नेपाली श्रमिकको सुरक्षालाई विशेष ध्यान दिन नवनियुक्त राजदूतहरूलाई श्रम मन्त्री कुँवरको आग्रह

 साउन ६, २०७९ शुक्रबार १०:३५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरले नवनियुक्त राजदूतहरूलाई गन्तव्य देशमा नेपालीको कामको ग्यारेन्टी र सुरक्षाका विषयमा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ ।

बिहीबार श्रम मन्त्रालयमा साउदीका लागि नवनियुक्त राजदूत नवराज सुवेदी र दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूत दानबहादुर तामाङसँगको छलफलमा मन्त्री कुँवरले वैदेशिक रोजगारमा जाने नेपालीहरूले पाउने गरेका दुख र त्यसको समाधानका साथै उनीहरूको कामको ग्यारेण्टीका लगायतका विषयमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । 

‘यहाँबाट गएकाहरूले उता पुगेपछि भनेअनुसार काम नपाउने गरेको गुनासाहरू धेरै सुनिन्छ, त्यहाँ पुगेपछि बिचल्लीमा परेका घटनाहरू आइरहन्छ, यस्तो किन भएको हो भनेर विशेष ध्यान दिन म तपाईँहरूलाई आग्रह गर्छु’ मन्त्री कुँवरले भन्नुभयो । 

यस्तै छलफलका क्रममा उहाँले नेपाली श्रमिकलाई गन्तव्य देशमा परेको समस्या समाधानका लागि दूतावासलाई चाहिने आवश्यक सहयोगका लागि मन्त्रालय तयार रहेको समेत बताउँदै विदेशमा नेपाली श्रमिकको मृत्युको मुख्य कारण के हो भनेर खोज्न र यस विषयमा गम्भीर हुन समेत आग्रह गर्नुभएको छ । 

छलफलमा बोल्दै मन्त्रालयका सचिव एक नारायण अर्यालले विदेशमा कोमामा र अङ्गभङ्ग भएर उपचार गराइरहेका नेपाली कामदारहरूको उद्धारका लागि सरकार गम्भीर रहेको उल्लेख गर्दै दूतावासहरूले त्यही अनुसार काम गर्नुपर्ने बताउनुभयो । उहाँअनुसार अहिले साउदीमा मात्रै २५ जना नेपालीहरू कोमामा उपचाररत छन् । 

यस्तै श्रम मन्त्रालयका सहसचिव तथा रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजीव पोखरेलले वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकहरूमा वैधानिकिकरण, स्वास्थ्य, बिमा, दोहोरो सम्झौता, प्रमाणीकरण, अवैधानिक रूपमा गएका कामदारको शवको उद्धार, महिला कामदारको सुरक्षा र न्यूनतम पारिश्रमिकसमेत नपाउने लगायतका समस्याहरू रहेको उल्लेख गर्नुभयो । 

छलफलमा बोल्दै साउदीका लागि नवनियुक्त राजदूत सुवेदीले साउदी सरकार र नेपालबीच श्रम सम्झौताका लागि पहल गर्ने बताउनुभयो । साउदीमा समस्यामा परेका श्रमिकको उद्धार र राहतका लागि पहल गर्ने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

श्रमिकले पाउने गरेका समस्याहरूको समाधानका लागि मन्त्रालयसँग आवश्यक सुझाव, सल्लाह र सहयोगका लागि सहकार्य गर्ने समेत उहाँले उल्लेख गर्नुभयो ।

यस्तै दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूत तामाङले दक्षिण अफ्रिकामा नेपाली श्रमिकहरू समस्यामा परेका खबरहरू खासै नआए पनि श्रमिकका विषयमा आफू सचेत रहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया