उम्मेदवार भोट माग्दै गाउँमा, किसान बाली थन्क्याउन खेतमा

 कात्तिक २८, २०७९ सोमबार १३:६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

तेह्रथुम – तेह्रथुममा अहिले किसानलाई बाली भित्र्याउने चटारो छ, नेतालाई भोट माग्न । आउँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि तेह्रथुमका विभिन्न दलका उम्मेदवारहरु आफूलाई जिताउन आग्रह गर्दै गाउँगाउँ पुगेका छन् । यता गाउँका कृषक भने धानबाली भित्र्याउने चटारोमा खेतमा छन् । 

धान पाकेर खेतहरु पँहेलपुर बनेका छन् । बाली भित्र्याउने बेला असिना र पानी आउँछ कि भन्ने चिन्ताले कृषकलाई पिरोलेको छ । यहिबेला आफ्नो पक्षमा भोट माग्दै मतदाता रिझाउन गाउँगाउँ डुलिरहेका छन् उम्मेदवार । 

यो पटक घर–टोलमा उम्मेदवारहरुले गर्ने गरेको चुनावी भेटघाटमा नागरिकको सहभागिता विगतको जस्तो देखिएको छैन । उम्मेदवारहरु भने मतदान गर्न अनुरोध गर्दै नागरिक समक्ष पुग्ने गरेका छन् । उम्मेद्वारहरु गाउँगाउँमा पुगेका छन् भने कृषक खेतबारीमा । त्यसैले नेता र कृषकको भेट कमै हुने गरेको छ । 

नेताहरु आफूलाई भेट्न आएको तर आफूहरु धान काट्न र थन्क्याउन व्यस्त रहेको म्याङलुङ नगरपालिका– ५ का मनमाया शार्की बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘नेताहरु भोट माग्न घर घरमा आउनुहुन्छ । असारमा लगाएको बाली थन्क्याउने हतार छ हामीलाई । माना खाएर मुरी उब्जाउने बेला खेती गरेको बाली पाकिसक्यो, नेता भन्दा हाम्रो कमाइको माया छ ।’ 

उम्मेदवारहरुले नागरिकको समस्यालाई समाधान गर्न पहल गर्ने आश्वासन दिँदै आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दैछन् । एक मात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुममा प्रदेशसभा (क) र (ख)मा आफ्नो चुनावी भेटघाट र घरदैलोमा उनीहरु जुटिरहेका छन् । तेह्रथुममा विकास र सम्वृद्धि ल्याउन उम्मेदवारी दिएकाले आफूलाई जिताउन नागरिकलाई प्रतिनिधि सभाकी उम्मेदवार तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङले आग्रह गर्दै आउनुभएको छ । 

नेकपा एमाले  प्रतिनिधिसभा उम्मेदवार डाक्टर विजय सुब्बा पनि यतिबेला गाउँ गाउँ पुग्नुभएको छ । भ्रष्ट्राचारमुक्त समाज र संसदमा संविधान विपरीत भएका कामको विरुद्धमा आवाज उठाउने र तेह्रथुमको विकासका लागि आफ्नो उम्मेवारी रहेको उहाँको भनाइ छ ।

‘विगतमा तेह्रथुमको विकासमा मैले खेलेको भूमिकालाई कदर गर्दै जनताले मलाई चुन्ने छ भन्ने लागेको छ’, भोट माग्दै गर्दा उहाँले भन्नुभयो ।

तेह्रथुममा अघिल्लो चुनावमा प्रतिनिधि सभा तथा प्रदेश सभा दुवै जितेको एमालेलाई यसपटक भने गठबन्धनका कारण चुनौती थपिएको छ । यहाँबाट एक स्वतन्त्रसहित ९ दलका प्रतिनिधि सभामा १० जना उम्मेदवार छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार तेह्रथुममा ७१ हजार ९ सय ३३ मतदाता रहेका छन् । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया