जति भोट हाले पनि ‘डाँडाटोल’मा पुगेन मोटर बाटो र खानेपानी

 कात्तिक २८, २०७९ सोमबार १२:१३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका ४ डाँडाटोलकी बिजुला बिक त्यो ठाउँमा बस्न थालेको ३० वर्ष भयो । योबीचमा कति चुनाव भए उहाँलाई याद पनि छैन । तर भोट दिन उहाँले कहिल्यै छाड्नुभएन । कहिले केही आशा त कहिले केही प्रतिबद्धता लिएर आउने नेताका गफले उहाँलाई भोट हाल्न त लगायो तर प्रतिबद्धता कहिल्यै पूरा गरेनन् ।

सिन्धुली सदरमुकामदेखि करिब २ किलोमिटरको दुरीमा मात्रै छ उहाँको गाउँ । सदरमुकाम भित्रै रहेर पनि वर्षौंदेखि खानेपानीको समस्या भोग्नुपरेको उहाँको गुनासो छ । अप्ठेरो बाटोबाट डोकोमा पानी बोकेर ल्याउनुपर्छ । त्यसैमाथि झन् बर्खाको समयमा पानीको मुहान पहिरोले पुरेपछि पानीको हाहाकार नै हुने गर्छ । 

३० घर दलित बस्ती रहेको डाँडाटोल हरेक कुरामा पछि परेको छ । खानेपानीसँगै बाटोको अभावका कारण कयौँ समस्या भोग्ने गरेको उहाँ बताउनुहुन्छ । पालिका तह, प्रदेश तथा प्रतिनिधि सभाका जनप्रतिनिधीहरुलाई बारम्बार आफ्नो समस्याको विषयमा जानकारी गराए पनि चुनावको समयमा भोट माग्न आउने त्यसपछि ५ वर्षसम्म फर्केर नआउने उहाँ गुनासो पोख्नुहुन्छ । 

डाँडाटोलमा रातको समयमा कोही बिरामी हुँदा अस्पताल लानको लागि एम्बुलेन्स आउने बाटो समेत नभएका कारण बोकेर अस्पताल लिनुपर्छ । कृषिमा प्राविधिक शिक्षा अध्ययन गरेको बिजुलाको छोराले देशमै जागिरि पाउनुभएन । गरिखाने बाटो केही नदेखेपछि छोरालाई कमाउनको लागि परदेश पठाउनु परेको उहाँले दुखेसो पोख्नुभयो । 

नेताहरुले चुनावको बेला गरेका वाचाहरु अहिलेसम्म पूरा नगरेकाले यस पटक मतदान गर्ने की नगर्ने भन्ने अन्यौलमा हुनुहुन्छ बिजुला ।

‘चुनावको समयमा शिक्षा स्वास्थ्य रोजगारी, समानताका कुरा गर्दै हिँडे पनि व्यवहारमा भने लागू गर्दैनन्, यस्तालाई के भोट दिने !’, उहाँ आक्रोश पोख्नुहुन्छ ।

त्यस्तै कमलामाई नगरपालिका ५ की कमला विश्वकर्मा पनि आफ्नो गाउँमा पानीको चरम समस्या रहेको बताउनुहुन्छ । आफ्नो पालिकालाई पानी र बाटोको समस्या बारम्बार राखे पनि कसैले चासो नदिएको उहाँको गुनासो छ ।

सदरमुकामभित्रै बसेर पनि आफ्नो गाउँमा आधारभूत विकासको समेत अनुभूति गर्न नपाएको उहाँको भनाइ छ । स्नातक तहसम्म पढाइ सके पनि रोजगारी नभएर घरमै बस्न बाध्य भएको उहाँले बताउनुभयो । अबको चुनावमा आफ्नो टोलमा खानेपानी र सडक सुविधा ल्याइदिने व्यक्तिलाई मात्रै भोट दिने उहाँको भनाइ छ ।

त्यस्तै कमलामाई ४ की प्रमिला बिक ३० हजार रुपैयाँ तिरेर ब्युटिपार्लरको तालिम लिइरहनुभएको छ । स्नातक तेस्रो वर्षमा अध्ययन गरिरहनुभएकी प्रमिला पढाइसँगै रोजगारी पनि गर्न चाहनुहुन्छ । तर अघिल्ला चुनावको समयमा गरेका वाचाहरु पूरा नभएका र आफ्नो समुदायका सामान्य समस्या समेत समाधान नभएको देख्दा रोजगारी पाइने कुरामा उहाँ विश्वस्त हुनुहुन्न । 

‘रोजगारीका त गफ मात्रै हुन्, अहिलेसम्म कसैले केही गरेका छैनन’, उहाँ भन्नुहुन्छ, ‘तर पनि आशा अझै छ, रोजगारी सिर्जना गर्न सक्ने व्यक्तिले जित्नुपर्छ । हामीहरुले भोट पनि त्यस्तालाई नै दिनुपर्छ ।’

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया