श्रम मन्त्रीको पाँच दिने मलेसिया भ्रमण सकियो, यस्ता भए निर्णय :

 बैशाख १९, २०७९ सोमबार १७:३३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसहित प्रतिनिधिमण्डलको पाँच दिने मलेसिया भ्रमण सकिएको छ । गएको बैशाख १४ देखि जारी पाँचदिने मलेसिया भ्रमणमा आज सम्पन्न भएको हो । 

श्रम मन्त्रीको नेतृत्वमा रहेको टोलीमा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजिव पोखरेल र उपसचिव डा. थानेश्वर भुसाल सम्मिलित हुनुहुन्थ्यो । टोलीले मलेसियाका मानव संसाधन मन्त्री दातुक सेरी एम सराभनन, गृह मन्त्री हम्जाह बिन जैनुदिन र त्यहाँकाे सामाजिक सुरक्षा संगठनका महासचिवसँग द्विपक्षीय बैठक गरेको छ । बैठकमा मानव संसाधन मन्त्रीसँग मलेसियामा रहेका नेपाली श्रमिकका समग्र विषय तथा गृहमन्त्री जैनुदिनसँग मलेसियामा कार्यरत नेपाली  सुरक्षा गार्डको तलब बढाउने लगायतका विषयमा छलफल तथा निर्णय भएका श्रम मन्त्रालयले जनाएको छ । 

मलेसियाका मानव संशाधन मन्त्रीसँगको उच्चस्तरीय बैठकमा नेपाल र मलेसियाबीच सन् २०१८ मा हस्ताक्षर भई हाल कार्यान्वयनमा रहेको द्विपक्षीय समझदारीपत्रलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने सहमति भएको छ । यस्तै, मलेसियाको श्रमबजारको आवश्यकता बमोजिम नेपाली युवाहरुलाई सीपयुक्त बनाई थप रोजगारीका अवसरहरु प्रदान गर्ने र रोजगारीको लागि युवाहरुको छनौट तथा नियुक्तिलाई शून्य लागतसहितको स्वच्छ नियुक्तिको सिद्धान्तलाई थप प्रभावकारी बनाउने निर्णय भएको छ । मलेसियामा रोजगारीमा रहेका नेपाली नागरिकहरुको स्वास्थ्य, सामाजिक सुरक्षा र सामाजिक कल्याणलाई थप सवलीकरण गर्ने कुरामा पनि छलफल भएको मन्त्रालयले जनाएको छ । 

यस्तै, मलेसियमा रोजगारी गरिरहेका नेपाली नागरिकलाई चौबिसै घण्टा प्रभावकारी हुने बीमा सुविधाको व्यवस्था गर्ने, नेपाली श्रमिकहरुलाई आफ्ना अधिकार र आफूले पालना गर्नुपर्ने शर्तहरुको विषयमा मलेसिया प्रवेश गर्नुअघि नै सचेतनामूलक तालिम प्रदान गर्ने कुरामा पनि छलफल भएको छ । नेपाल–मलेसिया श्रम समझदारीपत्र अनुसार नेपालले आयोजना गर्नुपर्ने द्विपक्षीय संयुक्त कार्यसमितिको बैठक आगामी जुन महिनाभित्र गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । 

यस्तै, मलेसियाका गृह मन्त्रीसँगको उच्चस्तरीय बैठकमा नेपाली सुरक्षागार्डहरुले पाइरहेको सेवा सुविधा कम भएकोले कम्तिमा तीन हजार मलेसियन रिङ्गेट बनाइदिन आग्रह गर्नुभएको छ । यस्तै, मलेसियामा आवश्यक पर्ने सुरक्षागार्डमा नेपालीहरुलाई नेपालमा नै सीपयुक्त तालिम प्रदान गर्ने विषयमा पनि निर्णय भएको छ । यस्तै, नेपाल र मलेसियाबीच आगामी जुन महिनाभित्र गरिनेसंयुक्त कार्यदलको तेस्रो बैठकबाट नेपाली नागरिकलाई मलेसियाका सुरक्षा क्षेत्रमा रोजगारी दिन विशेष व्यवस्था मिलाउन सिफारिस गर्ने निर्णय पनि भएको श्रम मन्त्रालयले जनाएको छ । यस्तै, मलेसियामा कार्यरत नेपाली श्रमिकको स्वास्थ्य उपचारमा विशेष ध्यान दिन, सामाजिक सुरक्षा र कल्याणका क्षेत्र लगायतका सुविधाहरुको प्रबर्द्धन गराउने लगायतका विषयमा पनि छलफल भएको छ ।

यस्तै, मन्त्रीस्तरीय टोली र मलेसियाको सामाजिक सुरक्षा संगठनका महासचिव सम्मिलित बैठकमा मलेसियाको सामाजिक सुरक्षा प्रणालीमा बढी भन्दा बढी नेपाली कामदारलाई आवद्ध गराउन कामदारका लागि सचेतनामूलक र रोजगारदाताहरुको लागि जानकारीमूलक कार्यक्रमहरु सञ्चालन गर्नेबारे छलफल भएको मन्त्रालयले जनाएको छ । यस्तै, नेपाली कामदारहरुले कार्यस्थलमा दूर्घटना हुँदा मात्र सामाजिक सुरक्षा संगठनको कार्यदायरामा आउने प्रावधानमा परिमार्जन गरी श्रम इजाजत कायम रहेको जुनसुकै समयमा हुने भवितव्यलाई समावेश गर्ने बारे पनि निर्णय भएको छ । यस्तै, नेपालको वैदेशिक रोजगार बोर्ड र मलेसियाको सामाजिक सुरक्षा संगठनबीच तथ्याङ्क आदानप्रदान गर्न वैदेशिक रोजगार विभागले सञ्चालन गरेको वैदेशिक रोजगारी सूचना व्यवस्थापन प्रणाली एफईआईएमससँग तादत्म्यता कायम गर्ने विषयमा पनि छलफल भएको छ ।

यस्तै, उच्चस्तरीय भ्रमणदलले नेपाली दूतावास क्वालालुम्पुरको निरीक्षण गरी दूतावासबाट हुने सेवा प्रवाहको सम्बन्धमा समेत जानकारी लिएको छ । मन्त्रीस्तरीय मलेसिया भ्रमण नेपाली नागरिकलाई मलेसियमा थप रोजगारीका अवसरहरु प्राप्त गर्न र त्यहाँ कार्यरत नेपालीहरुको रोजगारीसँग सम्बन्धित हित अभिवृद्धि गर्ने सन्दर्भमा अत्यन्त फलदायी रहेको मन्त्रालयले जनाएको छ ।
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया