झापा क्षेत्र नम्बर १ काे राजनीतिक जाेड–घटाउ

 कात्तिक २७, २०७९ आइतबार २०:१२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

झापा – आउँदो मङ्सिर ४ गते हुने आम चुनावमा झापाको सबैभन्दा चर्चित क्षेत्रको रूपमा क्षेत्र नम्बर १ लाई हेरिएको छ । झापा–१ मा तेस्रो पटक उम्मेदवार भएका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र एमालेमा कानुन ज्ञाताको छवि बनाउनु भएका प्रभावशाली नेता अग्नि खरेलको अनुकूलता–प्रतिकूलताको लेखाजोखा र जोड–घटाउको हिसाबकिताब हुन थालेको छ ।  

अग्नि खरेल झापाली नेता

मोर्चाको राजनीति, जनवर्गीय सङ्गठनको राजनीति, पेसागत सङ्घ–सङ्गठनको राजनीतिको पृष्ठभूमि हुँदै ‘राजनीति जनताको सेवा हो’ भन्ने मान्यतालाई आत्मसात् गर्दै भूगोलको राजनीतिमा आउनु भएका अग्नि खरेल नेकपा एमालेभित्रका सशक्त नेता हुनुहुन्छ । उहाँ पहुँच, प्रभाव, विद्वता र जनतासँगको घुलनशीलताको हिसाबले जनतामाझ सकारात्मक छाप छोड्न सफल नेता हुनुहुन्हुछ । खरेल बाहिरिया र पर्यटक उम्मेदवार हुन् भनी गरिएको प्रचारको कुनै आधार देखिँदैन । अग्नि खरेलका बुवा सपरिवार २०२२ सालमा झापाको शनिश्चरे कालीस्थानमा पहाडबाट बसाइँ सर्नु भएकाे हाे । 

जीवन निर्वाहको क्रममा २०२३ सालमा बैगुनधुरा र २०२४ सालदेखि साविकको महारानीझोडा र अहिलेकाे गौरादहमा खरेलको मूल घर रहेको छ भने अहिले बिर्तामोडमा उहाँ सपरिवार स्थायीरूपमा बसोबास गरिरहनुभएको छ । छिमेकी पालिकामा बसोबास गर्ने आफ्नै जिल्लावासीलाई बाहिरया र आगन्तुक भनी भ्रम छर्नु युक्तिसङ्गत नभएको एमालेजनको भनाइ छ । २०३४ सालमा गौरादहमा रहेको जनता माध्यमिक विद्यालयबाट एसएलसी पास गर्नु भएका खरेलले २०३७ सालमा जिल्ला प्रशासन कार्यालय झापाबाट नागरिकताको प्रमाणपत्र लिनुभएको थियो । 

२०३७ सालमै तत्कालीन नेकपा मालेको झापा गौरादहको स्थानीय कमिटीमा आबद्ध भएर राजनीतिक जीवनको यात्रा अघि बढाएका वरिष्ठ अधिवक्ता खरेल २०६४ र २०७० सालको संविधान सभा सदस्य रहनुभएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा कानुनमन्त्री हुनुभएका खरेल एमालेका स्थायी समिति सदस्य र झापा इन्चार्ज साथै नेपाल बार एसाेसिएशनका पूर्व महासचिवसमेत हुनुहुन्छ ।

विश्वप्रकाशको आफ्नै छवि 

विश्वप्रकाश शर्मा यति बेला नेपाली राजनीतिको केन्द्र हुनुहुन्छ । २०४० सालमा धुलाबारी मावि झापाको नेपाल विद्यार्थी सङ्घ इकाइ सभापतिको रूपमा राजनीतिमा प्रवेश गर्नु भएका शर्मा २०४१ सालमा नाै कक्षामा पढ्दा प्रथम पटक प्रहरी गिरफ्तारीमा पर्नुभएको थियो भने २०४७ सालमा नेविसङ्घ झापाको जिल्ला सभापति हुनुभएको थियो । २०४८ सालमा नेविसङ्घको केन्द्रीय सदस्य बनेका शर्मा २०५३ सालमा नेविसङ्घको महामन्त्री बन्नुभएको थियो ।  

२०५३ पुसमा नेविसङ्घ केन्द्रीय उपसभापति बनेका शर्माको उन्नतिको क्रम रोकिएन । २०५७ सालमा नेविसङ्घको केन्द्रीय सभापति बन्नुभएका शर्मा २०५७ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बन्नुभएको थियो । २०७२ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित बनेका शर्माले २०७४ सालमा नेपाली कांग्रेस पार्टी प्रवक्ताको जिम्मेवारी पाउनुभएको थियो । २०७६ सालमा नेकाको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख बनेका शर्मा अहिले नेपाली कांग्रेसका महामन्त्री हुनुहुन्छ ।

कानुनका ज्ञाता अग्नि खरेल 

संविधानवादमा विश्वास गर्ने पूर्व महान्यायाधविक्तासमेत रहेका खरेल विधिको शासन, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन, आवधिक चुनाव र जनादेशको सिद्धान्तमा विश्वास गर्नुहुन्छ । कानुन र विधिका पक्षपाती उहाँ जनताको बहुदलीय जनवादका पृष्ठपोषकका रूपमा पनि चिनिनुहुन्छ । एमालेभित्र कानुनका ज्ञाताको छवि बनाएका खरेललाई सदैव सन्तुलित प्रस्तुति दिने सरल व्यक्तित्वका धनीका रूपमा पनि चिनिन्छ । एकातिर पार्टी पक्षधरता राख्ने खरेल अर्काेतिर विपक्षीसँग पनि उत्तिकै सुमधुर सम्बन्ध राख्ने नेता हुनुहुन्छ । लोकतन्त्रका आधारभूत मान्यताबाट यताउता गर्न मिल्दैन भन्नेमा चट्टानी अडान राख्ने खरेलको ऐतिहासिक कार्यभारलाई दलका विचार, एजेन्डा र कार्यक्रमले आत्मसात् गर्नुपर्ने मान्यता छ । 

पूर्व कानूनमन्त्रीसमेत रहेका खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ फागुन ८ गते महान्यायाधिवक्ता नियुक्त गर्नुभएको थियो । महान्यायाधिवक्तामा नियुक्तिपछि खरेलले न्याय प्रशासनमा आमूल परिवर्तनको खाँचो रहेको बताउँदै आधुनिकीकरण र प्रविधियुक्त बनाउने कुरामा जोड दिनुभएको थियो । सूचनाको हक (राइट टु इन्फर्मेशन) का पक्षपाती खरेल पारदर्शिता, जवाफदेहिता र निष्पक्षतालाई लोकतन्त्रको अपरिहार्य सर्त मान्नुहुन्छ । न्याय क्षेत्रमा अनियमितता र भ्रष्टाचार गर्न कसैलाई छुट नभएको र न्यायिक क्षेत्र विसङ्गति र विकृतिरहित बनाउँदै व्यावसायिक बनाउनुपर्ने खरेलको स्पष्ट धारणा छ । 

लोकतन्त्रका पक्षधर विश्वप्रकाश

सकारात्मक, लोक कल्याणकारी, तर्कयुक्त र वैज्ञानिक सोचका धनी शर्मा वाकपटु र वक्तृत्वकलामा सिपालु नेताका रूपमा चिनिनुहुन्छ । शर्मा नेपाली कांग्रेसका त्यस्ता नेपाली युवा राजनीतिज्ञ हुनुहुन्छ जोसँग टाउकोमा देश बनाउने चित्र छ भने हृदयमा नेपाली माटोको ममता छ । पछिल्लो पुस्ताका आशालाग्दा नेता शर्माको रगतमा मानवता सञ्चारित छ । एक प्रभावशाली युवा नेताको उज्ज्वल छवि बनाउनु भएका शर्मा कुनै ठूला नेताको कृपाले होइन, आफ्नै कार्यकुशलता र आम कांग्रेसी कार्यकर्ताको विश्वास, माया र भरोसाका कारण आजको उचाइमा पुग्नुभएको हो । उहाँ यति बेला जिल्लाको राजनीतिबाट माथि उठेर केन्द्रीय राजनीतिलाई हस्तक्षेप गर्ने अवस्थामा पुग्नुभएको छ ।  

शर्माको लोकप्रियता र क्षमताका कारण उहाँप्रतिको विश्वास र भरोसा निरन्तर बढ्दो छ । शर्माको संस्कार नेपाली राजनीतिक क्षेत्रमा अनुसरणीय छ । आफ्नै पार्टीमा मात्र होइन, विपक्षीसम्म उहाँको जित र हारलाई सभ्यतापूर्वक र शालीनताका साथ स्वीकार्ने राजनीतिक संस्कार सदैव चर्चाको विषय बन्ने गरेको  छ । शर्माले विद्यार्थी नेताका रूपमा मात्र होइन, पार्टी प्रवक्ताको रूपमा पनि आफ्नो क्षमता देखाइसक्नुभएको छ ।अघिल्लो पुस्ताको सङ्घर्ष, बलिदान र जेल जिवनले निर्माण गरेको यो संविधान र व्यवस्था ल्याइएकाले अबको सङ्घर्ष आर्थिक क्रान्तिका लागि हुनुपर्ने उहाँको धारणा छ । त्यसैले राजनीतिभन्दा पनि राजनीतिमा परिवर्तन आवश्यक रहेको उहाँको ठम्याइ छ । 

खरेल र शर्मा दुवैबाट झापालीलाई आशा

झापा–१ का मतदाताका सामु दुई यस्ता विकल्प दिइएको छ जहाँ एक रोज्दा अर्को छोडेकोमा पछताउनुपर्ने छ । एमाले उम्मेदवार खरेल र नेका उम्मेदवार शर्मा दलगत आग्रहभन्दा माथि उठेर साझा राष्ट्रिय दृष्टि निर्माण गर्नुपर्ने विषयमा जोड दिनुहुन्छ । दुवैको विचारमा देशको विकास–निर्माणको नीति सबैको साझा दृष्टिको प्रश्न हुनुपर्छ । देशको सम्मान, स्वाभिमान र समृद्धिसँग कुनै सम्झौता हुँदैन भन्ने दुवैको राय छ । उहाँहरूको विचारमा नीतिगत सुनिश्चितता देशको समृद्धिका लागि अनिवार्य आवश्यकता हो । संसदीय चुनावकाे अभियान खर्चिलो र अपारदर्शी भएको यथार्थलाई आत्मचिन्तन गर्दै मितव्ययी नीति र विधिको निर्माणले राजनीतिमा बढ्दो विकृतिलाई नियन्त्रण गर्न सघाउ पुर्‍याउने र सहिष्णुता र सुसंस्कृत राजनीतिको लोकतान्त्रिक चरित्र निर्माण गर्न सकिनेमा दुवैको समान राय छ ।

दुवै नेता आफ्ना दलभित्रका नरम, उदार र लचकदार नेता मानिनुहुन्छ । बहिर्मुखी स्वभावका दुवै जना सञ्चार क्षेत्रसँग नजिकिन मन पराउनुहुन्छ । प्रश्नलाई प्रोत्साहित गर्ने र जवाफमा जिम्मेवार बन्ने सूत्रलाई आत्मसात् गर्नुहुन्छ दुवै । पार्टीभित्रको प्रतिस्पर्धा होस् या बाहिरकासँग, लोकतान्त्रिक प्रक्रिया अङ्गीकार गर्नुपर्नेमा उहाँहरूको जोड छ । सुशासन, पारदर्शिता र सदाचार परिवर्तित राजनीतिको मूल संस्कार हुनुपर्छ भन्ने दुवैको सोच हो । राजनीतिप्रति नागरिक वितृष्णाको एक मुख्य कारण सर्वत्र व्याप्त भ्रष्टाचार भएको मान्ने यी नेताहरूकाे अब शासकीय प्रणालीको होइन, शासन संस्कार पद्धतिको बहस हुनुपर्नेमा जोड रहेकाे छ । राजनीति, राजनीतिज्ञ या राज्यप्रति सञ्चारमाध्यम या कहीँबाट पनि उठ्ने सकारात्मक या नकारात्मक जुनै प्रश्नलाई पनि प्रथमतः प्रश्नकर्ताको लोकतान्त्रिक अधिकारका रूपमा लिनुपर्छ भन्ने उहाँहरूको धारणा छ ।

जोड–घटाउको अवस्था के छ ?

अग्नि खरेल आफ्नो जितको पहिलो आधार पालिका तहको मत रहेको बताउनुहुन्छ । एमाले बहुमतमा रहेको, कार्यकर्ता एकताबद्ध, अनुशासित र सक्रिय रहेका कारणबाट एमाले विजय हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ ।

यस क्षेत्रमा मेचीनगर नगरपालिकासहित बुद्धशान्ति गाउँपालिकाको ४, ५, ६ र ७ वडा तथा भद्रपुर नगरपालिकाको ९ र १० पर्छन् । गएको पालिका चुनावमा २१ वटा वडामध्ये एमालेले १४ वडा जितेको थियो । पालिका चुनावको मतको आधारमा एमाले पहिलो शक्ति हो । गठबन्धनका सबै दलको मत जोड्दा पनि एमालेको भन्दा कम मत छ । पालिका चुनावको मतको आधारमा विश्लेषण गर्दा शर्मालाई अनुकूल अवस्था देखिँदैन । गठबन्धनका अन्य दलको कम रहेकाले बल एमालेको पक्षमा देखिन्छ । पालिका चुनावमा एमालेले ३१ हजार २ सय ३२, कांग्रेसले २४ हजार ५९, राप्रपाले ५ हजार ९ सय २२, माओवादीले ३ हजार ९ सय ५ र एकीकृत समाजवादीले १ हजार २ सय ५२ मत प्राप्त गरेको छ । मेचीनगरका १५ वडामध्ये ११ एमाले, ३ नेका र १ माओवादी केन्द्रले जितेका छन् । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया