‘संसदमा प्रदीप गिरिले बोल्ने भनेपछि सांसद पर्खिएर बस्थे’

 भदौ ५, २०७९ आइतबार १९:३१:३१ | रासस
unn.prixa.net

काठमाण्डौ – संसदमा प्रदीप गिरिले बोल्ने भनेपछि सबै सांसद पर्खिएर बस्थे । मार्क्सवादको बारेमा समेत गहिरो अध्ययन गर्ने आदर्श नेता स्व. गिरी सबैका प्रिय नेता हुनुहुन्थ्यो । 

संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सानेपामा रहेको कांग्रेस केन्द्रीय कार्यालय परिसर पुगेर स्व. गिरिप्रति श्रद्धाञ्जली दिँदै श्रद्धाभाव व्यक्त गर्नुभयो । 

समकालीन राजनीतिका अध्ययनशील र आदर्शवादी नेता गिरि राजनीतिमा प्रेरणाका स्रोत भएको नेकपा (एमाले) संसदीय दलका उपनेतासमेत रहनुभएका नेम्वाङले बताउनुभयो । उहाँका अनुसार सांसद गिरि संसदमा बोल्ने दिनमा सांसदको उपस्थिति पनि बढ्थ्यो ।

सादगी जीवन, निष्ठा र आदर्शको प्रतीक राजनीतिज्ञ गिरिप्रति आदर्शभाव व्यक्त गर्ने धेरैजसोको बोली र लय एउटै थियो । राजनीतिज्ञ र बौद्धिक जमात मात्र नभइ आम सर्वसाधारणलाई रुवाएर महाप्रस्थान गर्नुभएका नेता गिरिको सैद्धान्तिक विचारका अनुयायीहरू समकालीन राजनीतिमा धेरै छन् ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले गिरि वास्तवमा निष्ठाको राजनीति गर्ने, अध्ययनशील, प्रखर बौद्धिक क्षमता भएको व्यक्तिका रूपमा आफूले स्मरण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राजनीतिक चिन्तक र विश्लेषक, समाजवादीहरूलाई पनि समाजवाद पढाउन सक्ने क्षमतावान् व्यक्ति हुनुहुन्थ्यो ।’

नेपालको राजनीतिक दर्शनलाई सैद्धान्तिक र राजनीतिक पाटोबाट अगाडि बढाउनुपर्छ भन्ने मान्यता राख्ने गिरि जनतालाई हेरेर जनतासँग भिजेर उनीहरूको उत्थानका लागि राजनीति गर्नुपर्छ भन्ने व्यक्तित्वका रूपमा आफूले पाएको उहाँले उल्लेख गर्नुभयो ।

पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी पनि स्व. गिरिको अभाव संसदमा खड्किएको बताउनुहुन्छ । ‘संसद् चलिरहँदा सदन बाहिर, क्यान्टिनमा रहेका सांसद पनि उहाँ (स्व. गिरि) को विचार सुन्न चाहनुहुन्थ्यो, त्यस कारण नेपालको राजनीतिक आन्दोलनमा उहाँको आवश्यकता खड्किरहनेछ र हामी सधैँ सम्झिरहनेछौँ ।’ नेकपा (माओवादी केन्द्र) का सांसद सुवेदीले समाजवादी आन्दोलनका अगुवा गिरिको निधनले राज्यको परिवर्तनकारी आन्दोलनमा उहाँको अभाव सधै खड्किरहने उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति एवम् पूर्वमन्त्री वीरबहादुर बलायर कांग्रेसका संस्थापक नेता जननायक बीपी कोइरालाको दर्शनलाई कार्यान्वयन गर्ने नेता स्व. गिरि भएको बताउनुहुनछ । ‘स्व. गिरिले नेपाली राजनीतिमा दिनुभएको विचारलाई आगाडि बढाउन सके पार्टी र देश दुवैलाई फाइदा पुग्छ’, उहाँले भन्नुभयो ।

लामो समय भारतको बनारसका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गरी स्वदेश फर्कनुभएका नेता गिरिको शनिवार राति साढे ९ बजे ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो । निधनको खबर थाहा पाउनेबित्तिकै देशका राष्ट्र प्रमुख राष्ट्रपति, कार्यकारी प्रमुख प्रधानमन्त्री, सत्तारूढ दलका शीर्षस्थ नेता एवम् प्रमुख प्रतिपक्षी दलका नेताले विभिन्न माध्यमबाट श्रद्धाञ्जली व्यक्त गर्नुभयो । पार्टीका नेता कार्यकर्ता, शुभचिन्तकले अस्पताल, पार्टी कार्यालय र पशुपति आर्यघाट पुगेर स्व. नेता गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

कांग्रेस नेता डा. शेखर कोइरालाले प्रजातान्त्रिक समाजवादको व्याख्याताका रूपमा स्व. गिरीले पहिचान बनाएको भन्दै उहाँको निधनले कांग्रेस र सिङ्गो देशलाई नै अपूरणीय क्षति भएको उल्लेख गर्नुभयो ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत बहुआयामिक व्यक्तित्वका धनी स्व. गिरिमा अथाह ज्ञानको भण्डार रहेको बताउनुभयो । 

नेपाली राजनीतिमा निष्ठा, आदर्श र बौद्धिक व्यक्तिका रूपमा आफ्नो विशिष्ट छवि बनाउनुभएका प्रदीप गिरि राष्ट्रियरूपमा मात्र नभइ अन्तर्राष्ट्रियरूपमा पनि चर्चित हुनुहुन्थ्यो । उहाँँको निधनको खबरले सबैलाई दुखित तुल्याएको छ । उहाँमा रहेको बौद्धिकता, स्पष्टता, सादगीपनको सर्वत्र चर्चा भएको छ । आफूलाई गिरिको विचारको चिन्तक बताउने नीलाम्बर तिमल्सिनाले सबैलाई एउटै व्यवहार गर्ने सादगी नेता गिरी देश र समाजकै आदर्श व्यक्तित्व भएको उल्लेख गर्नुभयो ।

गिरिलाई श्रद्धाञ्जली व्यक्त गर्न पुग्नुभएका साहित्यकार धीरेन्द्र प्रेमर्शीले मनमा निश्चलता वाणीमा प्रवाह भएको प्रखर व्यक्तिका रूपमा गिरिलाई आफूले बुझेको बताउनुभयो । 

नेता गिरी समकालीन नेपाली राजनीतिका वैचारिक ज्ञानपुञ्ज, समाजवादी चिन्तक, लेखक, निष्ठावान् त्यागी एवम् बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । 

पिता मित्रलाल गिरि र माता पुण्यप्रभा गिरिको कोखबाट विसं २००४ असोज २४ गते गोबर्धन पूजाका दिन सिरहाको बस्तीपुरमा जन्मनुभएका गिरिले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गर्नुभएको थियो । उहाँ समकालीन प्रजातान्त्रिक समाजवादी नेताहरुसँग उच्च तहको मित्रवत् सम्बन्ध एवम् नेपाल–भारत सम्बन्धमा गहिरो प्रभाव राख्ने एक सरल जीवनशैलीका गान्धीवादी नेता हुनुहुन्थ्यो । 

उहाँ राजनीतिक विचारमा लोकतन्त्र र आर्थिक नीतिमा समाजवादको व्यावहारिक व्याख्याता, ग्रामीण किसान, मजदुर एवम् विपन्न परिवारलाई विकासको केन्द्रविन्दुमा राख्नुहुन्थ्यो । कांग्रेसलाई थप समावेशी र सबल बनाउन उहाँ हरदम क्रियाशील रहनुभएको कांग्रेसले जनाएको छ । 

नेता गिरि नेपालमा राजनीतिक दल प्रतिबन्धित भएको समय बनारसबाट कांग्रेस पार्टीमा आबद्ध भइ पार्टी सङ्गठनका माध्यमबाट बहुदलीय व्यवस्थाका पक्षमा वैचारिक वकालत गर्दै निरङ्कुश पञ्चायतका विरुद्ध निरन्तर सङ्घर्षरत रहनुभयो । सबै किसिमका निरङ्कुशताविरुद्ध प्रखर वैचारिक सङ्घर्षमा होमिनुभएका गिरि लोकतान्त्रिक आन्दोलनमा वैचारिक र साङ्गठनिक अग्रणी भूमिका निभाउने क्रममा पटक–पटक जेल र निर्वासनमा रहनुभयो । 

उहाँ कांग्रेस पार्टीमा मात्रै नभएर नेपाली र विदेशी राजनीतिक समकक्षीबीच लोकप्रिय हुनुहुन्थ्यो । दार्शनिक नेता प्रदीप गिरिको निधनले नेपाली लोकतान्त्रिक आन्दोलन, कांग्रेस, सिङ्गो संसदीय अभ्यास र देशलाई ठूलो क्षति पुगेको कांग्रेसको ठहर छ । शनिवार राति निधन हुनुभएका गिरिको शवलाई श्रद्धाञ्जलीका लागि ललितपुरको मेडिसिटी अस्पताल परिसर र पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।

त्यहाँ प्रधानमन्त्री एवम् कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस पदाधिकारी एवम् सदस्यहरू, पार्टीका कार्यकर्ता, सभामुख अग्निप्रसाद सापकोटा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल सरकारका मन्त्रीहरू, महान्यायाधिवक्ता, उच्च सरकारी अधिकारीलगायतको उपस्थिति थियो । यस्तै नेता गिरिप्रति श्रद्धाञ्जली दिन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरू भीमबहादुर रावल, प्रदीप ज्ञवाली, लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू राजेन्द्र महतो, अनिलकुमार झा, शरतसिंह भण्डारी, सांसदहरू, साहित्यकार, सञ्चारकर्मी सानेपा पुग्नुभएको थियो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया