यूएईको जेलमा रहेका पत्रकार पाण्डेको रिहाइको लागि माइतीघरमा धर्ना

 चैत २६, २०७८ शनिबार १४:८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यूएईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको लागि काठमाण्डौको माइतीघरमा धर्ना कार्यक्रम सम्पन्न भएको छ । फेसबुकमा स्टाटस लेखेकै कारण पाण्डेलाई नेपाली दूतावास र राजदूत कृष्णप्रसाद ढकालले नै षड्यन्त्र गरेर जेल पठाएको भन्दै उहाँको रिहाइको लागि युथ कंग्रेसको आयोजनामा धर्ना कार्यक्रम भएको हो ।

धर्नामा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले दूतावास र राजदूतले आफ्ना देशका नागरिकको संरक्षण गर्नुपर्नेमा उजुरी नै गरेर जेल पठाउनु अक्षम्य अपराध भएको बताउँदै पत्रकार पाण्डेलाई रिहाइको लागि परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने र राजदूतलाई तत्कालै फिर्ता बोलाउनुपर्ने बताउनुभयो । पत्रकार पाण्डेलाई जेल हाल्नको लागि राजदूत ढकालले नै यूएईको प्रशासनलाई लेखेको पत्र महासंघले प्राप्त गरेको भन्दै अध्यक्ष पोख्रेलले अख्तियारको दूरुपयोग र आफ्नै नागरिकलाई विदेशको जेल हाल्न षड्यन्त्र गर्ने राजदूतलाई पदमा बस्ने कानुनी आधार र नैतिकता नभएको बताउनुभयो ।

पत्रकार पाण्डेले नेपालमा रहँदा गएकाे जनवरी ७ (पुस २३) गते सामाजिक सञ्जालमा भिजिट भिसामा नेपाली राजदूतावासको संलग्नता रहेको आशयमा स्ट्याटस लेख्नुभएको थियो । फेसबुकमै लेखेको आधारमा पत्रकारलाई जेल पठाइनु संविधानमा भएका मौलिक हककै उल्लंघन भएको पनि पोख्रेलको भनाइ छ । धर्नामा एमनेष्टी इन्टरनेशल नेपालकी महासचिव सञ्चिता कुइँकेल, पत्रकार महासंघ यूएईका पूर्व अध्यक्ष भुपराज बस्याल  लगायतले पनि राजदूतले पदको दुरुपयोग गरेर पत्रकार उमाकान्त पाण्डेलाई जेल पठाएको भन्दै सरकारले तत्कालै कदम चाल्नुपर्ने बताउनुभयो । 

धर्नामा ‘वाक स्वतन्त्रता हनन् : लोकतन्त्रको उपहास', 'पराइ भूमिमा आफ्नैबाट नागरिक असुरक्षित', 'परराष्ट्रको मौनता : राजदूतलाई हौसला' लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरिएको थियो । 

यूएईको नेपाली दूतावासलाई लक्षित गरेर सामाजिक सञ्जाल फेसबुकमा लेखेको कारण देखाइ दुबईको अदालतले पत्रकार पाण्डेलाई २० हजार दिराम जरिबाना र सम्पत्ति जफतसहित देश निकाला गर्ने कारबाही सुनाएसँगै उहाँ त्यहाँको जेलमा रहनुभएको छ ।  

 

 


अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Yubaraj Kandel

    April 9, 2022, 5:11 p.m.

    उमाकान्त पाण्डे लामो समय उज्यालोको लागि कामगरेका पत्रकार हुन्. उनले लेखेका न्युज/स्टोरी उज्यालोका साइटमा छन्. उनि पक्राउ परेपछि उज्यालोका सम्बन्धित व्यक्तिहरुलाई जानकारी गराउदा र रिहाईको लागि पहल गरिदिन अनुरोध गर्दा पनि कुनै सहयोग प्राप्त नहुनु दुखद कुरा हो. पत्रकार महासंघ र अरुले रिहाईको लागि पहल गरेपछि बल्ल उज्यालोमा उमाकान्तको बारेमा २/३ वटा समाचार आएका हुन्. उज्यालोले अझैपनि हाम्रो / हाम्रोलागी काम गरेको पत्रकार भन्न सकेको पाइदैन. किन हो कुन्नि?

  •  0 Reply

तपाईको प्रतिक्रिया