श्रममन्त्री नेतृत्वको टोली बुधबार मलेसिया जाने

 बैशाख १३, २०७९ मंगलबार १६:४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधबार मलेसिया जाने भएको छ ।

मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा उहाँ चार दिने मलेसिया भ्रमणमा जान लाग्नुभएको श्रम मन्त्रालयले जनाएको छ । 

यस्तै श्रममन्त्री श्रेष्ठसँग नेपालमा रहेको मलेसियाको राजदूतावासका कार्यवाहक राजदूत मोहम्मद फ्याजलले मन्त्रालयमा भेटवार्ता गरेका छन्  । भेटवार्तामा द्विपक्षीय हितका साथै सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ । 

भेटमा मन्त्री श्रेष्ठले भ्रमणबाट दुई देशको मित्रता र आपसी सहयोगमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । मलेसियाका कार्यवाहक राजदूत फ्याजलले उहाँको मलेसिया भ्रमण र त्यसका एजेण्डाबारे छलफल गर्नुभएको थियो । 

मन्त्री श्रेष्ठका साथमा  सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव थानेश्वर भुसालसहितको टोली बुधबार दिउँसो मलेसिया जाने कार्यक्रम छ । भ्रमणका क्रममा मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी मुरुगनसँग भेटवार्ता गर्नुहुनेछ भने सचिव अर्यालले मलेसियाको गृह मन्त्रालयका सचिव र सामाजिक सुरक्षा सङ्गठनका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

साथै भ्रमणका क्रममा नेपालमा आयोजना हुने  नेपाल–मलेसिया संयुक्त समितिको बैठकका एजेण्डा तय गरिनेछ । 

वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने र श्रम सम्झौताको प्रावधान प्रभावकारी कार्यान्वयनका विषयमा नेपाली प्रतिनिधिमण्डलले छलफल गर्ने मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा मलेसियामा रहेका नेपाली समुदायसँग समेत छलफल गर्ने कार्यक्रम छ । मलेसिया नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुकका रूपमा रहेको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया