श्रम गन्तव्य देशका अस्पतालमा उपचाररत नेपाली श्रमिककाे सहजताका लागि कार्यदल गठन

 साउन ६, २०७९ शुक्रबार १८:५:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – विदेशका विभिन्न अस्पतालमा उपचाररत नेपाली श्रमिककाे सहजताका लागि श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरकाे निर्देशनमा अन्तरनिकाय कार्यदल गठन गरिएकाे छ । 

वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा कार्यरत रहेको अवस्थामा गम्भीर घाइते वा बिरामी भई अस्पतालमा सघन उपचार गराइरहेका नेपालीहरुको स्थिति बुझ्न, उनीहरुको उद्धार गर्न तथा आवश्यक सहयोग गर्न कार्यदल गठन गरिएकाे हाे ।

तीन सदस्यीय यस कार्यदलको संयोजकमा मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखाका प्रमुख तथा सदस्यमा परराष्ट्र मन्त्रालयका सहसचिव र वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक रहेका छन् । समितिले विशेष गरी वैदेशिक रोजगारीमा गई सघन उपचारमा रहेका श्रमिकहरुको एकीकृत तथ्याङ्क तयार गर्ने, उनीहरुलाई उद्धार गरी स्वदेशमा फर्काउने उपायहरुको पहिचान गर्ने, स्वदेशमा ल्याएपछि सरल एवं प्रभावकारी उपचारको व्यवस्थापन गर्ने छ । यस कार्यका लागि आवश्यक श्रोत, साधन वैदेशिक रोजगार बोर्डको कल्याणकारी काेषबाट बेहोर्ने जनाइएकाे छ ।

साउदी अरबका विभिन्न अस्पतालमा गम्भीर अवस्थामा रहेका नेपाली बिरामीका सम्बन्धमा दूतावासले परराष्ट्र मन्त्रालयलाई पटक पटक चिठ्ठी लेखी पठाएको थियो । त्यसपछि गएकाे असार २८ गते परराष्ट्र मन्त्रालयको वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार बोर्डको सचिवालयका प्रतिनिधिहरुबीच छलफल भयाे । बैठकले साउदी अरबसहितका श्रम गन्तव्य देशमा उपचार गराइरहँदा उपचार खर्च तिर्न नसकेका, भिसाको अवधि नाघिसकेका नेपालीहरुको समेत अवस्थालाई दृष्टिगत गर्दै उपचार, हेरचाह र व्यवस्थापनका लागि एक निर्देशिका तर्जुमा गरी त्यही अनुसार काम अगाडि बढाइने निर्णय गरेको थियो ।

त्यही बैठकको निर्णयका आधारमा श्रम मन्त्री कुँवरले वैदेशिक रोजगार बोर्डको कल्याणकारी काेषबाट आवश्यक स्रोत, साधनको व्यवस्थापन गर्ने गरी तीन सदस्यीय कार्यदल गठन गर्न निर्देशन दिनुभएको हो । कामको सिलसिलामा विभिन्न गन्तव्य देशमा पुगी काम गर्ने क्रममा बिरामी भएर अस्पतालमा उपचाररत नेपालीको संख्या धेरै ठूलो रहेकाले उनीहरुलाई स्वदेशमा ल्याउन कुनै पनि समस्या भए मन्त्रालय र बोर्डले समाधान गर्न तयार रहेको मन्त्रीका निजी सचिव कृष्ण सुवेदीले बताउनुभयाे ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया