न्यायको अपेक्षामा मीनादेवी

 भदौ ३, २०७९ शुक्रबार ९:१०:३७ | सुनिता महताे
unn.prixa.net

महोत्तरी - महोत्तरीको गौशाला नगरपालिका-११ की ३७ वर्षीया मीनादेवी श्रीमानबाट बारम्बार हिंसामा पर्दै आउनुभएको छ । कहिले घरायसी कारण त कहिले सामान्य भनाभन हुँदा  श्रीमानले मरणासन्न हुने गरी कुटपिट गर्ने गरेको उहाँले सुनाउनुभयो ।

श्रीमान् विन्देश्वर महतोले रक्सीको नशामा कुट्दा उहाँको शारीरिक अवस्था कमजोर छ । उहाँले न्यायको लागि बारम्बार हारगुहार गर्नुभयो, तर निसाफ पाउन सक्नुभएको छैन ।

मीनाले २०५५ सालमा विवाह गर्नुभएको हो । उहाँका तीन सन्तान छन् । विवाहपछि श्रीमानले कहिल्यै पनि राम्रो व्यवहार नगरेको मीनाले सुनाउनुभयो । ‘सामान्य विषयमा खटपट अनि पछि श्रीमानकाे हातबाट कुटाइ खानुपर्ने त सामान्य भइसकेको छ’ उहाँले भन्नुभयो, ‘श्रीमानले कहिले पनि छोराछोरीलाई माया गरेनन् । आफू त जसोतसो दुःख काटेर भए पनि जीवन कटाइरहेकै छु । अब ससाना उनकी छोराछोरीको दिनचर्या कसरी बित्ने हो । साह्रै चिन्ताले पिरोलिएको छ ।’ 

मीनाकी जेठी छोरी १५ वर्षकी छिन् । उनी कक्षा १० मा गाउँमै सामुदायिक विद्यालयमा पढ्छिन् । उनलाई आफ्नो पढाइ खर्च आफैँले जुटाउनुपर्ने बाध्यता छ । कलिलो उमेरमा नै खेती मजदुरी गर्दै पढाइ खर्च जुटाउँदै आइरहेकी छिन् । 

मीनाका दाजु रामबहादुर महतोले बहिनीले राम्रोसँग खान पनि नपाएको बताउनुभयो ।‘सामाजिकस्तरमा अनेकौँपटक सहमतिको प्रयास गरियो तर स्थायी समाधान हुन सकेन’ रामबहादुरले भन्नुभयो, ‘पछिल्लोपटक श्रीमानकाे तर्फबाट मीना देवीलाई एक बिगाह जग्गा र प्रति महिना दश हजार रुपैयाँ दिनेगरी सहमति पनि भयो । तर कार्यान्वयन भएको छैन ।’

मीनाकी ७५ वर्षीया आमा मायादेवीले आफूले पाउने वृद्धभत्ता छोरीलाई दिने गरेको बताउनुभयो । ‘छोरीलाई परेको दुःखमा जसोतसो मलम लगाउने प्रयास गर्दैछु । आफूले पाएको भत्ताले छोरीलाई कहिले अन्न पानी त कहिले लुगाफाटो । कहिले औषधि त कहिले नगद रुपमै सहयोग गर्दैछु ।’

मीनाकी जेठी छोरी १५ वर्षीया आरती कुमारी मजदुरी गरेर कक्षा १० मा अध्ययनरत छिन् । १० वर्षका रुपेश कक्षा पाँचमा पढ्दै थिए, अहिले निजी विद्यालयमा कक्षा १ मा भर्ना भएका छन् । अर्का ६ वर्षीय छोरा ऋतिक ६ वर्षका कक्षा १ मा पढ्दैछन् । बुबासँग पढाइको खर्च माग्दा दिन नमानेपछि अरुको खेतमा मजदुरी गर्न बाध्य भएको आरतीले पीडा सुनाइन् । आरती भन्छिन्, ‘बुबासँग पढाइको लागि पैसा माग्दा झपारेर पिट्न खोज्छन् । सामान्य इच्छा पनि पूरा गर्दैनन् । ट्युसनको फि तिर्नुको लागि मजदुरी गर्नुपर्ने बाध्यता छ ।’

स्थानीय पत्रकार दिनेश महतोका अनुसार मीनाका श्रीमान् विन्देश्वरले श्रीमतीमाथि बारम्बार अत्याचार गर्दै आएका छन् । मीना देवी महतोलाई न्याय दिलाएरै छोड्ने गौशाला नगरपालिकाका प्रवक्ता रामपृत महतोले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुनिता महताे

महताे उज्यालाेका महाेत्तरी सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया