साउदीबाट नेपाल आइपुग्नुभएका नुर हसनको परिवार खोज्दै पीएनसीसी

 भदौ २, २०७९ बिहिबार १२:२२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीको जेद्दामा रहेको महावाणिज्य दूतावासले परिवारसँग सम्पर्क नै नगरी मानसिक रूपमा विक्षिप्त भएका एक नेपालीलाई नेपाल पठाएको छ ।

१६ अगस्ट २०२२ मा जजीरा एयरवेजमार्फत नवलपरासी ठेगाना भएका नुर हसन मियालाई महावाणिज्य दूतावासले परिवारलाई सम्पर्क नै नगरी जहाज चढाएर पठाएको हो ।

नेपाल आइसकेपछि एयरलाइन्सले खबर गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर प्रवासी नेपाली समन्वय समिति पीएनसीसीले नुर हसनलाई आफ्नो आवास गृहमा राखेको छ ।

पीएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीका अनुसार नुर हसन कसैसँग पनि बोल्नुहुन्न र खानेकुरा पनि खानुहुन्न । कसैसँग पनि नबोल्ने र मानसिक रूपमा पनि विक्षिप्त भएपछि पीएनसीसीलाई नुर हसनको परिवारसँग सम्पर्क गराउनसमेत समस्या भएको हो ।

पीएनसीसीले अहिले राहदानी विभागसँग समन्वय गरेर परिवार खोज्ने प्रयास गरिरहेको छ । तर अहिलेसम्म बुवाको नाम बाहेक अन्य विवरण प्राप्त हुन सकेको छैन । 

राहदानी उपलब्ध गराएको विवरण अनुसार नुर हसनको बुवाको नाम लकमुडाइन मिया र ठेगाना प्रतापपुर श्रीरामपुर गाउँ ५ उल्लेख छ ।

उहाँ कन्टिनेन्टल म्यानपावरबाट साउदी जानुभएको र त्योभन्दा बाहेक अन्य कुनै पनि जानकारी नभएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । 

‘उहाँ बोल्नुहुन्न, खाना पनि खानुहुन्न, खान नखाएपछि हामीले यहाँ सेल्टरमा स्लाइन पनि दियौं, अहिले डाक्टरकै निगरानीमा हुनुहुन्छ’ अध्यक्ष कार्कीले भन्नुभयो ‘परिवारसम्म पुग्ने कोसिस गरिरहेका छौँ तर विवरण पुग्दाे  नभएकाले समस्या भएको छ ।’

अहिले पनि पीएनसीसीकै सुरक्षित आवास गृहमा रहनुभएका नुर हसनमा केही सुधार भने आएको छ । तर कसैसँग पनि बोल्नुभएको छैन । नुर हसनको के कारणले यो अवस्था भयो भन्ने पनि थाहा नभएको पीएनसीसीले जनाएको छ । 

उहाँलाई नेपाल पठाउन महावाणिज्य दूतावास जेद्दाले ७ अगस्ट २०२२ मा ट्राभल डकुमेन्ट जारी गरेको छ । उहाँ १६ अगस्टमा नेपाल आइपुग्नुभएको हो ।

नुर हसनलाई वा उहाँको परिवारलाई यदि कसैले चिन्नु वा देख्नुभएको छ भने ९८६५३७०४१६ नम्बरमा सम्पर्क गर्न पीएनसीसीले अनुरोध गरेको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया