श्रमिकको गुनासो सुन्दै मन्त्री : प्रमाणसहित ठगीको उजुरी गरे तत्काल कारबाही गर्ने प्रतिबद्धता

 भदौ ५, २०७९ आइतबार १६:०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर ६ जना श्रमिकहरुको गुनासो सुन्नुभएको छ । 

श्रममन्त्री कुँवरले आजदेखि प्रत्येक आईतबार प्रत्यक्ष रुपमा श्रमिकहरूको गुनासो सुन्ने कार्ययोजना अनुसार पहिलो दिन ६ जना श्रमिकको गुनासो सुन्नुभएको हो । उहाँले विदेशमा श्रम गर्न गएका श्रमिकको विदेशमा नै ज्यान गएर ल्याउन नसकेको, मेलेसिया तथा अन्य देशमा जान म्यानपावरहरुले लाखौं रकम लिएको लगायतका गुनासो प्रत्यक्ष रुपमा सुन्नुभएको छ । मन्त्री कुँवरले अब प्रत्येक आईतबार बिहान ११ बजेदेखि १२ बजेसम्म प्रत्यक्षरूपमा स्वदेश विदेशमा रहेका श्रमिकहरुसँग कुरा गरेर उनीहरुको चासो, गुनासो, समस्या र सुझाव सुन्ने बताउनु भयो ।

मन्त्री कुँवरले श्रमिकको गुनासो सुन्दै विदेश जाने श्रमिकलाई ठगी गर्नेलाई पीडितले प्रमाणसहित ल्याए तत्काल कानून अनुसार कारबाही गर्ने बताउनु भयो । उहाँले १० वर्ष अगाडि ठगी गर्ने समेत पक्राउ गर्ने काम भएको भन्दै ठगी गर्ने क्षणिक समयको लागि उम्के पनि अन्त्यमा कानूनको कठघरामा ल्याउने अश्वासन दिनुभयो । 

मन्त्री कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर काठमाण्डौ भन्दा बाहिर नगएको अवस्थामा निरन्तर रुपमा गुनासो सुन्ने बताउनुभयो । उहाँले कुनै कामको थालनी अन्त्य गर्नको लागि नभइ जनतालाई सहज र निरन्तरता दिनको लागि शुरुवात गरिने दाबी गर्नुभयो । मन्त्री कँुवरले कल सेन्टरमा मन्त्री आफैँ बसेर श्रमिकको गुनासो सुन्नुको उद्देश्य श्रमिकका समस्या समाधानको लागि रहेको बताउनु भयो । उहाँले मन्त्रालयले विदेशमा जाने श्रमिकको गुनासो सुन्न र आएका उजुरी समाधान गर्ने गरेको बताउनु भयो । उहाँँले धेरै श्रमिकका उजुरीहरु सम्बोधन गर्ने काम भएको र थोरै मात्र बाँकी रहेको पनि प्रष्ट पार्नुभयो ।

मन्त्री कुँवरले श्रम स्वीकृत नगरी विदेशमा पुगेका, विदेशमा नै ज्यान गएकालाई नेपाल ल्याउन केही कानूनी जटिलताहरु रहेको बताउनु भयो । उहाँले त्यो जटिलता समाधान गर्नको लागि मन्त्रालय कानून निर्माणमा पनि लागेको बताउनु भयो । मन्त्री कुँवरले श्रमिकहरुलाई बुझ्दै नबुझि विदेश नजान पनि आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो,-‘अहिले सरकारको डाटा अनुसार ४६ लाख नेपाली नागरिकहरु विदेशमा रहनुभएको छ । विदेश जाँदा हामी बुझेर मात्रै जाऔं । कामको प्रकृति हेरेर मात्रै विदेश जान बाटो तय गरौं । धेरै कुरा नबेझेर पनि समस्या आएका छन् । अहिले विमानस्थलमा जाँदा श्रमिकहरुलाई कुन देश जान लागेको समेत थाहा हुँदैन । श्रमिकहरु घरबाट नै ठगिएका छन् ।’

त्यस्तै, मन्त्रालयका सचिव एकनारायण अर्यालले मन्त्रालयको कल सेन्टरमा दैनिक स्वदेश तथा विदेशबाट दुई सय वटा उजुरी आउने गरेको बताउनु भयो । उहाँले मन्त्रालयले उजुरी छनोट गरेर प्रहरी र विभिन्न विभागमा सम्बोधनको लागि पठाउने गरेको बताउनु भयो । उहाँले कल सेन्टरमा आएका उजुरीको आधारमा पछिल्लो चार महिनामा ३० करोड रुपैयाँ पीडितहरुको असुल गरेको दाबी गर्नुभयो । 

श्रमिकसँग श्रम मन्त्री कार्यक्रममा भाग लिनका लागि नेपाल टेलिकमको टोल फ्री नम्बर ११४१ र १६६००१५०००५, ल्यान्डलाइन नम्बर ०१५९७०००८ र ह्वाट्सएप, भाइबरमा ९८०१८०००१३ र इमो नम्बर ९८०१३०००३३ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ। मन्त्री कुँवर काठमाण्डौ रहेका बेलामा मात्रै तोकिएको समयमा मन्त्रीसँग आफ्ना गुनासा, जिज्ञासा, समस्या र सुझावहरुमा कुरा गर्न सकिने समेत मन्त्रालयले जानाएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया