दक्षिण कोरियामा रोजगारीका लागि उत्पादनतर्फ उत्तीर्ण हुनेको सङ्ख्या थपियो

 भदौ १०, २०७९ शुक्रबार ८:२५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियामा उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा बढी नेपालीले रोजगारी पाउने भएका छन् ।

एचआरडी कोरियाले उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा आठ हजार बढी नेपालीलाई भाषा परीक्षामा उत्तीर्ण गराउने जनाएको छ ।

उत्पादनतर्फको पहिलो र दोस्रो चरणको भाषा परीक्षाबाट उत्तीर्ण हुनेको सङ्ख्यामा आठ हजार थप गरी रोस्टरमा सूचीकृत गर्न एचआरडी कोरियाबाट पत्र प्राप्त भएको वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले जनाएको छ ।

यसअघि उत्पादन क्षेत्रतर्फ पहिलो चरणको परीक्षाबाट ३ हजार १ सय ३० र दोस्रो चरणको परीक्षाबाट ३ हजार ७ सय ८३ गरी कुल ६ हजार ९ सय १३ जनालाई उत्तीर्ण गराउने जनाएको थियो ।

उत्पादनतर्फको परीक्षामा उत्तीर्ण गराउनेको सङ्ख्या थपिएसँगै पहिलो चरणको परीक्षाबाट ६ हजार ७ सय ५२ र दोस्रो चरणबाट ८ हजार १ सय ६१ गरी कुल १४ हजार ९ सय १३ जना उत्तीर्ण हुनेछन् । यसपटक उत्पादनतर्फ ३३ हजार ९ सय र कृषितर्फ नौ हजारले फारम भरेका थिए ।

उत्पादनतर्फको पहिलो चरणको परीक्षा गएको साउन २ देखि सुरु भएको थियो । दोस्रो चरणको परीक्षा यही भदौ २ गतेदेखि चलिरहेको छ । पहिलो चरणको परीक्षाको नतिजा यही भदौ १७ गते आउने ईपीएस कोरिया शाखाले जनाएको छ ।

शाखाका निर्देशक पुष्पराज कटुवालले परीक्षामा उत्तीर्ण हुनेको सङ्ख्या बढ्ने भएसँगै रोजगारीका लागि कोरिया जाने युवाको सङ्ख्या पनि बढ्ने बताउनुभयो । सन् २००८ देखि ईपीएसमार्फत नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया जाँदै आएका छन् ।

ईपीएसबाट अहिलेसम्म ७३ हजार नेपाली कोरिया पुगिसकेका छन् । कोरिया जानेहरुले झण्डै ५ वर्ष काम गर्न पाउँछन् । दक्षिण कोरियाले ईपीएस प्रणालीमार्फत विभिन्न १६ देशबाट श्रमिक लैजाँदै आएको छ । ईपीएसबाट श्रमिक लैजाने देशको सूचीमा नेपाल दोस्रो स्थानमा छ । सबैभन्दा बढी कम्बोडियाबाट श्रमिक कोरिया पुगेका छन् ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • kashisingh kunwar

    Aug. 29, 2022, 7:19 a.m.

    पास भएर ठूलो सपना बोकेका नेपालीलाई इपिएस सकेका सबै कोरियाले अनिवार्य लाने शर्त हुनेभए सबै ढुक्क हुने थिए , धन्यवाद !

  •  0 Reply

तपाईको प्रतिक्रिया