नेपाल-यूएई संयुक्त समितिको दोस्रो बैठक सम्पन्न, नेपाली श्रमिक र राेजगारीकाे विषयमा छलफल

 चैत २, २०७८ बुधबार १०:३२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल-यूएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा सम्पन्न भएको छ । आबुधावीमा रहेकाे यूएईकाे मानव संशाधन मन्त्रालयमा भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठकका निर्णय कार्यन्वयनको अवस्थाबारे समीक्षा भएकाे श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएकाे छ ।

बैठकमा नेपाल सरकारले दक्ष जनशक्ति उत्पादन गर्ने ध्येयले स्थापना गर्न लागेको सीप विकास केन्द्रलाई सहयोग गर्ने प्रतिबद्धता यूएईले गरेको छ । साथै यूएईमा रोजगारी गरी नेपाल फर्केका श्रमिकहरुलाई सहयोग गर्ने गरी सञ्चालन हुने पुनर्एकीकरण योजनामा नेपाल सरकारको प्रस्ताव अनुसार सहयोग गर्ने प्रतिबद्धता पनि यूएईले जनाएको छ । यूएईमा रहेका नेपालीहरुलाई कामका आधारमा विभिन्न १९ क्षेत्रमा वर्गीकरण गरी त्यसमध्ये ५ वटा क्षेत्रमा श्रमिक भर्ना प्रकृया पूर्णत नि:शुल्क गर्ने गरी पाइलट प्रोजेक्ट अघि बढाउन पनि यूएई सहमत भएको छ ।

पहिलेकै रोजगारदातासँग सम्झौता नवीकरण गरी बिदामा स्वदेश आई फर्कने वा पहिलेकै रोजगारदातासँग सम्झौता नवीकरण गरी रोजगारीमा जाने महिलालाई कानुनी शर्त पूरा गरेर पुन: श्रम स्वीकृति दिने सरकारको निर्णयबारे यूएई पक्षलाई नेपाली टोलीले जानकारी गराएको थियो ।

बैठकमा वैदेशिक रोजगारीका क्रममा यूएईमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र बीमाको व्यवस्था, सीप विकास, पारिश्रमिक वृद्धि लगायतका विषयमा पनि छलफल भएकाे मन्त्रालयले जनाएकाे छ ।  साथै रोजगारीको प्रलोभनमा परि पर्यटन भिसामा आएर अलपत्र परेका नेपालीहरुको समस्या समाधानबारे पनि बैठकमा छलफल भएको थियो । यूएई जाने नेपाली श्रमिक लक्षित सीपमुलक तालिम सञ्चालन गर्ने, इन्जिजियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक क्षेत्रका श्रमिक लैजान देखिएका समस्या समाधान गर्ने, सामाजिक सुरक्षा योजना विस्तार गर्ने लगाएका विषयमा पनि छलफल भएको छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सहसचिव राजीव पोखरेलले गर्नुभएको थियो । बैठकमाउपसचिव डा।थानेश्वर भुषाल र श्रम सहचारी निर्मला थापा हुनुहुन्थ्यो भने यूएईका मानव संशाधन मन्त्रालयका सचिव अब्दुल्लाह अलनायमी, अन्तर्राष्ट्रिय सम्वन्ध विभागका निर्देशक अब्दल्लाह अल्सामी, अन्तर्राष्ट्रिय सम्वन्ध विज्ञ राशा सालेह हुनुहुन्थ्यो । नेपाली श्रमिकको सुरक्षा र हितबारे मंगलवार नैश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र यूएईका मानव संशाधन मन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारबीच छलफल भएको थियो ।
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया