भीमफेदी–कुलेखानी सडक फराकिलो बनाउँदा पनि किन भयो बस दुर्घटना ?

 असोज ७, २०७९ शुक्रबार ९:३३:३२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - वाग्मती प्रदेश सरकारको लगानीमा मकवानपुरको भीमफेदीबाट कुलेखानीसम्मको निकै साँघुरो सडकलाई फराकिलो बनाएर पिच गरिएको छ ।

पहिलेको भन्दा धेरै ठाउँमा दोब्बर फराकिलो समेत पारिएको छ । तर, हिजाे काठमाण्डाैबाट हेटौँडाका लागि छुटेकाे बस यही सडक खण्डमा दुर्घटनामा पर्याे । ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको ओरालोमा सडकबाट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा ७ जनाको ज्यान गयाे । २६ जना घाइते  भए । 

दुर्घटनामा ज्यान गुमाउनेमा नुवाकोट घर भएका रघुराज न्यौपाने, बाराका अन्दुल्लाहा मियाँ ठकुराई र सेख अरमान, वीरगञ्जका हृदयनाराण पञ्जियार, मकवानपुरका मदन विक र भारत मोतिहारी घर भएका सरदनारायण शर्मा रहेका छन् ।

दुर्घटनामा ज्यान गुमाएका एक जनाको अहिलेसम्म परिचय खुलेको छैन । दुर्घटनामा घाइते भएकामध्ये चार जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । अरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र सामान्य घाइते ६ जना उपचारपछि घर फर्किएका छन्  । 

ब्रेक नलाग्दा बस दुर्घटना

साँघुरो सडकको ओरालो घुम्तीमा ब्रेक नलागेर बस दुर्घटना भएकाे हाे । मकवानपुर भीमफेदीसम्मको सडक खण्ड साना गाडीका लागि मात्रै उपयुक्त छ । बनेपा–नेपालथोक चल्ने मिनीबस काठमाण्डौबाट वीरगञ्ज जान फर्पिङ–भीमफेदी सडक खण्ड प्रयोग गर्ने क्रममा दुर्घटनामा परेको हाे । 

बनेपा–नेपालथोक चल्ने मिनीबसका चालक तथा सहचालकलाई सडकको जोखिमबारे जानकारी नहुँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ । बसमा सहयोगीका रूपमा यात्रा गरिरहेका काभ्रेका हरि भुजेलका अनुसार बनेपा–नेपालथोक चल्ने बस काठमाण्डौमा रिजर्भ गरेर याे रुट हुँदै वीरगञ्ज जाँदै थियाे ।

दुर्घटनामा घाइते हुनुभएका रौतहटका समिम मियाँले भीमफेदीको देउरालीमा खाजा आएपछि चालक परिवर्तन भएको बताउनुभयो । ‘तीव्र गतिमा गाडी चलाएर मोडमा कन्ट्रोल गर्न नसक्दा बस पल्टियो' मियाँले भन्नुभयो ।  

दुर्घटना भएको बसको यस सडकमा रुट परमिट थिएन

दुर्घटना भएको बसको यस सडकमा रुट परमिट नभएको खुलेको छ । यस सडकमा प्रायजसाे साना गाडीले मात्र रुट परमिट लिएका छन् । चाडपर्वका समयमा भने याे रुटमा मिनीबस पनि चल्ने गरेका छन् ।

चाडपर्वकाे समयमा छिटो यात्रु ओसार्ने गरी यस सडक खण्ड भएर बस गुडेकाे प्रहरीकाे अनुमान छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया