अवैधानिक कामदार विरुद्ध मलेसियाको धरपकड, ४७ जना नेपाली पक्राउ

 असोज ७, २०७५ आइतबार १५:४९:५० | उज्यालो सहकर्मी

मलेसिया – मलेसियामा अवैधानिक रुपमा काम गरिरहेका ४७ जना नेपाली पक्राउ परेका छन् । 

मलेसियाको साइबरजयामा रहेको औद्योगिक क्षेत्रमा काम गर्ने २२ सय ३० जनामाथि गरिएको छानविनमा बंगलादेश, म्यानमार, इन्डोनेशिया र नेपाली कामदारसहित ३३८ जना विदेशी नागरिक पक्राउ परेका हुन् । 

मलेसियाको अध्यागमन नियम अनुसार कामदारले भिसामा उल्लेख भएअनुसारकै कम्पनीमा काम गर्नुपर्छ । तर स्वीकृती लिएको कम्पनी भन्दा फरक कम्पनीमा काम गरेको र अध्यागमनको नियम उल्ङघन गरेको पाइएपछि पक्राउ गरिएको मलेसियाको अध्यागमन विभागले जनाएको छ । 

अवैधानिक रुपमा काम गरिरहेका कामदारलाई कानुनी प्रक्रियामा ल्याउन दिइएको  आममाफी र रिहायरिङ कार्यक्रमको समय सकिएपछि मलेसियाले अवैधानिक कामदारलाई पक्राउ गर्ने अभियान जारी राखेको छ । 

आउटसोर्सिङ गरिएका कामदारका हकमा पनि सप्लाई गर्ने कम्पनी र रोजगारदाता कम्पनीबीचको सम्झौतापत्र, सम्बन्धित कम्पनीको आधिकारिक पत्र लगायत कागजात कामदार र सम्बन्धित रोजगारदातासँग हुनुपर्दछ । 

पक्राउ परेमा के हुन्छ ?

अवैधानिक कामदार पक्राउ परेपछि तोकिएको सजाए भोग्न पर्ने हुन्छ । अदालती निर्णयअनुसार सजाय भुक्तान गरेपछि घर फिर्ती केन्द्रमा राख्ने गरिन्छ ।  

पक्राउ परेका कामदारलाई सम्बन्धित विदेशी कुटनीतिक नियोगहरुसित सहकार्य गरेर स्वदेश फर्काउने भनिएपनि पक्राउ पर्ने कतिपय हवाई टिकट लगायतका समस्याले महिनौंसम्म घरफिर्ती केन्द्रमा नै बस्नुपर्ने समस्या हुन्छ । 

मलेसियाले अवैधानिक कामदारका लागि पटक पटक आममाफीको कार्यक्रम सञ्चालन गरिरहेको छ । तर अभियानमा सहभागी नभई अवैधानिक रुपमा बस्ने क्रम नरोकिएपछि मलेसियाले पक्राउ गर्ने अभियान चलाएको हो । 

मलेसियाको अध्यागमन विभागका अनुसार गएको अगष्टसम्ममा ३० हजारभन्दा बढी गैरकानुनी आप्रवासी कामदार पक्राउ परेका छन् ।

यसपटक अवैधानिक रुपमा काम लगाउने रोजगारी दिने रोजगारदातालाई पनि कारवाही गर्ने निर्णय गरेको मलेसियाको अध्यागमन विभागले एक हजार भन्दा धेरै रोजगारदातालाई पनि पक्राउ गरेको छ ।

अवैधानिक रुपमा रहेका विदेशी कामदारले अब यसअघिको जस्तो आममाफीका लागि समय नपाउने पनि मलेसियाले स्पष्ट पारेको छ । 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया