पत्रकार उमाकान्त पाण्डेको रिहाइका लागि महासङ्घको पहल

 फागुन १९, २०७८ बिहिबार ८:५०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दुबईमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार उमाकान्त पाण्डेको रिहाइका लागि नेपाल पत्रकार महासङ्घले पहल थालेको छ ।

पाण्डेको तत्काल  रिहाइका लागि पहल गरिदिन महासङ्घले परराष्ट्र मन्त्री नारायण खड्कालाई ध्यानाकर्षण गराउँदैछ । सामाजिक सञ्जाल फेसबुकमार्फत यूएईमा रहेको नेपाली दूतावासको आलोचना गरेको आरोपमा पत्रकार पाण्डेलाई त्यहाँको अदालतले तीन महिना जेल सजाय र झण्डै ८ लाख रुपैयाँ जरिबाना सुनाएकाले रिहाइका लागि पहल थालिएको महासङ्घका  महासचिव रोशन पुरीले जानकारी दिनुभयो ।

अदालतले तीन महिना कैद सजाय र सात लाख ९९ हजार चार सय रुपैयाँ जरिबानासहित पाण्डेका सबै सामग्री जफत हुने र सामाजिक सञ्जाल फेसबुक पनि बन्द गरिने फैसला सुनाएको छ । यस्तै, सजाय भुक्तानीपछि  यूएई सरकारले देश निष्कासन (डिपोर्ट) गर्ने फैसला गरेको छ ।

गएको जनवरीमा पाण्डेले यूएईमा रहेको नेपाली दूतावासको गतिविधिको आलोचना गर्दै फेसबुकमा स्टाटस लेख्नु भएको थियो । यही स्टाटसकै कारण दूतावासका कर्मचारीले पाण्डे विरुद्ध दुबई प्रहरीमा उजुरी दिएका परिवारले बताएका छन् ।

गएको ३  गते पाण्डेलाई प्रहरीले पक्राउ गरेर अबुधाबीमा रहेको अलवाथ्बा जेलमा राखिएको थियो । सामाजिक सञ्जालमा स्टाटस लेखेकै विषयलाई कसुर ठहर गरी सजायकाे फैसला गरिनु अभिव्यक्ति स्वतन्त्रता विपरीत भएको महासङ्घका महासचिव पुरीले बताउनुभयो । उहाँले यो फैसलाको विरोध गर्दै फैसला विरुद्ध अपिल गर्ने पनि बताउनुभयो ।

दुबईको कानुनअनुसार फैसला चित्त नबुझे फैसला भएको १४ दिनसम्म अदालतविरुद्ध उच्च अदालतमा अपिल गर्न सकिन्छ । पाण्डे केही वर्षयता परिवारसहित दुबईमा बस्दै आउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया