‘कि गाडी चलाउनुहोस्, होइन भने यो पेशा नै नगर्नुहोस्’

गाडी नचलाए कारवाही हुन्छ : प्रजिअ

 असोज ५, २०७५ शुक्रबार ७:४७:२९ | किरण लोहनी
unn.prixa.net

गोरखा – असोज ३ गते देशका धेरैजसो जिल्लामा भाडाका गाडी नचले पनि गोरखामा भने फाट्टफुट्ट चलेको थियो । विहीबार भने यहाँको बस सेवा पनि ठप्प भयो । गाडी नचलेपछि सडकमा विचल्लीमा परेका यात्रीले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई फोन गरे । लगत्तै प्रजिअ भट्टराई सदरमुकामको बसपार्कमा पुग्नुभयो र त्यहाँ जम्मा भएका चालकलाई बस चलाउन आग्रह गरेर कार्यालय फर्किनुभयो । 

उहाँले आग्रह गरेको तीनघण्टासम्म पनि चालकले बस चलाएनन् । बिहान बस काउन्टरमा पुगेका बेला भट्टराईले चालकहरुको नाम र टेलिफोन नम्बर टिपेर ल्याउनुभएको थियो । प्रजिअ भट्टराईले चालकको विवरणसहित प्रहरीलाई निर्देशन दिनुभयो, “यी चालकहरु कता छन् पत्ता लगाएर पक्राउ गर्नु ।”
बस नचलाउने चालकलाई प्रशासनले पक्राउ गर्न लागेको खबर जिल्लाका मजदुर नेता र केही राजनीतिक कार्यकर्ताको कानमा पुग्यो । उनीहरुकै सक्रियतामा प्रजिअ र चालकका प्रतिनिधिबीच दिउँसो छलफल भयो ।

छलफलमा चालकहरुले भने, “हामी त बस चलाउन चाहन्छौं तर असुरक्षाका कारण चलाउन सकेनौं ।” असोज ३ गते पृथ्वीराजमार्ग अन्तर्गत धादिङ क्षेत्रमा चालकहरुमाथि हड्तालमा उत्रिएका अन्य चालकले दुव्र्यवहार गरेका थिए । केही सवारी साधन तोडफोड गरिएको थियो । 

चालकका कुरा सुनेपछि प्रजिअ भट्टराईले भन्नुभयो, “धादिङमा असुरक्षा छ भने त्यहाँका सिडिओसँग कुरा गरौंला तर अहिलेका लागि कम्तीमा जिल्लाभित्रका रुटमा त गाडी चलाउनुहोस्, सुरक्षाको चिन्ता लिनु पर्दैन ।” चालकहरु बस चलाउन राजी भए । जिल्ला प्रशासनबाट निस्कनै लागेका चालकका नेताहरुलाई प्रजिअको भनाई थियो, “कि बस चलाउनुहोस् होइन भने म यो पेशा गर्दिनँ भनेर आफ्ना गाडी धनीलाई निवेदन दिनुहोस्, त्यसको जानकारी प्रशासनलाई पनि गराइदिनुहोस् ।” 

तर हिजो बिहीबार दिउँसैबाट गाडी चलाउँछु भनेर निस्किएका चालकहरुले अहिले बिहानसम्म पनि बस चलाएनन् । बिहान साढे ५ बजेबाटै जिल्लाबाट लामो तथा छाटो दूरीका बस छुट्ने गरेकोमा सदरमुकामको सडक सुनसान छ । यात्रुहरु सडक किनारमा उभिएर वसको प्रतीक्षा गरिरहेका छन् । बिहानै पढ्न जाने विद्यार्थीहरु हिँडेरै गन्तब्यतर्फ गैरहेका छन् ।

सार्वजनिक यातायातकै साधन भए पनि भाडाका ट्याक्सीहरु भने चलेका छन् । उनीहरुले निर्धारण गरिएको भाडादरभन्दा बढी पैसा लिएको यात्रीहरुले गुनासो गरेका छन् । गोरखाका यातायात मजदुरहरुले बिनाकारण गाडी नचलाउँदा यात्रुहरुको बिचल्ली भएको हो । “न कुनै जानकारी छ न कुनै माग छ, गाडी नचलाउनुको कारण त थाहा हुनुप¥यो नि” प्रजिअ भट्टराई भन्नुहुन्छ, “आन्दोलन र हड्तालको पनि एउटा चरण हुन्छ, शैली हुन्छ ।” यातायात मजदुरहरुले सवारी साधन नचलाउनु पर्नाको कारणबारे कुनै औपचारिक जानकारी गराएका छैनन् । 

सवारी धनीहरु पनि मजदुरले किन गाडी चलाएनन् भन्नेबारे आफूहरुलाई थाहा नभएको बताउँछन् । “किन चलाएनन् थाहा छैन, हामीलाई असुरक्षा भयो भनेका छन् ।” यातायात व्यवसायी समिति गोरखाका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले भन्नुभयो । तर सरकारले जारी गरेको सवारी तथा यातायात व्यवस्था ऐन तेस्रो संशोधनमा भएको व्यवस्थाले चालकहरु मारमा पर्ने केही चालकहरुले बताउँदै आएका छन् । 

आज पनि  गाडी नचलाए अत्यावश्यक सेवा ऐन लगायतका कानूनी आधारलाई टेकेर चालकलाई पक्राउ गरि कारवाही गर्ने प्रशासनको तयारी छ । “आवश्यक सेवा ऐन २०१४ ले यातायात क्षेत्रलाई अत्यावश्यक सेवाभित्र राख्दै बन्द हड्ताल गर्न नपाइने भनेको छ” प्रजिअ भट्टराईले भन्नुभयो, “आज पनि बस नचलाए हामी कडा रुपमा प्रस्तुत हुन्छौं, बल प्रयोग गर्न बाध्य हुन्छौं ।” 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • कपिल देव सिंघक

    Sept. 21, 2018, 9:32 a.m.

    सरकार रमिते भएर वस्न मिलेन! कानुन र व्यवस्था वरकरार राख्नु पर्यो! जानाजान मान्छे मारेमा अपराधी जे कोही भए पनि कडा कारवाही हुनै पर्छ!

  •  0 Reply

तपाईको प्रतिक्रिया