाउँ रघुनाथपुरमा फागुन ५ गते गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया