श्रममन्त्री श्रेष्ठ र मलेसियाका गृहमन्त्रीबीच भेटवार्ता : नेपाली सुरक्षागार्डको तलब ३ हजार रिंगिट बनाउन प्रस्ताव

 बैशाख १७, २०७९ शनिबार १३:१८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मलेसियाको भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुहुन्छ । आज मन्त्री श्रेष्ठले मलेसियाका गृहमन्त्री हमजाह वीन जैनुदिनसँग द्विपक्षीय भेटवार्ता गर्नुभयो ।

मलेसियाकाे पुत्रजयामा रहेकाे गृहमन्त्रालयमा भएको भेटवार्तामा उहाँहरुबीच नेपाल– मलेसिया सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको छ । मन्त्री श्रेष्ठले मलेसियामा रहेका नेपाली सुरक्षागार्ड सहित अन्य श्रमिकको सेवा सुविधा र अधिकारको विषयमा गृहमन्त्री जैनुदिनसँग छलफल भएको बताउनुभयो । श्रेष्ठले नेपाली सुरक्षागार्डको मासिक तलब ३ हजार मलेसियन रिंगिट हुनुपर्ने प्रस्ताव गर्नुभएको छ । नेपाली कामदार मेहनती र इमान्दार हुने चर्चा गर्नुहुँदै गृहमन्त्री जैनुदिनले गोर्खा गार्ड्सका रूपमा मलेसियामा नेपालीहरूको राम्रो प्रभाव रहेको बताउनुभएको थियो ।

नेपाली युवाहरूलाई सीपयुक्त बनाइ थप रोजगारीका अवसरहरू प्रदान गर्ने, शून्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबिसै घण्टा प्रभावकारी हुने बिमा सुविधाको व्यवस्थाबारे पनि उहाँहरुबीच छलफल भएको थियो । नेपालमा सुरक्षा गार्ड सम्बन्धी तालिमको व्यवस्था गरी सीपयुक्त बनाउनेबारे समेत उहाँहरुबीच छलफल भयो ।

नेपालबाट सुरक्षागार्डमा जानेहरूमा पूर्वसेना वा पूर्वप्रहरीका साथै आधारभूत तालिम लिएका युवाहरु छन् । पूर्वगोर्खा ब्रिटिश सैनिकको प्रभावका कारण मलेसियामा गोर्खा गार्ड्सका रूपमा नेपालीप्रति उच्च सद्भाव रहेकोले समयानुकूल तालिम दिएर व्यावसायिक विकास गर्नेतर्फ ध्यान दिनुपर्ने भेटवार्तामा सहभागी मन्त्रालयका सचिव एकनारायण अर्यालले बताउनुभयो ।

छलफलमा भएका विषयलाई औपचारिकता दिन छिट्टै द्विपक्षीय समझदारी हुनेछ । भेटवार्तामा कार्यवाहक राजदूत मोतिबहादुर श्रीस पनि सहभागी हुनुहुन्थ्यो । यसअघि मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी सेरी एम सराभननसँग गर्नुभएको द्विपक्षीय बैठकमा श्रम सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्ने सहमति भएको थियो । साथै नेपाल र मलेसियाबीच संयुक्त कार्यदलको तेस्रो बैठक छिटै काठमाण्डौमा गर्ने सहमति पनि भएको छ ।

मन्त्री श्रेष्ठको नेतृत्वमा भएको उच्चस्तरीय टोलीले मलेसियाकाे सामाजिक सुरक्षा संस्था (सोस्को) समेत भ्रमण गरेको थियो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया