मोरङ ६ : कोइराला र पण्डितको प्रतिस्पर्धा, ‘हेवीवेट’ नेतालाई आफ्नैबाट डर !

 कात्तिक २७, २०७९ आइतबार १६:५८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – आउँदो मंसिर ४ को चुनावमा मोरङमा प्रतिनिधिसभाका ६ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ६ मा ‘हेवीवेट’ नेताहरुको प्रतिस्पर्धा रोचक हुने देखिन्छ । यस क्षेत्रबाट मुख्यगरी एमाले स्थायी कमिटी सदस्य लालबाबु पण्डित र कांग्रेस नेता डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ । पण्डितले २०७४ को चुनावमा ६ सय ७५ मतान्तरले कोइरालालाई पराजित गर्नुभएको थियो । उहाँ अहिले त्यही जितलाई निरन्तरता दिने प्रयत्नमा हुनुहुन्छ भने कम मतान्तरले पराजित डा. कोइराला परिणाम आफ्नो पक्षमा पार्ने कसरतमा हुनुहुन्छ । दुवै उम्मेदवारले चुनावी गतिविधिलाई तीव्र पारेका छन् । 

एमाले नेता पण्डितले निर्वाचन क्षेत्र अन्तर्गतका पालिकामा आफ्नो गतिविधिलाई तीव्र पार्नुभएको छ । अहिले पण्डित सुन्दरहरैचा, बुढीगंगा र विराटनगर महानगरपालिका अन्तर्गतका चुनावी कार्यक्रममा केन्द्रित हुनुहुन्छ । पार्टी स्थायी कमिटीका सदस्य भए पनि उहाँ अहिले अन्य निर्वाचन क्षेत्रमा हुने पार्टीका कार्यक्रममा सहभागी हुनुभएको छैन । मनोनयन अघिदेखि नै पण्डित निर्वाचन क्षेत्रमा खटिनुभएको हो । 

डा. कोइराला क्षेत्र नं. ६ का सबै वडामा पुग्न सक्नुभएको छैन । मनोनयनपछि मात्रै चुनावी कार्यक्रम अघि सार्नुभएको छ । अघिल्ला चुनावमा हाते माइकसहित कोणसभा गर्दै हिँड्नुभएका कोइरालाले यस पटक त्यस्तो गरेको देखिँदैन । नेता कोइरालाले यस पटक घरदैलोलाई जोड दिनुभएको छ । यस पटक कोणसभा गर्दै भाषण गर्ने भन्दा पनि जनताका घर–घरमा पुग्ने अभियानमा कोइराला हुनुहुन्छ । 

आफ्नैबाट डर

डा. कोइराला र पण्डित दुवै जना मंसिर ४ गतेको चुनावलाई आफ्नो प्रतिष्ठाको विषय बनाएर लागेका छन् । दुवै उम्मेदवारलाई अन्य पार्टीबाट भन्दा पनि आफ्नैबाट बढी डर छ । 
डा. कोइरालालाई पार्टी संस्थापन निकटका नेता कार्यकर्ताबाट बढी डर छ । पार्टी महाधिवेशन र गएको वैशाखमा सम्पन्न पालिका तह चुनावमा कोइरालाको भूमिकाका विषयलाई लिएर संस्थापन पक्षका नेताहरु चिढिएका छन् । कांग्रेसका नेताहरु डा. कोइरालालाई चुनावमा देखाईदिने भन्दै हिँड्ने गरेका छन् । पार्टी केन्द्रमा सभापति देउवासँग भाग खोज्ने कोइरालाले मोरङमा संस्थापन समूहलाई पेलेको आरोप उहाँमाथि छ । 

कोइराला समूहले प्रदेश १ मा प्रतिनिधिसभा तर्फ ४ जना उम्मेदवार पाएकामध्ये ३ जना मोरङमा मात्रै उम्मेदवार छन् । आफ्ना समूहकालाई मात्रै संरक्षण गरेको संस्थापन समूहका नेताहरुलाई बेवास्ता गर्ने गरेको संस्थापन समूहका नेताको भनाइ छ । पार्टीभित्रै समस्यामा रहेका कोइरालाप्रति गठबन्धनका नेताहरु पनि सकारात्मक छैनन् । पालिका तहको चुनावमा डा. कोइराला गठबन्धनप्रति अनुदार बन्नुभएको थियो । कोइरालाका कारण मोरङमा गठबन्धन हुन नसकेको र गठबन्धनले जित हात पार्न नसकेको आरोप लगाइएको छ । उहाँप्रति माओवादी केन्द्र, एकीकृत समाजवादीका नेता कार्यकर्ताहरु सकारात्मक बन्न सकेका छैनन । 

यस्तै,एमाले नेता पण्डितको ५ वर्षअघि जुन ‘क्रेज’ थियो यस पटकको चुनावमा ह्वात्तै घटेको छ । प्रतिनिधिसभा चुनावमा निर्वाचित भएपछि पण्डितले पहिलो पटक मन्त्री हुँदाको ख्यातिलाई कायम राख्न नसकेको र उहाँको बोली र व्यवहारमा तालमेल नभएको क्षेत्र नं. ६ का मतदाताको गुनासो छ । उहाँको काम कारबाहीप्रति पार्टीका नेता कार्यकर्ताहरु नै सन्तुष्ट छैनन् । एमालेका नेता कार्यकर्ताहरुले खुलेर उहाँको विरोध नगरे पनि भित्र भित्रै असन्तुष्टि रहेको एमाले नेताहरु बताउँछन् । आदर्शका कुरा गर्ने तर कार्यकर्ताको संरक्षण नगर्ने पण्डितको बानीका कारण पण्डितलाई अघिल्लो चुनावको जस्तो साथ सहयोग नभएको एक एमाले नेताले बताए । २०७४ को निर्वाचनमा माओवादी सहितको गठबन्धनबाट विजयी पण्डित विरुद्ध यसपटक एमालेबाट विभाजन भएको एकीकृत समाजवादी रहेको छ । 

‘प्रस्तावित प्रधानमन्त्री’ अहिले मेरो प्राथमिकता हैन : डा. कोइराला

कांग्रेस नेता डा. कोइरालाले अहिले आफूले ‘प्रस्तावित प्रधानमन्त्री’ आफ्नो प्राथमिकतामा नरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘मंसिर ४ मा निर्वाचत् होस्, सांसदमा निर्वाचित हुनुप¥यो । अनि त्यसपछि मात्रै अरु कुरा हुन्छ ।’ 

अहिले नै प्रस्तावित प्रधानमन्त्रीका रुपमा आफूलाई नउभ्याएको उहाँले बताउनुभयो । डा. कोइरालाले आफू गठबन्धनको विरोधी नभएको तर स्थानीय र संसदीय चुनाव फरक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘स्थानीय तहको निर्वाचन पार्टीहरुको जग बसाउने थलोको रुपमा रहेकाले आफूले गठबन्धन गर्नु हुँदैन भनेको हुँ ।’ 

संविधान ट्र्याक बाहिर गएकाले त्यसलाई ट्र्याकमा ल्याउनका लागि आफ्नो उम्मेदवारी रहेको कोइराला बताउनुहुन्छ । पार्टीभित्र असन्तुष्टि कायमै भए पनि असन्तुष्टिकै बीचबाट अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।

अधुरा योजनाहरु सम्पन्न गर्ने : पण्डित 

एमाले नेता पण्डित पछिल्ला ५ वर्षमा क्षेत्र नं. ६ को विकासमा आफू केन्द्रित भएको बताउनुहुन्छ । यस क्षेत्रमा गर्न बाँकी विकास निर्माण र पूर्वाधारलाई सम्पन्न गर्न आफूले उम्मेदवारी दिएको उहाँको भनाइ छ । 
‘यस क्षेत्रमा निर्माधीन धेरै कामहरु छन् । गछिया–पुष्पलाल सडककोयलपुर सडक, केशलिया करिडोर निर्माण गर्न बाँकी छ’, उहाँले भन्नुभयो, ‘ मेरो पालामा शुरु भएका विकास निर्माणका अधुरा काम आगामी ५ वर्षभित्र सक्नका लागि मेरो उम्मेदवारी हो ।’ 

ग्रामीण ठाउँको सडक, विद्यालय, सार्वजनिक रुपमा भेला हुनका लागि हल निर्माण र विराटनगरमा २ हजार ५ सय क्षमताको सभागृहमा आवश्यक रहेकाले त्यही अनुसारको योजना बनाएर अघि बढेको उहाँको भनाइ छ । 

यस्तो छ चुनावी अंकगणित

वि.स. २०७४ को चुनावमा एमाले नेता पण्डितले ३३ हजार ९४१ मत प्राप्त गर्दा डा. शेखर कोइरालाले ३३ हजार २६६ मत ल्याउनुभएको थियो । गएको वैशाखमा भएको पालिका तह चुनावमा क्षेत्र नं. ६ अन्र्तगत रहेका सुन्दरहरैचा, बुढीगंगा र विराटनगरका २० वटा वडामध्ये नेपाली कांग्रेसले १२ वटामा जित हाँसिल गरेको थियो । यस्तै, एमालेले ५, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र स्वतन्त्रले एक–एक वडा जितेका थिए । 

वडागत रुपमा कांग्रेसले २८ हजार ४३८, एमालेले २५ हजार २३६, माओवादी केन्द्रको ५ हजार ३५६, एकिकृत समाजवादीले २ हजार ३६९, जसपाले ३ हजार ९४९ मत ल्याएका थिए । 

मोरङ ६ मा एमाले उम्मेदवार पण्डितलाई जसपाको समर्थन छ भने कांग्रेस उम्मेदवार डा. कोइरालालाई माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन छ । एमाले–जसपाको मत २९ हजार १८५ हुँदा कांग्रेस–माओवादी र एकीकृत समाजवादीको मत ३६ हजार १६३ हुन्छ । यसरी सत्तारुढ गठबन्धन ६ हजार ९७८ मतले अघि देखिएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया