मोरङ-१ मा यसअघि एक/एक पटक जितेका खतिवडा र लिम्बूमा काे बलियाे ?

 कात्तिक २८, २०७९ सोमबार १२:४४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

विराटनगर – आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावमा मोरङ क्षेत्र नम्बर १ मा मुख्यगरी दुई उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । क्षेत्र नम्बर १ को अवस्था हेर्दा एमाले उम्मेदवार घनश्याम खतिवडा र नेपाली कांग्रेसका डिगबहादुर लिम्बूबीच प्रतिस्पर्धा हुने देखिन्छ । लिम्बू माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीसहितको सत्तागठबन्धनबाट प्रतिस्पर्धामा उत्रिनु भएको छ ।

संसदीय चुनावमा खतिवडा र लिम्बूको यो तेस्राे भेट हो । यसअघि उहाँहरुबीच तत्कालीन लेटाङ गाविसको अध्यक्षमा प्रतिस्पर्धा भएको थियो । लेटाङ नगरपालिका स्थायी घर भएका दुवै उम्मेदवारको पृष्ठभूमि एकै प्रकारको छ । शिक्षण पेशाबाट राजनीतिको मूलधारमा आएका खतिवडा र लिम्बू सहकारी, सामुदायिक वनलगायतका क्षेत्रमा पनि सँगै रहनु भएको थियो । स्थानीय स्तरमा लोकप्रिय दुवै नेताहरु एक अर्काबीच भेटघाट हुने बित्तिकै अँगालो नै हालेर आत्मियता साटासाट गर्ने गर्छन् ।

एक–एक पटक संसदमा पुगेका दुवै नेताको यो तेस्रो भेटमा कस्ले विजय हासिल गर्छ भन्ने विश्वसनीय आधार भने छैन । दुवैको अवस्था उस्तै रहेकाले स्वयम् उम्मेदवारले आफू विजयी हुने बताइरहे पनि यकिन भने हुन सकिरहनु भएको छैन । स्थानीय पार्टी कार्यकर्ताहरु पनि काे विजयी हुन्छ भन्नेमा निश्चित नभएको बताउँछन् । 

दुवै परीक्षण भएका नेता

मोरङ १ मा टिकट वितरण हुनुअघि एमालेबाट कस्ले टिकट पाउने भन्ने निश्चित थिएन । एमालेबाट ५ जनाको नाम सिफारिस भएर गए पनि मुख्यगरी खतिवडा र स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री डा. शिवमाया तुम्बाहाम्फेमध्ये को हुने निश्चित थिएन । तर सत्ता गठबन्धनबाट लिम्बू करिब निश्चित जस्तै हुनुहुन्थ्यो । एकल सिफारिस नभए पनि खतिवडा भन्दा लिम्बूको टिकट निश्चित जस्तै थियो । तर, अन्तिममा एमालेबाट भने खतिवडा नै उम्मेदवार बनेर आउनु भयो ।

क्षेत्र नम्बर १ मा २०७० सालदेखि लगातार लिम्बू र खतिवडाबीच प्रतिस्पर्धा हुँदै आएको छ । २०७० सालको संविधान सभा चुनावमा खतिवडालाई पराजित गरेका लिम्बू २०७४ सालको प्रतिनिधि सभा चुनावमा भने खतिवडासँग पराजित हुनु भएको थियो । एमाले–माओवादी वामगठबन्धनबाट खतिवडाले लिम्बूलाई सहजै पराजित गर्नु भएको थियो । खतिवडाले ३७ हजार ५ सय २४ मत प्राप्त गर्दा लिम्बूले ३१ हजार ४ सय ३६ मत पाउनु भएको थियो ।

क्षेत्र नम्बर १ बाट खतिवडा र लिम्बू दुवै एक–एक पटक निर्वाचित भइसकेकाले परिणाम कस्को पक्षमा जाला भन्ने निश्चित नभएको स्थानीय मतदाता बताउँछन् । दुवैको कार्यकाल हेरिसकेकाले नयाँ केही होला भन्ने नभएको उर्लाबारी १ लक्ष्मीझारका दामोदर निरौलाले बताउनु भयो । जनताका समस्या जस्ताको त्यस्तै रहेको उहाँको भनाइ छ ।

यस पटकको परिणाम जे पनि हुन सक्ने निरौला बताउनुहुन्छ । खतिवडा र लिम्बू बाहेक तेस्रो उम्मेदवार प्रभावकारी नभएको उहाँले बताउनु भयो । २०७० सालमा निर्वाचित नभएका लिम्बूले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न नसक्दा २०७४ मा पराजित हुनु परेको निरौलाको भनाइ छ । खतिवडाले पनि २०७४ मा गरेको वाचाहरु पूरा हुन नसकेको उहाँले बताउनु भयाे । 

खतिवडा र लिम्बू दुवैलाई आन्तरिक पार्टी समस्या

एमालेका खतिवडा र कांग्रेसका लिम्बू दुवैकाे पार्टीमा आफ्ना आन्तरिक समस्या छन्। पार्टी भित्र उम्मेदवार चयनमा असन्तुष्टि जनाउँदै एमालेबाट प्रतिनिधि सभा र प्रदेश सभाका आकांक्षी तीन जनाले राजीनामा दिएपछि एमाले उम्मेदवारलाई समस्या भएको छ । प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका प्रदेश कमिटीका सदस्य राजेन्द्र पौडेलले एमाले परित्याग गरी हाम्रो नेपाली पार्टीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनु भएको छ । पालिका चुनावमाभन्दा केही अघि माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका पौडेलले टिकट वितरणमा असन्तुष्टि जनाउनु भएको थियो ।

प्रदेश सभाको १ (क) बाट सिफारिसमा परेका एमाले मोरङ सचिव रुपेश खतिवडाले पनि टिकट वितरणमा असन्तुष्टि जनाउँदै सचिव पदबाट राजीनामा दिएर निष्क्रिय भएर बस्नु भएकाे छ ।प्रदेशसभाको १ (ख) बाट सिफारिस हुनु भएका प्रदेश कमिटी सचिवालय सदस्य डिल्लीराम शर्मा अधिकारीले पार्टी जिम्मेवारीबाट मुक्त हुँदै स्वतन्त्रबाट उम्मेदवारी दिनु भएको थियो ।अधिकारीको उम्मेदवारी पार्टीको दबाबमा फिर्ता भए पनि उहाँ प्रचारप्रसारमा निस्कनु भएको छैन । उहाँलाई साथ दिएर केराबारी २ को सिंगो कमिटीले नै राजीनामा दिएको थियो । त्यसले पनि अधिकारीले उम्मेदवारी फिर्त लिँदा समस्यामा पारेको स्थानीयको भनाइ छ । नेपाली कांग्रेसका जिल्ला सभापति लिम्बूलाई पनि क्षेत्र नम्बर १ मा आन्तरिक समस्या छ । गएकाे वैशाखमा सम्पन्न पालिका चुनावमा आफ्नो क्षेत्रमा रहेका चार वटा पालिका तहमध्ये तीन वटामा कांग्रेस पराजित भएको थियो ।

यसअघिको स्थानीय तहमा विजयी भएका कुनै पनि पालिकामा कांग्रेसका उम्मेदवार विजयी बन्ने सकेनन् । यसको आरोप लिम्बूमाथि लाग्ने गरेको छ । उहाँको भूमिका प्रभावकारी हुन नसकेको उम्मेदवारहरुको गुनासो छ । यसको असर अहिलेको चुनावमा उहाँलाई पर्ने देखिएको छ । अर्कोतिर प्रदेश सभाका आकांक्षी भएर पनि गठबन्धनका कारण टिकट नपाएपछि पार्टीका नेताहरु नै असन्तुष्ट बनेका छन् । कांग्रेसले प्रतिनिधि सभामा मात्रै उम्मेदवारी पाएपछि प्रदेशसभातर्फका आकांक्षीहरु असन्तुष्ट छन् ।

यस्ताे छ अंक गणित 

२०७४ सालको प्रतिनिधि सभा सदस्य चुनावमा ६ हजार ८८ मतान्तरले गठबन्धनकातर्फबाट एमाले उम्मेदवार विजयी भएको मोरङ क्षेत्र नम्बर १ मा ४ वटा पालिका छन । उर्लाबारी र लेटाङ नगरपालिका तथा केराबारी र मिक्लाजुङ गाउँपालिका यसै क्षेत्रमा पर्छन ।

यसअघिकाे स्थानीय तह चुनावमा एमालेले लेटाङ, उर्लाबारी र केराबारीमा नेतृत्व गुमाएको थियो । तर, गएको वैशाख ३० गते सम्पन्न पालिका चुनावमा यस क्षेत्रका चार वटा पालिकामध्ये तीन वटामा एमालेको मेयर, उपमेयरसहित बहुमत वडाध्यक्ष निर्वाचित भएका छन । २०७४ सालमा मेयर, उपमेयर सहितबहुमत वडाध्यक्ष जितेको एमालेले मिक्लाजुङमा भने यस पटक भने एमालेले आफ्नो नेतृत्व गुमाएको छ । 

पालिका चुनावमा वडाध्यक्षहरुले पाएको मत हेर्दा एमालेले ३२ हजार ३ सय ६६ तथा कांग्रेसले ३१ हजार ४ सय १३ मत पाएको छ । त्यस्तै माओवादीले भने ६ हजार ५ सय ८३ प्राप्त गरेको छ ।  

 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया