कन्सलटेन्सीमार्फत वैदेशिक रोजगार ठगी बढ्यो, सचेत हुन विभागको आग्रह

 बैशाख १३, २०७९ मंगलबार १५:४८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीको प्रलोभन देखाइ पछिल्लो समय विभिन्न कन्सलटेन्सीबाट ठगी बढेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

शैक्षिक परामर्श लगायतका विभिन्न उद्देश्य राखी खोलिएका केही कन्सलटेन्सीले वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा पारेर विभिन्न व्यक्तिहरूबाट मोटो रकम असुल गरी ठगी भइरहेको भन्दै विभागले यस्तो कार्यमा संलग्न केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ ।

पछिल्लो समय विभागमा कन्सलटेन्सीमार्फत भएका ठगीको उजुरीसमेत बढेको छ ।

विभागका अनुसार, अनुसन्धानको क्रममा कन्सलटेन्सीहरुले रकम कारोबार नगदमा गर्ने वा संस्थामा कार्यरत कर्मचारीको खातामा जम्मा गर्न लगाउने, गैर कानुनी असुलीको प्रमाण नष्ट गर्ने उद्देश्यले कारोबार लुकाउने, नक्कली कर्मचारी र शाखा खडा गर्ने तथा ठगीमा संलग्न सञ्चालक फरार हुने वा विदेशमै बस्ने गरेको पाइएको छ । 

विभागले यस्ता संस्थामा कार्यरत कर्मचारीलाई समेत सचेत रहन आग्रह गरेको छ भने  कन्सलटेन्सीको दर्ता गर्ने तथा इजाजत दिने निकायहरूलाई सङ्घसंस्थाको अनुगमन र निगरानीलाई बढाई कारबाहीको दायरामा ल्याउन विभागले अनुरोध गरेको छ । 

वैदेशिक रोजगार विभागबाट स्वीकृति नलिई कुनै पनि संस्थाले वैदेशिक रोजगारी सम्बन्धी कार्य गर्न पाउँदैनन् । कानुनी विपरीतका यस्ता कार्य गरेमा वैदेशिक रोजगार ऐन अनुसार कम्तीमा तीनदेखि सात वर्षसम्म कैद सजाय सहित अन्य सजायको समेत व्यवस्था रहेको छ । 

विभागले वैदेशिक रोजगारीमा जान चाहनेहरूलाई पनि श्रम स्वीकृति लिएर मात्र जान, विभागको वेबसाइटमार्फत वैदेशिक रोजगारीमा पठाउन लागेको संस्थाले इजाजत लिएको छ कि छैन भनेर जाँच गर्न समेत अनुरोध गरेको छ । 

साथै कुनै पनि कन्सलटेन्सीहरुले वैदेशिक रोजगारीमा पठाइदिने भनी प्रलोभन देखाइ रकम मागेमा भ्रममा नपर्न र यदि यस्तो गरेमा तुरुन्त सम्बन्धित निकायमा खबर गर्न समेत विभागले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया